Tuesday, November 15, 2016

शरीरमा मुसा छ ? काट्ने गल्ती नगर्नुहोस्

शरीरमा मुसा छ ? काट्ने गल्ती नगर्नुहोस्

डा. राजन ताझिया
छालारोग विशेषज्ञ 
अल्का अस्पताल
शरीरमा मुसा पलाएर हैरान हुनुहुन्छ ? या मुसा पलायो भने के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? चिन्ता मेटाउने नाममा मुसा काटेर–कोट्याएर फाल्ने गल्ती नगर्नुहोस् । मुसाबाट रगत निस्किएपछिको परिणाम झनै भयावह हुनसक्छ ।
के हो मुसा ?
शरीरमा मुसा ‘ह्युमन प्यापिलोमा’ भाइरसको संक्रमणले आउँछ । नवजात शिशुबाहेक प्राय: सबै उमेरका मानिसमा यो रोग लाग्नसक्छ । भाइरसको संक्रमणपछि छालामा नदुख्ने खालको सानो ट्युमरजस्तो आउँछ । यो कसैमा कम हुन्छ भने कसैमा धेरै । धेरै या थोरै आउने दर मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा मुसा बढी आउँछ । बलियो क्षमता भएकालाई एक–दुईवटा आएर आफैँ हराउन सक्छ ।
मुसा सर्छ ?
संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा मुसा सर्ने गर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकालाई भने नसर्न पनि सक्छ । कतिपयले शरीरमा आएको मुसा काटेर फाल्ने गर्छन् । यो गलत तरिका हो । काटेको मुसाको रगत शरीरका अन्य भागमा या अन्य व्यक्तिलाई लाग्यो भने त्यसबाट मुसा सहजै सर्छ । हेर्दा सामान्यजस्तो देखिए पनि मुसाले कोही व्यक्तिलाई दीर्घकालमा क्यान्सर निम्त्याउन सक्ने पाइएको छ ।
मुसा दोहोरिन्छ ?
एकपटक मुसा आएर पूर्ण रूपमा निको भएपछि दोहोरिने सम्भावना कमै हुन्छ । ह्युमन प्यापिलोमा भइरस भएको हुँदा एकपटक आएर निको भइसकेपछि शरीरले त्यसविरुद्ध एन्टिबडी तयार गरिसकेको हुन्छ । तर, पूर्ण रूपमा निको नभएको अवस्थामा भने रोग प्रतिरोधात्मक क्षमता कम गराउने दीर्घरोग लागेमा मात्र दोहोरिने सम्भावना हुन्छ ।
उपचार विधि
मुसा धेरै मानिसमा निश्चित समयपछि आफैँ निको हुन्छ । रोग प्रतिरोधात्मक क्षमताअनुसार ढिलो–चाँडो निको हुनसक्छ । मुसा निस्किने क्रम र आकार पनि बढ्न थाले तत्काल छालारोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गराउनुपर्छ ।

No comments:

Post a Comment