Thursday, November 17, 2016

थाइराइड रोगबारे ७ भ्रम र यथार्थ

Posted by: Naya Patrika  May 25, 2016

डा. अंशुमाली जोशी डिएम, इन्डोक्राइनोलोजिस्ट

विश्वमा अहिले थाइराइड रोग दिनानुदिन बढिरहेको छ । थाइराइड रोगीमध्ये करिब ६० प्रतिशतलाई आफ्नो रोगबारे जानकारी हुादैन । नेपालमा यस रोगको कम तथ्यांक छ । यद्यपि १० देखि १२ प्रतिशतलाई यो रोग लागेको अनुमान गरिन्छ । नेपालमा थाइराइड रोग बढेको देखिनुमा मुख्यत: थाइराइड रोगको परीक्षणमा आएको व्यापकता र यसबारे आमजनता र स्वास्थ्यकर्मीमा बढेको चेतना मुख्य मानिन्छ । तर, समाजमा थाइराइड रोगबारे सही जानकारी कम र हल्ला बढी भएको महुसुस गरिएको छ । थाइराइडबारे हुने गरेको केही भ्रमबारे स्पष्ट हुन जरुरी छ । स्पष्ट पार्ने प्रयास गर्दै छन्, डा. अंशुमाली जोशी :
१. खानपिन
खानपिनको गडबढीले थाइराइड रोग लाग्ने धेरैलाई भ्रम छ । तर, यो खानपिनको गडबढीले हुने रोग होइन । कुनै थाइराइड रोग शरीरको प्रतिरोधात्मक शक्तिको गडबढीले हुन्छ भने कुनै ग्रन्थीको भाइरल इन्फेक्सनले हुने गर्छ । आयोडिनको कमी भएर वा धेरै भएर पनि थाइराइड रोग लाग्न सक्छ । यसका साथै विकिरणका कारण थाइराइड ग्रन्थीको क्यान्सर हुने सम्भावना बढ्छ । तर, हाम्रो समाजमा खानपिनसम्बन्धी धेरै गलत हल्ला सुनिन्छन् । थाइराइड बन्दा र काउली धेरै खाएर लाग्ने रोग हो भन्नेसम्मका भ्रम छन् । जुन मात्रामा बन्दा र काउली खाएर ग्रन्थी सुनिन्छ, त्यति परिणाममा हामी बन्दा र काउली सेवन गर्दैनौँ । थाइराइडका बिरामीलाई मोटोपनको समस्या बढी देखिने हँुदा तौल घटाउन खानामा चिल्लो र गुलियो कम गर्नुपर्छ । आयोडिन बढी भएको खानेकुरा जस्तै : समुद्री माछा र जीव भने धेरै खानुहँुदैन । नेपालमा हामी समुद्री खानेकुरा कम मात्रामै सेवन गर्छौँ । दूधमा अधिक मात्रामा क्याल्सियम हुन्छ । त्यसैले थाइराइडको औषधि सेवन गरेको कम्तीमा चार घन्टापछि मात्र दूध सेवन गर्नुपर्छ । यसैगरी आइरन बढी भएको खाना अथवा आइरन चक्कीहरू कम्तीमा पनि दुई घन्टापछि सेवन गर्नुपर्छ ।
२. व्यायाम
थाइराइड रोगलाई नै भनेर कुनै प्रकारका व्यायाम हँुदैन । तर, थाइराइड रोगमा मोटोपनको समस्या बढी हुने हुनाले व्यायाम जरुरी हुन्छ ।
३. थाइराइड र मधुमेह
थाइराइड रोगले मधुमेह रोग जन्माउने भ्रम अधिकांशमा पाइन्छ । थाइराइडले कहिल्यै मधुमेह जन्माउदैन । मधुमेहले पनि थाइराइड रोग जन्माउने होइन । थाइराइड रोगमा मोटोपनको समस्याले गर्दा मात्रै मधुमेहको सम्भावना बढी हुन्छ । तर, एक किसिमको थाइराइड रोग ‘हाइपरथाइराइरोडिजम’मा क्षणिक रूपमा मधुमेह देखा पर्न सक्छ ।
४. थाइराइड र नि:सन्तानपन
नि:सन्तानपनबारे पनि समाजमा ठूूलो भ्रम छ । थाइराइड रोगमा नि:सन्तानको समस्या हुनसक्छ भन्ने भ्रम व्याप्त पाइन्छ । तर, औषधि नियमित सेवन गरेर सही उपचार गरेमा थाइराइडले नि:सन्तानपन हुँदैन । समाजमा थाइराइड रोग लागेकासँग बिहेवारी गर्न हिचकिचाउने प्रचलन देखिन्छ । यो सरासर गलत हो ।
५. थाइराइड र टन्सिल दुख्ने
थाइराइडका कारण टन्सिल बढ्ने र दुख्ने समस्या हुन्छ भन्ने धेरैलाई लाग्ने गरेको पाइन्छ । तर, थाइराइड रोगले टन्सिल बढ्ने र दुख्ने समस्या हुँदैन । थाइराइड रोग र टन्सिल बीचमा कुनै पनि सम्बन्ध छैन । थाइराइड रोगमा घाँटीभित्रको श्लेष्मा झिल्ली सुक्खा हुने हुनाले केही अड्किएकोजस्तो हुने वा घाँटी खसखस हुने हुनसक्छ ।
६. जिन्दगीभर औषधि खानुपर्छ
थाइराइड रोग विभिन्न कारणले हुने गर्छ । प्रतिरोधात्मक शक्तिको गडबडीबाट हुने थाइराइड रोग जिन्दगीभरको रोग हो । यसका लागि औषधि सेवन पनि नियमित हुनुपर्छ । भाइरसको आक्रमणबाट हुने थाइराइड रोग केही समयपछि आफैँ निको हुन्छ । यसका लागि जिन्दगीभर औषधि सेवन जरुरी हुँदैन ।
७. थाइराइड र मोटोपन
थाइराइड रोगले गर्दा बढ्ने वजन चार–पाँच किलोग्रामभन्दा बढी हुँदैन । मोटोपन आफैँमा रोग हो । खानपिनमा कन्ट्रोल गरेर र नियमित व्यायाम गरेर मोटोपन नियन्त्रण गर्नुपर्दछ । थाइराइड रोग लाग्यो भन्दैमा मोटोपन घटाउन नसकिने होइन, त्यसकारण थाइराइड रोगले गर्दा मोटोपन घटाउन सकिँदैन भन्नु गलत हो ।
यस्ता केही भ्रम र हल्लाले थाइराइडका बिरामीमा ठूलो डर र त्रास पैदा भएको देखिन्छ । थाइराइड रोगको समयमै पहिचान गरेर सही उपचार गरेमा यसले कुनै पनि नकारात्मक असर पार्दैन । त्यसकारण भ्रमको पछाडि नपरी सही उपचारतर्फ लागौँ ।

No comments:

Post a Comment