Tuesday, March 21, 2017

एक वर्षसम्मका बच्चालाई यस्तो आहार

जानिराखौँ

०–३ महिना
नवजात बच्चालाई सबैभन्दा उत्तम पोषक तत्त्व आमाको दूध नै हो । आमाको दूधमा शिशुलाई आवश्यक सबै पोषक तत्त्व भरपूर पाइन्छ । सही तरिकाले आमाले दूध पिलाएका बच्चा हृष्टपुष्ट हुन्छन् । यो कार्यले आमा र बच्चाबीच भावनात्मक सम्बन्ध पनि बन्छ । ब्रेस्ट मिल्कमा इम्युनोग्लोबुलिन (सुरक्षात्मक प्रोटिन) पाइन्छ जसले बच्चालाई बाहिरी संक्रमणबाट बचाउँछ ।
कोही आमा यस्ता बच्चालाई उमालेको पानी, फलफूल जुस या ग्लुकोज पानी पनि दिने गर्छन् । तर, यो कुनै आवश्यक छैन । आमाको दूधले बच्चाको शरीरबाट रोग र एलर्जीलाई टाढै राख्छ । जुन बच्चा आमाको दूध नियमित पिउँछ उसमा रोग लाग्ने सम्भावना निकै कम हुन्छ ।
सुरुवातको तीन महिना आमाले खाने भोजनले बच्चाको स्वास्थ्यमा प्रभाव पार्छ । यसकारण गर्भधारणपछि आमाले आफ्नो खानपिनमा विशेष ख्याल गर्नु जरुरी हुन्छ । आमाको स्तनमा दूध सही तरिकाले बनेको छैन या कुनै समस्या छ भने शरीरमा आइरनको कमी हुन सक्छ । तीन महिनासम्म बच्चालाई आइरन निकै जरुरी हुन्छ । तीन महिनापछि आइरन पाइने अन्य चिज पनि खुवाउन सकिन्छ ।

३–६ महिना
यो उमेरका बच्चाको शरीरलाई पोषक तत्त्वको भरपूर आवश्यकता पर्छ । शिशुलाई आहारका रूपमा आमाको दूधबाहेक केही ठोस आहार पनि दिन सकिन्छ । यो अवधिमा सेरेलेक खुवाउन सुरु गर्न सकिन्छ । सेरेलेक पोषक तत्त्वको मात्रा मिलाइएको बजारिया उत्पादन हो । चिकित्सकको सल्लाहमा घरमै पनि सातु बनाउन सकिन्छ । यस्तो पदार्थ बच्चा बढ्दै जाँदा दिनको दुईपटकसम्म दिन पनि सकिन्छ । तर, बच्चाले पचाउन सक्छ/सक्दैन, विचार गर्नुपर्छ ।
केही हप्ताको अन्तरमा अन्य नयाँ–नयाँ खाना खुवाउन सकिन्छ । हरेक नयाँ खाना खुवाउँदा सुरुवातमा हल्का अपचको समस्या हुन सक्छ । बच्चा केही ठूलो भइसकेपछि भातको जाउली खुवाउन सकिन्छ । यतिवेलासम्म उसमा पाचन क्षमता बलियो भइसकेको हुन्छ । चामल, मुंगको दाल मिलाएर बनाएको खिचडी खुवाउँदा अझै राम्रो हुन्छ ।

६–८ महिना
६ महिनापछि बच्चालाई ठोस आहारमा आकर्षित गर्नु राम्रो हुन्छ । फलफूल र तरकारीमा पनि जोड गर्न सक्नुहुन्छ । बच्चालाई दिने फल पूरा पाकेको हुन जरुरी छ । यो उमेरमा बच्चा निकै चुलबुले हुन्छ । आफैँ खाना खान रुचि देखाउँछ, उसलाई प्रोत्साहित गर्नु ठीक हुन्छ ।
६ महिनापछि बच्चाको दाँत आउन सुरु हुन्छ । यो वेला दाँतका कारण उसले झन्झट मान्छ । केही चिज खान दिँदा मुखमै खेलाइरहने गर्छ । यस्तो वेला बिस्कुट दिएर निल्ने बानी बसाउनुपर्छ । बिस्कुट मुखमा आफँै भिजेर सजिलै निलिन्छ । उसिनेको आलु मिचेर दिन पनि सकिन्छ । बच्चाले रुचाउँछ भने थोरै नुन र कागतीको थोपा पनि राख्न सकिन्छ । यो उमेरका बच्चालाई अन्डा पनि दिन सकिन्छ । एक हप्तामा तीन–चारवटा अन्डा खुवाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।


९–१० महिना
बच्चा ९–१० महिनाको हुँदा माछा, चिकेन, कलेजो खुवाउन सकिन्छ । तर, निकै राम्रोसँग पकाएको हुनुपर्छ । हड्डी भएको मासु भुलेर पनि नदिनुहोला । जब बच्चाको शरीरमा हरेक दिन पाँच सय मिलिलिटर दूध पूर्ति हुन्छ तबसम्म अन्य पोषक तत्त्वको कमी हुँदैन ।

११–१२ महिना
११ महिना लागेपछि बच्चाको तौल पहिलेको तुलनामा कम हुने स्थिति हुन्छ । जब बच्चा एक वर्षको हुन्छ तब उसको तौल जन्मेको समयभन्दा तीनगुणा बढी हुन्छ । बढ्दै गरेको बच्चालाई समय–समयमा दूध, बिस्कुट र फलफूल जुस दिनुपर्छ । मिश्रित सन्तुलित भोजनले बच्चाको शरीरमा कुनै पनि कमी हुन दिँदैन ।

Posted by: Naya Patrika  May 28, 2016

No comments:

Post a Comment