Showing posts with label aayourveda. Show all posts
Showing posts with label aayourveda. Show all posts

Thursday, November 17, 2016

आयुर्वेदिक औषधि जथाभावी खान हुँदैन

Posted by: Naya Patrika March 18, 2016

आयुर्वेदसम्बन्धी धारणा
एकजना शिक्षक विगत तीन महिनादेखि उच्च रक्तचाप घटाउन जडीबुटीबाट निर्मित औषधि नियमित सेवन गर्दै आइरहेका छन् । आयुर्वेदिक औषधि खाएर रक्तचाप नियन्त्रण भएपछि एलोपेथिक छोड्ने सोचाइमा उनी थिए । उनी भन्दै थिए, ‘जडीबुटीबाट निर्माण गरेको औषधि सेवन गर्दा साइड इफेक्ट पनि हुँदैन । जतिवेला खाए पनि हुन्छ ।’ उनको जस्तो धारणा अहिले धेरैमा विकास भएको पाइन्छ । तर, हर्बल प्रयोगले प्रेसर घट्यो भन्दैमा एलोपेथिक औषधि छोड्न हुँदैन भन्दा धेरैले मान्दैनन् । हर्बलले रोग कम भयो भन्दैमा कुनै पनि गहन रोगको बिरामीले नियमित सेवन गरिरहेको औषधि खान
छोड्नु हुँदैन ।
के साइड इफेक्ट हुँदैन ?
आम सर्वसाधारणमा आयुर्वेदिक औषधिको सेवनले साइड इफेक्ट हुँदैन भन्ने धारणा पाइन्छ । त्यसकारण पनि आयुर्वेद औषधि वा जडीबुटीबाट निर्मित औषधिको नाममा मोटोपन घटाउने, यौन दुर्बलता बढाउने, उचाइ बढाउनेजस्ता विज्ञापन सञ्चारमाध्यमबाट आइरहेका छन् । जडीबुटी एवं आयुर्वेदिक औषधिको नाममा विज्ञापनको भरमा धेरै औषधि बिक्री भइरहेका छन् । विभिन्न पसलमा पनि जडीबुटीको नाममा आयुर्वेदिक औषधि उपभोक्तालाई आफूखुसी प्रयोग गर्न सल्लाह दिने चलनले पनि प्रश्रय पाइरहेको छ । तर, कहाँ बनेको हो ? त्यसको सम्मिश्रण के हो ? यस्तो धेरैले ख्याल गरेको पाइँदैन । विज्ञापनको आकर्षणमा परेर औषधि किनेर खाने बानीले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । राम्रोसँग परीक्षण नगरी औषधि खाँदा आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्छन् भन्ने ख्याल गरेको पाइँदैन ।
नेपालमा जडीबुटीको अवस्था
नेपालमा उपलब्ध विभिन्न सम्पदाहरूमध्ये जडीबुटी एक महत्त्वपूर्ण सम्पदा हो । नेपालका जडीबुटीहरू अमूल्य छन् । जैविक विविधताको हिसाबले एसियामै नेपाल दशौँ स्थानमा पर्छ । देशका विभिन्न भागमा औषधिको दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने करिब सात सय प्रजातिका जडीबुटी पाइन्छन् । ग्रामीण भेगका जनता स्वास्थ्य उपचार एवं आयआर्जनका हिसाबले यिनै जडीबुटीहरूमा नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आश्रित छन् । २५ प्रतिशतभन्दा बढी एलोपेथिक औषधिको स्रोत यस्तै वनस्पति मानिन्छ । औषधिजन्य एवं सुगन्धित तेललगायत विभिन्न जडीबुटी नेपालबाट भारतलगायत अरू विदेशी मुलुकमा निर्यात हुन्छ । करिब ९० प्रतिशतभन्दा बढी औषधिजन्य वनस्पति जंगलबाट संकलन गरिन्छ । तर, नेपालमा यस्ता जडीबुटीको असाध्यै न्यून मात्रामा व्यावसायिक खेती गरेको पाइन्छ । हिमाली जडीबुटीहरूमा कुनै रासायनिक तत्त्व नहुने, खाद्य एवं औषधिको दृष्टिकोणले पाश्र्व प्रभाव नहुने हुँदा विश्व बजारमा यसको माग बढ्दै गइरहेको छ । जंगलमा औषधिजन्य वनस्पतिको दोहन गर्ने कार्य तीव्र रूपमा बढेको छ । जसले गर्दा जडीबुटीहरू लोपोन्मुख अवस्थामा पुगेका छन् ।
विश्वमा यसको प्रयोग 
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा बढी नेपाली प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा जडीबुटीद्वारा निर्मित औषधि प्रयोग गर्दछन् । खासगरी पश्चिमाहरूमा पनि जडीबुटीबाट निर्मित औषधिप्रतिको आकर्षण बढ्दै गइरहेको छ । संगठनले विश्वमा परम्परागत एवं वैकल्पिक चिकित्सा पद्धतिसँग सम्बन्धित जडीबुटी निर्मित औषधिको ६ सय अर्ब डलरबराबरको कारोबार भएको अनुमान गरेको छ । क्यानडा, फ्रान्सलगागतमा ५० प्रतिशतभन्दा बढी जनताले जडीबुटीद्वारा निर्मित औषधि प्रयोग गर्दछन् ।
