Thursday, November 17, 2016

डेंगु अर्को चुनौती

Posted by: Naya Patrika  May 18, 2016

डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ क्लिनिकल रिसर्च संयोजक, टेकु अस्पताल

गर्मीको मध्यसमयसँगै प्रिमन्सुन पनि सुरु भइसकेको छ । यो समयमा नेपालका तराई र केही पहाडी भू–भागमा डेंगु सार्ने लामखुट्टे सलबलाउने गर्दछन् । डेंगु केही वर्षदेखि नियमित देखापर्न थालेको नयाँ चुनौती भए पनि नेपालीहरूबीच स्थापित नाम भइसकेको छ । छिमेकी देश भारतको दिल्ली तथा दक्षिण भारतमा डेंगु बिस्तारै प्रकोपको रूपमा फैलिएको देखिन्छ ।
केही हप्तादेखि मलेसियामा हजारौँ मानिस डेंगुबाट प्रभावित भइरहेका छन् । मलेसियामा हजारौँ नेपाली रोगजारीको सिलसिलामा रहेका छन् र पुग्ने क्रम जारी नै छ । त्यस्तै, भारतमा अध्ययन तथा रोजगारीमा जाने क्रम पनि उस्तै देखिन्छ । गत वर्ष मलेसिया तथा भारतबाट आएका डेंगुका बिरामीहरूले नेपालमा उपचार गराएका थिए ।
आयातित डेंगु काठमाडौंलगायत अरू ठाउँमा पनि फैलन सक्ने सम्भावना प्रबल छ । काठमाडौंमा डेंगु फैलाउने लामखुट्टे प्रशस्त भएको अवस्थामा यो संक्रमणले स्वास्थ्य संकट नल्याउला भन्न सकिँदैन । गर्मी तथा तथा पूर्वमनसुन सुरु भइसकेको अवस्थामा आगामी दिनमा सजग रहनुपर्ने देखिन्छ ।
के हो डेंगु ?
डेंगु लामखुट्टेबाट सर्ने एक भाइरस हो । यो हालसम्म चार प्रकारको भएको पत्ता लागेको छ । एक प्रकारको डेंगु लागिसकेको अवस्थामा अर्को प्रकारको डेंगु (अर्को प्रजातिको डेंगु)ले संक्रमण गरेमा रोग बढी कडा र जटिल हुने गर्दछ । डेंगुलाई १, २, ३ र ४ गरी चार प्रकारमा विभाजित गरिएको छ । यो रोग खासगरी एडिस एजिप्टाई तथा एल्बोपिकट्स जातको लामखुट्टेबाट सर्छ । यो लामखुट्टे खासगरी बिहान तथा सूर्यास्तअगाडि बढी सक्रिय हुन्छ । यो लामखुट्टे पहिले तराईका जिल्लाहरूमा देखापर्ने गरेको भए तापनि हाल काठमाडौंलगायत अरू पहाडी क्षेत्रमा पनि देखापरिसकेको छ । तसर्थ, नेपाल सरकारले जोखिम क्षेत्रको वर्गीकरण उच्च, कम उच्च तथा कम डेंगु प्रभावित क्षेत्र भनेर छुट्याउन जरुरी भइसकेको छ । यो लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्ने तथा वृद्धि विकास पूरा गर्ने गर्दछ । त्यसबाहेक टायर, गमला, बाल्टिन एयरकन्डिसन, फ्रिज, कुवामा बस्ने गर्दछ ।
सामान्य लक्षण
ज्वरो आउने जोर्नी दुख्ने, पेट दुख्ने, आँखाको गेडी दुख्ने मांसपेशी दुख्ने, छालामा साना राता बिबिरा देखापर्नेजस्ता लक्षण डेंगुमा देखिने गर्दछन् । डेंगु जटिलतातिर जाँदै गर्दा पेटमा पानी जम्ने तथा अत्यधिक रक्तश्राव भई उपचार समयमा नपाए बिरामीको मृत्युसमेत हुनसक्छ ।
डेंगुका चरण
यसमा पनि रक्तश्रावअन्तर्गत डेंगु ज्वरो, गम्भीर डेंगु तथा सुधारोन्मुख डेंगु गरी तीन चरण पार गर्ने गर्दछ । यद्यपि, डेंगु ज्वरोपछि गम्भीर डेंगु हुनैपर्छ भन्ने छैन । अर्थात् डेंगु ज्वरोको चरणपछि सुधारोन्मुख डेंगु हुन पनि सक्छ ।
ज्वरोका चरण
साधारणतया दुईदेखि सात दिनसम्मको हुनसक्छ । यो चरणमा ज्वरो आउने, आँखाको गेडी दुख्ने, टाउको, जिउ दुख्ने, जोर्नीहरू दुख्ने गर्दछ । शरीरमा बिबिराहरू पनि आउन सक्छ । रगतमा प्लेटलेट्सको संख्या सामान्य कम देखिन्छ । यो चरणमा ज्वरो ठीक भएर ४८ घन्टासम्म पुन: लक्षण नदेखिएमा सुधारोन्मुख चरणमा जान्छ । तर, पुन: देखापरे गम्भीर चरणतिर
प्रवेश गर्छ ।
गम्भीर चरण
