Monday, January 9, 2017

हेलचेक्र्याइँ नगरौँ टन्सिल हुँदा

नाक, कान, घाँटी एकअर्कासँग जोडिएका अंग हुन् । यी तीनवटामध्ये एउटामा समस्या देखियो भने अर्कोमा पनि असर गर्ने गर्छ । रुघाखोकी लाग्यो, टन्सिल बढ्यो भने घााटी, कानका साथै नाकमा पनि समस्या हुन्छ । यसरी, टन्सिल बढ्दा नाक र कानलाई जोड्ने नली बन्द हुने सम्भावना हुन्छ । त्यसमा पानी जम्ने समस्या पनि हुने हुँदा नली नै सुन्निने समस्या हुनसक्छ । त्यस्तै, नाकको संक्रमण हुँदा घाँटीमा गएर त्यहाँ पनि संक्रमण हुनसक्छ ।
कान
सामान्य कान पाक्ने समस्या
नेपालमा कान पाक्ने समस्या ठूलो रूपमा छ । हाम्रो समाजमा कान पाक्नु सामान्य मानिन्छ । तर, यसले पछि गएर कानै नसुनिनेसम्मको समस्या पैदा गर्छ । कतिपय अवस्थामा दिमागमा पनि असर गर्नसक्छ । विशेषगरी बालबालिकामा रुघाखोकी लाग्दा वास्ता गरिएन भने विभिन्न खालको इन्फेक्सन भई कान पाक्ने समस्या हुन्छ । यसले कानको जाली प्वाल पर्ने हुन्छ । यसका साथै हाम्रो समाजमा कानमा तेल हाल्ने प्रचलन छ । त्यसले पनि कानमा संक्रमण बढ्नसक्छ । यसरी संक्रमण हुँदा कानमा पिप बग्छ र समयमा उपचार भएन भने कानको जालीको प्वाल ठूलो हुन्छ र ठूलो भएपछि आफैँ टालिन गाह्रो हुन्छ । ठूलो प्वाल भएपछि बाहिरबाट पनि संक्रमण हुनसक्छ र वेलावेलामा कान पाक्ने क्रम दोहोरिरहन्छ ।
जटिल खालको कान पाक्ने समस्या
अर्को कानको जटिल खालको रोग पनि हुन्छ । जसमा कान पाक्नुका साथै भित्र हड्डीमा पनि एकैसाथ संक्रमण गर्नसक्छ । यसलाई हामी खतरनाक प्रकारको कान पाक्ने रोग भन्छौँ । त्यस्तो खालको संक्रमणले हड्डीलाई खियाउँदै बिस्तारै दिमागमा पनि जाने सम्भावना हुन्छ । त्यसले ज्यानलाई नै खतरा पुर्‍याउने सम्भावना बढ्छ । यो एकप्रकारको चिल्लो पदार्थ (कोलेस्ट्रेटोमा)को असन्तुलनले हुने गर्दछ । जुन पदार्थमा हड्डी खियाउने गुण हुन्छ । यसले दिमाग वरपरको हड्डीलाई खियाएर भित्र पस्यो भने मेनेन्जाइटिस, दिमाग पाक्नेजस्ता रोग लाग्छ ।
यो एकप्रकारको घातक रोग पनि हो । साधारण कान पाक्दा कानबाट रगत निस्कँदैन । कडा खालको कान पाक्नेमा पिपसँगै रगत पनि मिसिएर बग्छ । पिप धेरै गन्हाउने हुन्छ । टाउको दुख्छ । यसको उपचार शल्यक्रिया गरेर पूर्ण
रूपमा हटाउनुपर्छ ।
नाक
पिनास
धेरै चिसो र बढी धुवाँधुलोको संक्रमणका कारण पिनास हुने गर्दछ । कहिलेकाहीँ नाकको बनावटको खराबीले पनि पिनास हुने गर्दछ । पिनास हुँदा टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने हुन्छ । पिनास बढ्दै जाँदा त्यसको संक्रमणले आँखालाई पनि असर पर्छ । यदि धेरै लापरबाही गर्‍यो भने दिमाग पाक्ने पनि हुनसक्छ । यसको उपचार सुरुकै अवस्थामा छ भने पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने, चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खानु राम्रो हुन्छ ।