स्थानीय रूपमा नै तुरुन्त प्राप्त गरी सर्वसाधारणले प्रयोग गर्न सक्ने र आधुनिक चिकित्सा पद्धति सुलभ नभएको ठाउँमा स्थानीय जडीबुटी प्रयोग गर्न सकिन्छ । एक तथ्यांकअनुसार नेपालमा चार हजारभन्दा बढी हस्तलिखित ग्रन्थहरू र चौध हजारभन्दा बढी परम्परागत औषधि निर्माण सूत्र छन् ।
४० हजारभन्दा बढी परम्परागत स्वास्थ्यकर्मी समुदायमा राम्रो विश्वास र प्रतिष्ठा कमाएका छन् । अधिकांश ग्रामीण भेगका मानिसले जस्तोसुकै खालका स्वास्थ्य समस्या देखिएमा पनि सबभन्दा पहिले यिनै परम्परागत स्वास्थ्यकर्मीको सेवा लिने गरेको पाइन्छ । उनीहरूलाई व्यवस्थित रूपमा ज्ञान र सीप दिन सकिएको छैन । उनीहरूको सेवाका कारण जनस्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्छ । अर्कातिर उनीहरूले गर्ने कार्यप्रति सक्रिय तथा समयानुकूल ज्ञान, सीप र प्रविधिलाई लिपिबद्ध गर्न पनि जरुरी छ ।
के छ स्वास्थ्य नीतिमा ?
स्वास्थ्य नीति—२०७१ मा पनि स्थानीय रूपमा उपलब्ध जडीबुटीहरूको संरक्षण र समुचित प्रयोगका लागि विशेष योजना तथा कार्यक्रमसहित निजी तथा सरकारी आयुर्वेदिक औषधि उत्पादकहरूको उत्पादनको गुणस्तरीयताको सुनिश्चित गर्दै उत्पादन वृद्धि र व्यवसायीकरणमा जोड दिइनेछ भनिएको छ । आयुर्वेद तथा जडीबुटीका नाममा हुने अनुचित गतिविधिलाई नियमन गरी आयुर्वेद स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा विशेष ध्यान दिइने उल्लेख गरिएको छ । स्वास्थ्य नीति २०७१ ले जडीबुटीको उचित प्रयोग तथा गुणस्तरीय आयुर्वेद औषधि उत्पादन र जडीबुटीका नाममा हुने अनुचित गतिविधिलाई नियमन गर्ने विषयलाई जोड दिएको छ ।
अब के गर्ने ?
जडीबुटीनिर्मित औषधिको निर्माणदेखि उपभोक्ताले प्रयोग गर्ने अवस्थासम्म गुणस्तरीयतालाई ख्याल गर्न जरुरी छ । औषधि व्यवस्था विभागले गुणस्तरीय औषधि उत्पादनका लागि पनि कुशल औषधि निर्माण (जिएमपी)मा जाने सोच बनाएको छ ।
सिंहदरबारबाट वैद्यखानाजस्तो अर्धसरकारी उत्पादक संस्थाबाट योजनाबद्ध रूपमा औषधिको गुणस्तरीय उत्पादनका लागि जिएमपीमा लैजानुपर्ने जरुरी छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन, विकास र अनुसन्धानमा राज्यको लगानी अपर्याप्त हुने हुँदा निजी तथा वैदेशिक लगानीको सम्भाव्यता अध्ययन गरी सहकार्य र साझेदारी बढाउनु जरुरी देखिन्छ । जडीबुटीको समुचित प्रयोग तथा गुणस्तरीय बनाउन र जडीबुटीको नाममा हुने अनुचित गतिविधिलाई रोक्न आयुर्वेद विभाग, औषधि व्यवस्था विभाग र वनस्पति विभागलगायत अन्य सम्बन्धित सरोकार निकाय, नागरिक समाज एवं निजी क्षेत्र योजनाबद्ध ढंगले लाग्नुपर्ने जरुरी छ ।
अयुर्वेद किन ?
विश्व स्वास्थ्य संगठनले विकासशील राष्ट्रहरूमा परम्परागत चिकित्सा पद्धतिमा आधारित जडीबुटीबाट गरिब जनताको स्वास्थ्य सेवाको पहुँच बढाउने कुरामा जोड दिएको छ । यसलाई विश्वसनीय, प्रभावकारी एवं गुणस्तरीय बनाउने विषयमा पनि जोड दिएको छ । नेपालमा आवश्यक संयन्त्र र प्रभावकारी रूपमा अनुगमन नहुँदा जडीबुटी एवं आयुर्वेदिक औषधिको नाममा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने खतरा देखिएको छ ।
यी कुरा बुझिराखौ
  • आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन ।
  • उत्पादन तथा मिति नभएका, औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन ।
  • कतिपय आयुर्वेदिक औषधिहरू विशाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि सेवन गर्नुपर्छ ।
  • सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ ।
  • कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ । तर, हर्बल प्रयोग गर्दा एलोपेथिक औषधि छोडेको पाइन्छ । त्यस्तो गर्न हुँदैन । छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ ।
  • कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्दछ । त्यसकारण कुन औषधि सेवन गर्ने या नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।