डेंगु सुरु भएको सामान्यतया तीन दिनदेखि नै गम्भीर चरण देखापर्न सक्दछ । यो अवस्थामा ज्वरो सामान्य अवस्थामा झरेको हुन्छ । ज्वरो २४ देखि ४८ घन्टासम्ममा पुन: देखापर्न सक्छ । ज्वरो पुन: देखापरे बिरामीमा स्वास्थ्य जटिलता आउने सम्भावना बढी हुन्छ । यस्तो वेला पेटमा पानी जम्ने सम्भावना बढी हुन्छ भने प्लेटलेट्सको संख्यामा भारी गिरावट आउन सक्दछ । यो अवस्थामा शरीरमा लवण पानीको सन्तुलन बिग्रने गर्दछ । समयमै उपचार नपाए बिरामीको मृत्यु हुनसक्छ । यहाँ याद गर्नुपर्ने के छ भने धेरैजसो संक्रमित ज्वरो घट्नेबित्तिकै स्वस्थ भएको मान्ने ठूलो भूलमा हुन्छन् । त्यो डेंगु गम्भीर चरणमा प्रवेश गरेको पनि हुनसक्छ ।
सुधारोन्मुख चरण
बिरामीमा ज्वरो चरण र गम्भीर चरणपछि सुधारोन्मुख चरण सुरु हुन्छ । यो दुईदेखि पाँच दिन समयको हुने गर्दछ । यो अवस्थामा शरीरमा जमेको पानी पूर्ववत् अवस्थामा फर्कने गर्दछ । बिरामीलाई खानामा रुचि बढ्दै जान्छ । पिसाब खुला हुने, फेरि एकपटक शरीरमा बिबिरा आउने तथा पैताला चिलाउने गर्दछ । त्यस्तै, प्लेटलेट्स सामान्य अवस्थामा फर्किने गर्दछ ।
यी लक्षण अरू संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला निदान अति आवश्यक हुने गर्दछ । हाल नेपालमा र्‍यापिड टेस्ट र एलिजा टेस्ट बढी प्रयोगमा ल्याएको देखिन्छ ।
विचार गर्नुपर्ने कुरा
डेंगु भाइरस निश्चित भए पनि भयभित भइहाल्नुपर्ने अवस्था भने हुँदैन । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या अति न्यून देखिएको छ । तथापि, चिकित्सकको निगरानीमा नियमित स्वास्थ्य जाँच गर्नु जरुरी हुन्छ । खासगरी गम्भीर चरणको डेंगुको संकेत देखापरे अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ । सामान्य चरणको डेंगुमा सिटामोल लिई प्रशस्त झोल पदार्थ लिनु जरुरी हुन्छ । तर, एस्पिरिङ, ब्रुसेट, फ्ल्याक्सनजस्ता औषधि प्रयोग गर्नु हुँदैन । यसले रक्तश्राव गराउने सम्भावना बढाउँछ । डेंगुले जोर्नी तथा मांसपेशीमा अति दुखाउने भएकाले बिरामीले आफैँ पसलमा गएर यस्ता औषधि सेवन गरिरहेका हुन्छन् । चिकित्सकको सल्लाह नलिइकन औषधि सेवन गर्नु थप खतरा हुन्छ । स्वास्थ्यकर्मीहरूले पनि सामान्य ज्वरो आइहालेमा फ्ल्याक्सनजस्ता दुखाइ कम गर्ने औषधि चलाउने गरेको देखिन्छ । यस्ता औषधि चलाउनुभन्दा पहिले रोगको पूर्ण इतिहास लिन जरुरी हुन्छ ।
रोकथाम
प्रभावकारी औषधि उपलब्ध नभएको र खोपको विकास नभइसकेको अवस्थामा बच्ने उपाय अवलम्बन गर्नु आवश्यक हुन्छ । यसका लागि डेंगुसम्बन्धी चेतनामूलक कार्यक्रम व्यापक गर्न जरुरी हुन्छ । लामखुट्टेको वासस्थान जस्तै– गमला, बाल्टिनलगायतमा पानी जम्मा हुने सामानहरू राम्ररी छोप्नुपर्छ । त्यस्तै, मोटरसाइकल, कलकारखानामा हुने टायरलाई राम्रो व्यवस्थापन गर्नुपर्छ । लुगा पूर्ण शरीर छोप्ने लगाउनु राम्रो हुन्छ । व्यावहारिक रूपमा सम्भव नभए लामखुट्टे भगाउने लोसन लगाउन सकिन्छ । लामखुट्टे नियन्त्रण गर्न प्राथमिक स्तरको विद्यालयबाट नै सचेतना कार्यक्रम अगाडि बढाउनुपर्छ।
चुनौतीहरू
डेंगु नयाँ भूगोलमा विस्तार हुँदै गएको ।
चारवटा सेरोटाइपमध्ये कुनले संक्रमण गरे कडा हुने भन्ने निक्र्योल गर्न गाह्रो ।
डेंगु पहिचान समयमै सहज र सर्वसुलभ नहुनु ।
डेंगुसम्बन्धी स्थानीयस्तरमा आधारित निर्देशिका नहुनु ।
अनुसन्धानको कमी ।
खोप उपलब्धता नहुनु ।

No comments:

Post a Comment