Showing posts with label टन्सिल. Show all posts
Showing posts with label टन्सिल. Show all posts

Monday, January 9, 2017

हेलचेक्र्याइँ नगरौँ टन्सिल हुँदा

नाक, कान, घाँटी एकअर्कासँग जोडिएका अंग हुन् । यी तीनवटामध्ये एउटामा समस्या देखियो भने अर्कोमा पनि असर गर्ने गर्छ । रुघाखोकी लाग्यो, टन्सिल बढ्यो भने घााटी, कानका साथै नाकमा पनि समस्या हुन्छ । यसरी, टन्सिल बढ्दा नाक र कानलाई जोड्ने नली बन्द हुने सम्भावना हुन्छ । त्यसमा पानी जम्ने समस्या पनि हुने हुँदा नली नै सुन्निने समस्या हुनसक्छ । त्यस्तै, नाकको संक्रमण हुँदा घाँटीमा गएर त्यहाँ पनि संक्रमण हुनसक्छ ।
कान
सामान्य कान पाक्ने समस्या
नेपालमा कान पाक्ने समस्या ठूलो रूपमा छ । हाम्रो समाजमा कान पाक्नु सामान्य मानिन्छ । तर, यसले पछि गएर कानै नसुनिनेसम्मको समस्या पैदा गर्छ । कतिपय अवस्थामा दिमागमा पनि असर गर्नसक्छ । विशेषगरी बालबालिकामा रुघाखोकी लाग्दा वास्ता गरिएन भने विभिन्न खालको इन्फेक्सन भई कान पाक्ने समस्या हुन्छ । यसले कानको जाली प्वाल पर्ने हुन्छ । यसका साथै हाम्रो समाजमा कानमा तेल हाल्ने प्रचलन छ । त्यसले पनि कानमा संक्रमण बढ्नसक्छ । यसरी संक्रमण हुँदा कानमा पिप बग्छ र समयमा उपचार भएन भने कानको जालीको प्वाल ठूलो हुन्छ र ठूलो भएपछि आफैँ टालिन गाह्रो हुन्छ । ठूलो प्वाल भएपछि बाहिरबाट पनि संक्रमण हुनसक्छ र वेलावेलामा कान पाक्ने क्रम दोहोरिरहन्छ ।
जटिल खालको कान पाक्ने समस्या
अर्को कानको जटिल खालको रोग पनि हुन्छ । जसमा कान पाक्नुका साथै भित्र हड्डीमा पनि एकैसाथ संक्रमण गर्नसक्छ । यसलाई हामी खतरनाक प्रकारको कान पाक्ने रोग भन्छौँ । त्यस्तो खालको संक्रमणले हड्डीलाई खियाउँदै बिस्तारै दिमागमा पनि जाने सम्भावना हुन्छ । त्यसले ज्यानलाई नै खतरा पुर्‍याउने सम्भावना बढ्छ । यो एकप्रकारको चिल्लो पदार्थ (कोलेस्ट्रेटोमा)को असन्तुलनले हुने गर्दछ । जुन पदार्थमा हड्डी खियाउने गुण हुन्छ । यसले दिमाग वरपरको हड्डीलाई खियाएर भित्र पस्यो भने मेनेन्जाइटिस, दिमाग पाक्नेजस्ता रोग लाग्छ ।
यो एकप्रकारको घातक रोग पनि हो । साधारण कान पाक्दा कानबाट रगत निस्कँदैन । कडा खालको कान पाक्नेमा पिपसँगै रगत पनि मिसिएर बग्छ । पिप धेरै गन्हाउने हुन्छ । टाउको दुख्छ । यसको उपचार शल्यक्रिया गरेर पूर्ण
रूपमा हटाउनुपर्छ ।
नाक
पिनास
धेरै चिसो र बढी धुवाँधुलोको संक्रमणका कारण पिनास हुने गर्दछ । कहिलेकाहीँ नाकको बनावटको खराबीले पनि पिनास हुने गर्दछ । पिनास हुँदा टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने हुन्छ । पिनास बढ्दै जाँदा त्यसको संक्रमणले आँखालाई पनि असर पर्छ । यदि धेरै लापरबाही गर्‍यो भने दिमाग पाक्ने पनि हुनसक्छ । यसको उपचार सुरुकै अवस्थामा छ भने पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने, चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खानु राम्रो हुन्छ ।