Tuesday, November 15, 2016

अदुवाका यस्ता फाइदा

Posted by: Naya Patrika June 7, 2016 

  • एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।
  • चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ ।
  • उल्टी भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन–तीन घन्टाको अन्तरमा एक–एक चम्चा लिनाले उल्टी हुन बन्द हुन्छ ।
  • ज्वरो आएका वेला अदुवा र पुदिनाको काँडा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ ।
  • आधा चम्चा अदुवाको रसमा हिङ र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक हुन्छ ।
  • सास गनाउने समस्या भएकाले अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
  • भोक नलागेमा वा पेट सफा नभएमा अदुवामा नुन मिलाएर एक हप्तासम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्नेसमेत गर्दछ ।

आयुर्वेदिक जीवनपद्धति

आयुर्वेदिक जीवनपद्धति

नेपाली समाजमा आयुर्वेद चिकित्सा पद्धति प्राथमिक स्वास्थ्य उपचारको मुख्य आधार बनेको छ । अझ पछिल्लो समय यो चिकित्सा पद्धतिप्रति नेपाली जनताको आस्था र विश्वास बढ्दो छ । नसर्ने रोगहरूको प्रकोप बढ्दै जाादा हाम्रो समाज मात्र नभएर पश्चिमाहरू पनि यो पद्धतिमा आकर्षित भएका हुन् । क्यान्सर, मधुमेह, मुटुरोग, मानसिक रोग तथा पक्षघातजस्ता रोगको रोकथाममा आयुर्वेदिक चिकित्सा पद्धतिले मुख्य भूमिका खेलेको छ । यस्ता रोग लागिसकेपछि सामाजिक तथा आर्थिक रूपमा बोझ बढी हुने हुादा पनि रोकथाम गर्न यो पद्धतिप्रति विश्वास बढेको हो । लामो समयसम्म रासायनिक औषधि (एलोप्याथिक)को प्रयोग गर्दा हुने यसको पाश्र्वप्रभावले गर्दा पनि आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा विधिप्रति मानिसको रुचि बढेको हो । पूर्वीय आयुर्वेद दर्शनका संयमित जीवनशैली, उचित आहार–विहार र योग प्राणायामजस्ता स्वास्थ्य रक्षाका विधि र तनाव व्यवस्थापन तथा शाकाहारी खानामा जोड दिइएको छ । तसर्थ, स्वास्थ्य प्रवद्र्धन र रोगको रोकथाम गर्न आयुर्वेद चिकित्साको भूमिका के हुनसक्छ ? सबै चिकित्सा विज्ञान एकआपसमा कसरी परिपूरक हुन सक्छन् भन्ने विषयमा गम्भीर छलफल हुनु जरुरी छ ।
एलोपेथिक चिकित्सा
यो पद्धति विशेषगरी सरुवा तथा संक्रमणजन्य रोग, शल्यक्रिया तथा आकस्मिक स्वास्थ्य सेवामा प्रभावकारी छ । विश्वमा यही प्रणालीलाई मुख्य स्वास्थ्य उपचार प्रणाली मानिएको छ । तर, यो अत्यन्तै प्रविधिकेन्द्रित, महँगो र गरिब जनताको पहुँचबाहिरको प्रणाली पनि हो ।
अक्युपंचर
