Thursday, November 17, 2016

जिज्ञासा र समाधान

Posted by: Naya Patrika May 10, 2016

जिन्दगीमा पाइला–पाइलामा समस्या छन् । तिनको समाधान पनि छ । समस्या तपाईंसँग छन् भने सम्बन्धित विज्ञ वा जानकारसँग समाधानका उपाय छन् । स्वास्थ्य र लाइफस्टाइलमा निम्तिने विभिन्न समस्याबारे तपाईं प्रश्न पठाउन सक्नुहुन्छ । हामी जानकारसँग जवाफ खोजिदिन्छौँ । क्वेसन एन्ड आन्सरका लागि comment@nayapatrika.com मा जिज्ञासा पठाउन सक्नुहुन्छ ।


रविराज पाण्डे
कुपन्डोल, ललितपुर
जिज्ञासा : मेरा दुई छोराछोरी छन् । छोरी आठ कक्षामा पढछिन् भने छोरो ११ मा । टिनेजर उमेरका छोराछोरीका बाबुआमालाई निकै तनाव हुने रहेछ भन्ने मैले अनुभव गरिरहेको छु । कुलत र अन्य गलत बाटोमा अगाडि बढ्लान् कि भन्ने चिन्ताले निकै सताउने रहेछ । वेलावेला उनीहरू गल्तीउन्मुख स्वभाव हाम्रै अगाडि देखाउँछन् । सम्झाउँदा झनै झर्किन्छन् । हामी अभिभावकले के गर्दा उनीहरू सही बाटो हिड्न सक्लान्?

खेमराज भट्ट, उप–प्राध्यापक, त्रिवि मनोविज्ञान केन्द्रीय विभाग

समाधान : रविजी, टिनेज स्वतन्त्रता खोज्ने उमेर हो । अभिभावक भने यो उमेरका छोराछोरीप्रति बढी शंकालु हुन्छन् । उनीहरू सानो गल्तीमा पनि आक्रामक रूपले प्रस्तुत हुन्छन् । यो गलत कदम हो । सुरुमा त उनीहरू खास के गर्दै छन् भन्ने सत्य पहिल्याउन सक्नुपर्छ । अनि, सकारात्मक ढंगले प्रेमपूर्वक समस्याको समाधान खोज्ने हो ।

यो उमेरमा छिटो–छिटो शारीरिक परिवर्तन हुने भएकाले टिनेजरहरू कौतूहल र तनाव दुवैले घेरिएका हुन्छन् । यौनसम्बन्धी विषयमा बढी चासो राख्ने गर्छन् । तर, उनीहरूका यस्ता चासोलाई अभिभावकले गलत मूल्यांकन गरिरहेका हुन्छन् । अभिभावकको अर्को गल्ती यही हो । उनीहरूको चासोलाई कुनै न कुनै रूपमा अभिभावकले सम्बोधन गर्न सक्नुपर्छ । आमाले छोरीसँग र बाबुले छोरासँग साथीजस्तो व्यवहार गरेर उनीहरूको अन्योल अन्त्य गर्ने प्रयास गर्नुपर्छ । कम्तीमा हप्तामा एक दिन छोराछोरीसँगै बसेर रमाइलो कुराकानी गर्दै आफ्नो टिनेजका सोचाइ, गल्ती र अनुभव सेयर गर्नुपर्छ । यसो गर्दा छोराछोरीले पनि आफ्ना समस्या र सोचाइ सेयर गर्छन् । आदेश र निर्देशनले टिनेजरहरूलाई सही बाटोमा हिँडाउन गाह्रो पर्छ ।
टिनेजमा छोराले भन्दा छोरीले बढी गोप्यता खोज्छन् । यो उमेरमा उनीहरूको मोबाइल हेर्ने, म्यासेज पढिदिनेजस्ता काम गर्नुहुन्न । सीधा–सीधा उनीहरूको गोप्यता चुहाउन खोज्दा झनै नकारात्मक सोचाइ आउन सक्छ । छोराछोरीले गरेका सानातिना गल्तीमा ‘एक्स्क्युज’ दिनु नै बुद्धिमानी हुन्छ । यसो गर्दा उनीहरूमा नैतिक दबाब पर्छ । उनीहरूलाई केही गर्न सकिनस्, अरूका छोराछोरी यस्ता छन् भन्नेजस्ता कमेन्ट कहिल्यै नगर्नुहोस् । यसरी गाली गर्दा उनीहरूमा ‘आइडोलोजी क्राइसिस’को महसुस हुन्छ । उनीहरूले केही त पक्कै राम्रो गरिरहेकै हुन्छन् । हो, यस्ता कुरामा जोड दिएर ‘यो त तिमीले राम्रो गर्‍यौ, यहाँचाहिँ अलिकति पुगेन नि’ भन्दा सकारात्मक प्रभाव पर्छ । तपाईंले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने उनीहरूलाई आफ्नो तर्फबाट सकेसम्म ‘फ्रिडम’ दिनुहोस्, तर, ‘वाच’ भने गरिरहनुहोस् ।

सीता गुरुङ, नुवाकोट (हाल काठमाडौं)
जिज्ञासा :
               म २७ वर्षकी भए । बिहे गरेको ६ वर्ष भयो । श्रीमानसँग चार वर्षको उमेर अन्तर छ । सुरुका चार वर्ष बच्चा नजन्माउने नै निर्णय गर्‍यौँ र अस्थायी साधनको रूपमा कण्डम प्रयोग गर्‍यौँ । गएका दुई वर्षदेखि भने हामी बच्चा जन्माउने प्रयासमा छौँ । तर, मेरो पेटमा गर्भ रहन सकिरहेको छैन । बाँझोपनको यो समस्याले हामी हैरान छौँ । के गर्दा बच्चा होला ?