मासु पलाउने वा हड्डी बांगो हुने
सामान्यतया रुघाखोकी, धुवाँधुलोको संक्रमणका कारण नाकमा मासु पलाउने हुन्छ । त्यस्तै, नाकको हड्डी बांगो हुने समस्या बढी जन्मजात हुने गर्छ । त्यसका साथै कहिलेकाहीँ नाक ठोक्किँदा पनि हुने गर्छ, जसलाई शल्यक्रिया गरी सोझो बनाए समस्या समाधान हुन्छ ।
घाँटी
टन्सिलको संक्रमण
एक–दुईपटक मात्र टन्सिलको समस्या देखिएको छ भने चिकित्सकको सल्लाह लिएर घरमै सामान्य एन्टिबायोटिक खाँदा हुन्छ । तर, खाना निल्न र श्वास फेर्न नै गाह्रो छ भने अस्पतालमा बसेर इन्जेक्सनबाट औषधि लगाउनुपर्ने हुन्छ । जटिल खालको र धेरैपटक दोहोरिएको हो भने वा दुई वर्षदेखि पटक–पटक देखिइरहेको छ भने अप्रेसन गरेर टन्सिल नै निकाल्नु राम्रो हुन्छ । त्यसरी निकालिसकेपछि पुन: टन्सिल हुने सम्भावना हँुदैन । अन्य कारणले भने घाँटी दुख्नसक्छ । टन्सिल निकालेपछि अन्य कुरालाई असर पर्दैन । कतिपय मानिस स्वर भासिन्छ भन्छन्, तर त्यो सत्य होइन । टन्सिल बिग्रिएर भासिएको स्वर निको भएपछि आफैँ ठीक हुन्छ ।
स्वर भासिने समस्या
मानिसको भोकलकडमा विभिन्न संक्रमणको कारण पनि स्वर भासिनसक्छ । इन्फेक्सनले भोकलकडलाई बाक्लो बनाइदिन्छ र स्वर भासिन्छ । त्यो संक्रमण हटेसँगै आफैँ निको हुन्छ । त्यसका लागि चिकित्सकको सल्लाहमा एन्टिबायोटिक लिनुपर्छ ।
अर्को ठूलो समस्या भनेको भोकलकडमा क्यान्सर वा अन्य ट्युमर (मासुको डल्ला) पलाउने समस्या हो । यसका लागि ट्युमर भए शल्यक्रिया गरी फाल्नुपर्छ । यदि क्यान्सर नै भइसकेको अवस्था हो भने त्यसको उपचार गर्नुपर्छ ।
हड्डी अड्किएर हुने समस्या
हाम्रोमा धेरै समस्या देखिने भनेको घाँटीमा हड्डी अड्किएर आउने समस्या पनि हो । यसका लागि हामीले खाना खाँदा विचार पुर्‍याउनुपर्छ । सामान्य माछाको काँडा अड्किएको छ भने त्यो माथिल्लो भागमा नै हुन्छ । जसका लागि बेहोस नबनाई उपचार गर्न सकिन्छ । तर, कुखुरा वा खसीको नली निलेको हुन्छ भने त्यो खानानलीमा गएर अड्किएको हुन्छ । त्यसलाई भने बेहोस बनाएर नै निकाल्नुपर्ने हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
  • संक्रमणबाट जोगिन धुलो, धुवाँ र चिसोबाट बच्ने
  • कान कोट्याउने, चलाउने गर्नु हँुदैन
  • झोल चिज जथाभावी विनाकारण कानमा लगाउनु हुँदैन
  • धूमपान गर्नु हुँदैन
  • धेरै चिसो कुरा सेवन गर्नु हुँदैन
  • सफा पानीलाई उमालेर बाफ लिनुपर्छ
  • खैनी, पानपराग, गुट्खा नखाने, मद्यपान नगर्ने

Posted by: nayapatrika January 29, 2016 

प्रा.डा. लालकिशोर यादव
प्रमुख, नाक, कान, घाँटी विभाग,
वीर अस्पताल

No comments:

Post a Comment