नसासम्बन्धी रोगमा चिनियाँ अक्युपंचर पद्धति प्रभावकारी मानिन्छ । क्यान्सरको केमोथेरापी, बिरामीको दुखाइ र नसासम्बन्धी रोग– जस्तै, पक्षघात, कानको समस्या, माइग्रेन र मुख बांगो हुनेजस्ता समस्यामा यो पद्धतिद्वारा उपचार गरिँदै आएको छ ।
योगासन र प्रणायाम
आरोग्य, आत्मविकास र बौद्धिक मनोबल वृद्धि तथा चित्तशुद्धि गर्न यो विधि उपयोगी छ । त्यसैले यी चिकित्सा प्रणालीलाई पूरक रूपमा पनि लिइन्छ । खासगरी तनाव, रिस, डर, लोभ, आशक्ति, चिन्ताबाट उन्मुक्ति दिई मानसिक स्वास्थ्यका लागि यो विधि उपयोगी मानिन्छ ।
आयुर्वेद
उच्च रक्तचाप, हृदयघात, मधुमेह, बाथ, मिर्गौलाको स्याहार, दम, पिनास, माइग्रेन, पक्षघात, डन्डिफोर, पिनासलगायत स्वस्थ व्यक्तिमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक जडीबुटीका साथै आयुर्वेदमा पञ्चकर्म पद्धतिको उपचार विधि विश्वसनीय मानिन्छ । विशेषज्ञ चिकित्सकको निगरानीमा गरिने शारीरिक शुद्धीकरणलाई पञ्चकर्म भनिन्छ । यो पद्धति व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग हुँदै आएको छ । पञ्चकर्ममा (क) बमन (औषधि प्रयोग गरी उल्टी गराउने) (ख) विरेचन (औषधि प्रयोग गरी झाडा लगाउने) (ग) बस्तीकर्म (औषधि प्रयोग गरी तल्लो भागबाट विकार हटाउने) घ) नश्यकर्म (घाँटीभन्दा माथिका सबै समस्यामा सेकेर औषधि वा सोसँग सम्बन्धित वाष्प नाकबाट तान्ने कार्य) (ङ) रक्तमोक्षण (शरीरमा विकारलाई हटाई शुद्ध गर्ने क्रिया) हुन्छ ।
(क) जडीबुटी
स्थानीय रूपमा सर्वसुलभ, सर्वसाधारणले प्रयोग गर्नसक्ने र आधुनिक चिकित्सा पद्धति सुलभ नभएको ठाउँमा स्थानीय जडीबुटी प्रयोग गर्न सकिन्छ । यसमा आफ्नै स्रोत र साधन भएकाले अन्य बाहिरी मुलुकको भर पर्न पर्दैन । आयुर्वेद चिकित्सामा ‘स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रसमनम्’ भन्ने सिद्धान्तलाई जोड दिइएको छ । यसको अर्थ स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचार गर्ने हो । हर्रो, अमला, गुर्जो, कुरिलो, पुदिना, बेसार, टिमुरलगायत स्थानीय जडीबुटी उपयोगी हुन्छन् ।
(ख) दिनचर्या 
मानिस चाँडो सुत्ने, चाँडो उठ्ने, आँखा, मुख तथा छालाको हेरचाहलगायत दैनिक स्वस्थकर क्रियाकलाप– जस्तै, व्यक्तिगत सरसफाइ, व्यायाम, योग प्रणायाम, श्रम, आहार आदि दिनचर्याअन्तर्गत पर्दछन् । आयुर्वेदमा सात्विक भोजनलाई बढी जोड दिइएको छ । अचेल यसलाई एन्टिअक्सिडेन्ट खानाको रूप मानिएको छ ।
(ग) रात्रिचर्या
मैथुन र निद्राको विषयमा रात्रि नियम पालन गर्नुपर्छ । आयुर्वेदमा निद्रा, आहार र ब्रह्मचर्य पालन दीर्घायु र निरोगिताको महत्त्वपूर्ण पाटो मानिएको छ । निद्रा शारीरिक तथा मानसिक स्फूर्ति र नयाँ कोषको वृद्धिमा महत्त्वपूर्ण छ ।