मासु पलाउने वा हड्डी बांगो हुने
सामान्यतया रुघाखोकी, धुवाँधुलोको संक्रमणका कारण नाकमा मासु पलाउने हुन्छ । त्यस्तै, नाकको हड्डी बांगो हुने समस्या बढी जन्मजात हुने गर्छ । त्यसका साथै कहिलेकाहीँ नाक ठोक्किँदा पनि हुने गर्छ, जसलाई शल्यक्रिया गरी सोझो बनाए समस्या समाधान हुन्छ ।
घाँटी
टन्सिलको संक्रमण
एक–दुईपटक मात्र टन्सिलको समस्या देखिएको छ भने चिकित्सकको सल्लाह लिएर घरमै सामान्य एन्टिबायोटिक खाँदा हुन्छ । तर, खाना निल्न र श्वास फेर्न नै गाह्रो छ भने अस्पतालमा बसेर इन्जेक्सनबाट औषधि लगाउनुपर्ने हुन्छ । जटिल खालको र धेरैपटक दोहोरिएको हो भने वा दुई वर्षदेखि पटक–पटक देखिइरहेको छ भने अप्रेसन गरेर टन्सिल नै निकाल्नु राम्रो हुन्छ । त्यसरी निकालिसकेपछि पुन: टन्सिल हुने सम्भावना हँुदैन । अन्य कारणले भने घाँटी दुख्नसक्छ । टन्सिल निकालेपछि अन्य कुरालाई असर पर्दैन । कतिपय मानिस स्वर भासिन्छ भन्छन्, तर त्यो सत्य होइन । टन्सिल बिग्रिएर भासिएको स्वर निको भएपछि आफैँ ठीक हुन्छ ।
स्वर भासिने समस्या
मानिसको भोकलकडमा विभिन्न संक्रमणको कारण पनि स्वर भासिनसक्छ । इन्फेक्सनले भोकलकडलाई बाक्लो बनाइदिन्छ र स्वर भासिन्छ । त्यो संक्रमण हटेसँगै आफैँ निको हुन्छ । त्यसका लागि चिकित्सकको सल्लाहमा एन्टिबायोटिक लिनुपर्छ ।
अर्को ठूलो समस्या भनेको भोकलकडमा क्यान्सर वा अन्य ट्युमर (मासुको डल्ला) पलाउने समस्या हो । यसका लागि ट्युमर भए शल्यक्रिया गरी फाल्नुपर्छ । यदि क्यान्सर नै भइसकेको अवस्था हो भने त्यसको उपचार गर्नुपर्छ ।
हड्डी अड्किएर हुने समस्या
हाम्रोमा धेरै समस्या देखिने भनेको घाँटीमा हड्डी अड्किएर आउने समस्या पनि हो । यसका लागि हामीले खाना खाँदा विचार पुर्‍याउनुपर्छ । सामान्य माछाको काँडा अड्किएको छ भने त्यो माथिल्लो भागमा नै हुन्छ । जसका लागि बेहोस नबनाई उपचार गर्न सकिन्छ । तर, कुखुरा वा खसीको नली निलेको हुन्छ भने त्यो खानानलीमा गएर अड्किएको हुन्छ । त्यसलाई भने बेहोस बनाएर नै निकाल्नुपर्ने हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
  • संक्रमणबाट जोगिन धुलो, धुवाँ र चिसोबाट बच्ने
  • कान कोट्याउने, चलाउने गर्नु हँुदैन
  • झोल चिज जथाभावी विनाकारण कानमा लगाउनु हुँदैन
  • धूमपान गर्नु हुँदैन
  • धेरै चिसो कुरा सेवन गर्नु हुँदैन
  • सफा पानीलाई उमालेर बाफ लिनुपर्छ
  • खैनी, पानपराग, गुट्खा नखाने, मद्यपान नगर्ने

Posted by: nayapatrika January 29, 2016 

प्रा.डा. लालकिशोर यादव
प्रमुख, नाक, कान, घाँटी विभाग,
वीर अस्पताल