प्रा.डा. जागेश्वर गौतम, स्त्रीरोग विशेषज्ञ
समाधान :
           बाँझोपन महिलामा मात्रै हुन्छ भन्ने अझै पनि धेरैको बुझाइ छ । तर, बाँझोपन पुरुषमा पनि हुन्छ । श्रीमान्को शुक्रकिटमा खराबी भएर, महिलामा डिम्ब नबन्ने समस्या भएर तथा महिला–पुरुष दुवैमा समस्या देखिएर बाँझोपन हुने गर्छ । तपाईंको पेटमा गर्भ नरहनुमा यी तीनमध्ये जुनकुनै कारण पनि हुनसक्छ । एकपटक पनि बच्चा नभएको तपाईंको समस्यालाई प्राथमिक बाँझोपन भनिन्छ ।
त्यसो त महिलाको हकमा डिम्ब उत्पादन नहुने समस्याबाहेक अन्य विभिन्न कारण गर्भ नरहन सक्छ । पाठेघरको नली नै बन्द हुनु वा घाउ हुनु, फेलिपिन ट्युब बन्द भएर संक्रमण हुनु पनि बाँझोपनका कारण हुन सक्छन् । पेटको कुनै पनि अपरेसन गर्नुभएको थियो भने पनि समस्याको एउटा कारण हुनसक्छ । अपरेसन गरे/नगरेबारे केही बताउनुभएको छैन । कुरा के हो भने, पेटको अपरेसनपछि निस्किने फोहोर तथा विकार पाठेघर र नलीको छेउछाउमा गएर बस्नसक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसकारण पनि भएको देखिएको छ । त्यसैगरी, इन्डोमेट्रियोसिसी (महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिने) समस्याले पनि गर्भ रहँदैन । यस्तो समस्या ७ प्रतिशतमा देखिएको छ ।
२०–३० प्रतिशतमा थाहा नभएका कारण पनि बाँझोपन हुन्छ । त्यो पत्ता लगाउन क्रोमोजोम हेर्नुपर्छ र अन्य हर्मोनहरूको पनि जाँच गर्नुपर्छ । यसमा पनि कतिपय कारण पत्ता लाग्छ, कतिपय लाग्दैन । पत्ता नलाग्ने अलिकति श्रीमान्को र अलिकति श्रीमतीको समस्या जुधेर हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् । तर, लामो समयसम्म पनि कारण थाहा भएन भने कृत्रिम गर्भाधानबाट बच्चा हुने सम्भावना हुन्छ । यसमा पनि एकैपटकमा सफल नहुन सक्छ, कोसिस गरिरहनुपर्छ । समस्या तपाईं या श्रीमान्मा या दुवैमा हो, पहिले चिकित्सकसँग थप परामर्श लिनुपर्छ । शुक्रकिट र डिम्बको अभाव छ भने बनाउने औषधि पनि
खान सकिन्छ ।


शिव भारद्वाज, कलंकी, काठमाडौं
जिज्ञासा :
              पुस्तक किन्न, संकलन गर्न र पढ्न निकै रहर लाग्छ । घरका दराजमा धेरै किताब पनि छन् । अब, घरकै एउटा कोठालाई लाइब्रेरी बनाउने योजना छ । वास्तुमा पनि विश्वास गर्ने भएकाले जान्न चाहन्छु, लाइब्रेरी राख्दा वास्तु कसरी मिलाउादा ठीक होला ?

चिरञ्जीवी भारद्वाज, ज्योतिष एवं वास्तुशास्त्री
समाधान :
               पुस्तक ज्ञानको प्रतीक हो । पुस्तक भनेको गुरु पनि हो । गुरु बस्ने स्थान भनेको पूर्व एवं उत्तर दिशाको मध्यभाग नक्षत्र हो । वास्तु एवं ज्योतिर्विज्ञानमा नक्षत्रलाई भाग्य स्थान अथवा भाग्यको कारक पनि मानिन्छ । त्यसैले पुस्तकालय राख्दा पूर्व–उत्तर दिशा, मध्य इशानमा राख्नु निकै राम्रो हुन्छ । यो सम्भव भएन भने पूर्व दिशामा उपयुक्त हुन्छ । पूर्व दिशामा पनि सम्भव हुँदैन भने उत्तर–पश्चिम दिशाको मध्यभागमा राख्न सक्नुहुन्छ ।
सरस्वती र लक्ष्मी दुवैको रूप हो पुस्तकालय । त्यसैले पुस्तकालय शास्त्रीय आधारमा निर्माण भएको छ भने घरका मानिसको अध्ययनप्रति रुचि बढ्छ ।
पुस्तकालयमा पुस्तक छरपस्ट नहुने गरी मिलाएर राख्नुपर्छ । पुस्तकालयमा बसेर पढ्दा पनि विचार पुर्‍याउन वास्तुले भनेको छ । पढ्ने व्यक्तिको मुख इशान दिशातर्फ फर्केको हुनुपर्छ । यदि इशानतिर सम्भव भएन भने पूर्व दिशा पनि उपयुक्त मानिन्छ । दक्षिण–पश्चिम र नैऋत्य कोणमा बसेर गरेको अध्ययन फलदायी नहुने वास्तुशास्त्रमा उल्लेख छ ।

No comments:

Post a Comment