(घ) ऋतुचर्या
ऋतुअनुसार पालन गर्नुपर्ने आहार–विहारलाई यसमा जोड दिइएको छ । जस्तै, प्राकृतिक रूपमा ऋतुअनुसारको सागसब्जी, फलफूल, तरकारी, अन्न आदि सेवन गर्ने । ६ ऋतुमा आहार–विहारलगायत क्रियाकलापबारे पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।
(ङ) बाजीकरण एवं रसायन
आयुर्वेद चिकित्सा ग्रन्थमा यौनक्षमता वृद्धि गर्न बाजीकरण (यौनक्षमता वृद्धि तथा यौनक्रियालाई आनन्दमय बनाउने चिकित्सा विधि) प्रयोग हुँदै आइरहेको छ । यौनलाई आनन्दमय, सुखमय र गुणवान् सन्तान जन्माउन विशेष आहार, औषधि (काउछो, अश्वगन्धा, मुसली, अमला) र पञ्चकर्म विधि अत्यन्तै उपयोगी छन् । निद्रा, आहार र ब्रह्मचर्य पालन दीर्घायु र निरोगिताको महत्त्वपूर्ण पाटो मानिएको छ ।
(च) आचरण स्वास्थ्य
मानसिक वा शारिरीक रुपमा स्वस्थ रहन सद्वृत्त (असल आचरण) महत्वपुर्ण हुन्छ । असल
आचरणले शारीरिक, मानसिक, वैयक्तिक, सामाजिक र चारित्रिक जीवन पूर्ण सफल हुनसक्छ । आचार रसायन पनि महत्त्वपूर्ण छ । हरेक युवामा तनाव, अनुचित आहार–विहार, शारीरिक कसरतको कमी, अल्छीपन, धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन आदि कारणले किशोरकिशोरीहरूलाई आचरण रसायन महत्त्वपूर्ण छ ।
(छ) व्यायाम
यसले शरीरका विभिन्न अंगमा रक्तसञ्चार क्रिया प्रवाह हुन्छ । यसले पाचन अग्नि (पचाउन सक्ने क्षमता) बढाउँछ । शरीरलाई फुर्तिलो बनाउँछ । व्यायामका वेला अक्सिजन प्रशस्त मात्रामा रगतबाट सञ्चार हुने भएकाले विकार वस्तु निष्काशन हुन्छ । मुटु, फोक्सो एवं अन्य महत्त्वपूर्ण अंगमा प्रशस्त मात्रामा रगत बग्ने भएकाले कोषहरूले प्रशस्त पोषण प्राप्त गर्छन् ।
(ज) महिला स्वास्थ्य प्रवद्र्धन
गर्भिणी परिचर्या (महिलाको पेटमा बच्चा रहेको अवस्था), सूतिका परिचर्या (सुत्केरी भएको अवस्थामा पालन गर्नुपर्ने नियम), रजनोवृत्तिचर्या (महिनावारी सुकेको अवस्थामा पालन गर्नुपर्ने नियमहरू) पालन गर्दा महिलाको प्रजनन स्वास्थ्यमा सुधार आउँछ । रसायनयुक्त जडीबुटी, खानपान र जीवनशैली शिक्षा, स्वास्थ्य प्रवद्र्धन कार्यक्रम आदि महिला स्वास्थ्य प्रवद्र्धनमा महत्त्वपूर्ण हुन सक्छन् ।
तर, यो पूरा गर्न राज्यको प्रतिबद्धता, गैरसरकारी संघसंस्थाहरूको नवीन प्रयोगको खोजी र यस क्षेत्रका व्यवसायीहरूमा इमानदारिता आवश्यक छ । अस्पताल, शैक्षिक संस्थाहरूमा अनुसन्धानात्मक कार्य थालनी हुनु जरुरी छ । नयाँ नेपाल निर्माणसँगै राज्यले देशको मौलिक चिकित्सा पद्धतिको विकास योजनासहितको प्रतिबद्धता आउनु जरुरी छ ।
डा. राजेन्द्रकुमार गिरी
प्रबन्ध निर्देशक
सिंहदरबार वैद्यखाना विकास समिति