Wednesday, November 16, 2016

बजेटमा स्वास्थ्य

Posted by: Naya Patrika May 29, 2016

भिषा काफ्ले/नयाँ पत्रिका
काठमाडौं, १६ जेठ
राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम
सरकारले तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ । बिमाका लागि बजेटमा दुई अर्ब ५० करोड विनियोजन भएको छ । हाल कैलालीमा बिमा कार्यक्रम सुरु भएको छ भने बाग्लुङ र इलाममा सञ्चालनको अन्तिम चरणमा पुगेको छ । आगामी वर्ष २५ जिल्लामा कार्यक्रम सुरु गरिने भएको छ ।

पाँच सय रोपनीमा अत्याधुनिक वीर अस्पताल
देशमै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा दिन वीर अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार र यन्त्रसहित अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ । यसका लागि उपत्यकाभित्रको उपयुक्त स्थानमा पाँच सय रोपनी क्षेत्रफल जग्गा पहिचान र गुरुयोजना सुरु गर्ने बजेटमा उल्लेख छ ।
कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान निर्माण गर्न ४८ करोड विनियोजन भएको छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जबाट क्यान्सर रोग निदान तथा उपचारका लागि थप सेवा विस्तार गर्ने बजेटमा घोषणा गरिएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको काम अगाडि बढाइने बजेटमा उल्लेख छ । भक्तपुरमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना गरिने घोषणा छ ।

एक प्रदेश एक मेडिकल कलेज
एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने सरकारको योजना छ । बर्दिबास, सुर्खेतसहित तीन स्थानमा आगामी आर्थिक वर्षबाट कलेज निर्माण थालिने भएको छ ।

एक गाविस एक डाक्टर उत्पादन
ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रत्येक गाविसमा स्थानीय एक विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने घोषणा गरिएको छ । छात्रवृत्तिमा पढ्ने विद्यार्थीले अध्ययन सकेपछि अनिवार्य आफ्नो गाउँमा पाँच वर्ष सेवा गर्नुपर्नेछ ।

गरिबलाई कलेजो, मुटु, मिर्गौला र क्यान्सरको नि:शुल्क उपचार
गरिबीको रेखामुनि रहेका नेपालीलाई सरकारी अस्पतालमा कलेजो, मुटु, मिर्गौला र क्यान्सरको नि:शुल्क उपचार गरिने भएको छ । तराई मधेसमा विशेषत: थारू समुदायमा देखिएको सिकल सेल एनिमियाको पहिचान र उपचारको सेवा विस्तार गर्ने बजेटमा उल्लेख छ । सात लाख बालबालिकालाई ११ प्रकारका खोप नि:शुल्क गरिएको छ ।

डायलसिस नि:शुल्क
मिर्गौला रोगीलाई मिर्गौला प्रत्यारोपण नगरेसम्म डायलसिस सेवा नि:शुल्क हुने भएको छ । विपन्न नागरिकले आठ प्रकारका रोगको नि:शुल्क उपचार पाउनेछन् । यसका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको छ ।
अन्य घोषणा
  • सुरक्षित प्रसुति सेवा नि:शुल्क गर्न सघन आकस्मिक प्रसुति सेवा र नवजात शिशु सेवा कार्यक्रम ७५ जिल्लामा विस्तार हुने भएको छ । आमा र बच्चाको पोषण सुनिश्चित गर्न सुनौला हजार दिन कार्यक्रम प्रभावकारी बनाउने घोषणा छ
  • आयुर्वेदिक औषधिको गुणस्तरमा सुधार गर्न सिंहदरबार वैद्यखानाको औषधि उत्पादनमा जिएमपी प्रक्रिया अवलम्बन गरिने भएको छ । नि:शुल्क उपलब्ध गरिने औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको योजना छ । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ ।
  • महिला स्वास्थ्य स्वयंसेविकाको पोसाक खर्च एक हजार पाँच सय बढाएर २५ सय पुर्‍याइएको छ भने नि:शुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।
  • पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment