Showing posts with label diabetes. Show all posts
Showing posts with label diabetes. Show all posts

Thursday, November 17, 2016

वंशाणुगत हुन्छ नै भन्ने छैन मधुमेह


डा. अंशुमाली जोशी, बरिष्ठ मधुमेह तथा थाइराइड रोग विशेषज्ञ
अल्का अस्पताल
के हो मधुमेह ?
रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यांक्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा अनियन्त्रित भएमा अन्धोपन गराउने, मृगौलाले काम गर्न नसक्ने, पक्षघात गराउने तथा हृदयरोगको पनि अत्यधिक सम्भावना हुन्छ । प्राय: प्रौढ उमेरमा निम्तिने मधुमेह (चिनी रोग)को समस्या अहिले युवाअवस्थामै देखिन थालेको छ । कारण हुन्, वंशाणुगतदेखि व्यस्त जीवनशैली । जीवनशैली वेलैमा व्यवस्थित गर्न सके वंशाणुगत मधुमेह पनि रोकथाम र नियन्त्रण हुन्छ । सबैले जान्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह सबैमा वंशाणुगत हुन्छ नै भन्ने हुँदैन ।
मधुमेहका चार प्रकार
प्रकार :  प्यांक्रियाजमा इन्सुलिन उत्पादन नै नभएर मधुमेह हुन सक्छ । यस्तो मधुमेह बच्चामा बढी देखिने गर्छ । रोग नियन्त्रणका लागि सुरुदेखि नै इन्सुलिन दिनुपर्ने हुन्छ । जीवनभर नै इन्सुलिन प्रयोग गर्नुपर्छ
प्रकार :  संसारमा यो प्रकारको मधुमेह भएका व्यक्ति धेरै छन् । महामारीका रूपमा फैलिँदै गएको यस प्रकारको मधुमेह वयस्कमा व्यापक देखिएको छ । जीवनशैली नै यो मधुमेहको मुख्य कारक देखिएको छ । खानपिन, मोटोपन, स्ट्रेस, व्यायाममा कमी मुख्य कारण हुन् । यस्ता व्यक्तिमा इन्सुलिन उत्पादन हुन्छ, तर निकै कम । उत्पादन भएको इन्सुलिनले काम पनि गर्न सक्दैन । तर, यो प्रकारको मधुमेह रोकथाम गर्न सकिन्छ । नियमित व्यायाम, सन्तुलित खानपान, तनाव कम लिने र मोटोपन नियन्त्रण गर्न सक्ने हो भने मधुमेह कम हुँदै जान्छ । कतिपयमा यो समस्या वंशाणुगत देखिएको छ । अहिले देखिएकोमा जीवनशैलीका कारण ५० प्रतिशत र वंशाणुगत ५० देखिएको छ । तर, वंंशजमा मधुमेह छ भन्दैमा पुस्तान्तरण हुन्छ नै भन्ने छैन । परिवारका नजिकका सदस्यमा समस्या छ भनेचाहिँ जीवनशैली व्यवस्थित बनाएर रोकथाम गर्न सकिन्छ । यो प्रकारको मधुमेह लाग्नै नदिन पनि सकिन्छ तर, एकपटक लागिसकेपछि पूर्ण निको भने गर्न सकिँदैन । नियन्त्रणमा राख्ने मात्रै हो । नियमित औषधि सेवन गर्नैपर्छ ।
प्रकार :  यो प्रकारको मधुमेह गर्भवती अवस्थामा देखिन्छ । पछि आफैँ ठीक हुन्छ । कसै–कसैलाई भने यो नियमित पनि हुन सक्छ । केही अवधिमा ठीक भएन भने यो प्रकारको मधुमेह दोस्रो प्रकारको मधुमेहका रूपमा परिवर्तन भएर जटिलता निम्तिन सक्छ ।
प्रकार :  प्यांक्रियाजमा भएको रोगका कारण या कतिपय औषधि सेवनका कारणले यो प्रकारणको मधुमेह हुन्छ । वंशाणुगत कारणले पनि हुन सक्छ ।
लक्षण
मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् । देखिने लक्षण भने यस्ता छन् :
  • मुख सुक्खा हुने ।
  • पिसाब लागिरहने ।
  • धेरै भोक लाग्ने ।
  • तौल घट्ने ।
  • घाउ हत्तपत्त निको नहुने ।
  • हातगोडा झमझमाउने, निदाउने या गल्ने ।
नियन्त्रणमा नराखे…
  • मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
  • मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
  • हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
  • शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
  • पैतालामा संक्रमण हुन सक्छ ।
इन्सुलिन किन प्रयोग गर्ने ?
मधुमेह जिन्दगीभरको रोग हो । यो रोग लागेपछि औषधि सेवन गर्नुको विकल्प नै छैन । औषधि सेवन र इन्सुलिन लिने दुई उपचार पद्धति छन् । तर, ५० प्रतिशत रोगीको रोग पत्ता लाग्दासम्म प्राय: इन्सुलिन उत्पादन गर्ने कोषहरूमा मधुमेह भइसकेको हुन्छ । यतिवेला कोषको संख्या ५० प्रतिशतले घटिसकेको हुन्छ । क्रमश: घट्दै गएर शून्यमै पुग्छन् । यतिवेला नचाहेर पनि इन्सुलिन लगाउनै पर्ने हुन्छ, तर लगाउनुको कुनै अर्थ नहुन सक्छ । कोष नष्ट भइसक्दाको अवस्थामा आँखा, मुटु या किड्नीलाई छोइसकेको हुन्छ । सुगर धेरै तल–माथि भइसकेको हुन्छ ।
इन्सुलिनको मात्रा बाँकी हुँदा नै यसको प्रयोग गर्न सक्यो भने बाँकी रहेका इन्सुलिन उत्पादन गर्ने कोष बचाउन सकिन्छ । दिनमा एक डोज दिए पुग्छ । मधुमेह नियन्त्रण गर्न सकियो भने खासै डराउनुपर्दैन । विश्वमा ८ वर्षको उमेरदेखि इन्सुलिन प्रयोग गरिरहेकाहरू अहिले ८८ वर्षको जीवन बाँचिरहेका छन् ।
जान्नैपर्ने कुरा
  • मधुमेह लाग्नै नदिन सकिन्छ ।
  • लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
  • नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।
  • वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
  • लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
  • मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
  • मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।
रोगीले खान नहुने
  • बढी गुलिया खानेकुरा ।
  • धेरै नुनिला खानेकुरा ।
  • मोटोपना बढाउने खानेकुरा ।
  • बढी चिल्लो पदार्थ भएका खाना ।
  • केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।
रोगीले खान हुने
  • हरियो सलाद, काँक्रो, गोलभेँडा ।
  • भिजाएका गेडागुडी ।
  • नतारेका हरिया सागसब्जी ।
  • मुला, गाजर ।
प्रस्तुति : भिषा काफ्ले