Thursday, November 17, 2016

आयुर्वेदिक औषधि जथाभावी खान हुँदैन

Posted by: Naya Patrika March 18, 2016

आयुर्वेदसम्बन्धी धारणा
एकजना शिक्षक विगत तीन महिनादेखि उच्च रक्तचाप घटाउन जडीबुटीबाट निर्मित औषधि नियमित सेवन गर्दै आइरहेका छन् । आयुर्वेदिक औषधि खाएर रक्तचाप नियन्त्रण भएपछि एलोपेथिक छोड्ने सोचाइमा उनी थिए । उनी भन्दै थिए, ‘जडीबुटीबाट निर्माण गरेको औषधि सेवन गर्दा साइड इफेक्ट पनि हुँदैन । जतिवेला खाए पनि हुन्छ ।’ उनको जस्तो धारणा अहिले धेरैमा विकास भएको पाइन्छ । तर, हर्बल प्रयोगले प्रेसर घट्यो भन्दैमा एलोपेथिक औषधि छोड्न हुँदैन भन्दा धेरैले मान्दैनन् । हर्बलले रोग कम भयो भन्दैमा कुनै पनि गहन रोगको बिरामीले नियमित सेवन गरिरहेको औषधि खान
छोड्नु हुँदैन ।
के साइड इफेक्ट हुँदैन ?
आम सर्वसाधारणमा आयुर्वेदिक औषधिको सेवनले साइड इफेक्ट हुँदैन भन्ने धारणा पाइन्छ । त्यसकारण पनि आयुर्वेद औषधि वा जडीबुटीबाट निर्मित औषधिको नाममा मोटोपन घटाउने, यौन दुर्बलता बढाउने, उचाइ बढाउनेजस्ता विज्ञापन सञ्चारमाध्यमबाट आइरहेका छन् । जडीबुटी एवं आयुर्वेदिक औषधिको नाममा विज्ञापनको भरमा धेरै औषधि बिक्री भइरहेका छन् । विभिन्न पसलमा पनि जडीबुटीको नाममा आयुर्वेदिक औषधि उपभोक्तालाई आफूखुसी प्रयोग गर्न सल्लाह दिने चलनले पनि प्रश्रय पाइरहेको छ । तर, कहाँ बनेको हो ? त्यसको सम्मिश्रण के हो ? यस्तो धेरैले ख्याल गरेको पाइँदैन । विज्ञापनको आकर्षणमा परेर औषधि किनेर खाने बानीले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । राम्रोसँग परीक्षण नगरी औषधि खाँदा आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्छन् भन्ने ख्याल गरेको पाइँदैन ।
नेपालमा जडीबुटीको अवस्था
नेपालमा उपलब्ध विभिन्न सम्पदाहरूमध्ये जडीबुटी एक महत्त्वपूर्ण सम्पदा हो । नेपालका जडीबुटीहरू अमूल्य छन् । जैविक विविधताको हिसाबले एसियामै नेपाल दशौँ स्थानमा पर्छ । देशका विभिन्न भागमा औषधिको दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने करिब सात सय प्रजातिका जडीबुटी पाइन्छन् । ग्रामीण भेगका जनता स्वास्थ्य उपचार एवं आयआर्जनका हिसाबले यिनै जडीबुटीहरूमा नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आश्रित छन् । २५ प्रतिशतभन्दा बढी एलोपेथिक औषधिको स्रोत यस्तै वनस्पति मानिन्छ । औषधिजन्य एवं सुगन्धित तेललगायत विभिन्न जडीबुटी नेपालबाट भारतलगायत अरू विदेशी मुलुकमा निर्यात हुन्छ । करिब ९० प्रतिशतभन्दा बढी औषधिजन्य वनस्पति जंगलबाट संकलन गरिन्छ । तर, नेपालमा यस्ता जडीबुटीको असाध्यै न्यून मात्रामा व्यावसायिक खेती गरेको पाइन्छ । हिमाली जडीबुटीहरूमा कुनै रासायनिक तत्त्व नहुने, खाद्य एवं औषधिको दृष्टिकोणले पाश्र्व प्रभाव नहुने हुँदा विश्व बजारमा यसको माग बढ्दै गइरहेको छ । जंगलमा औषधिजन्य वनस्पतिको दोहन गर्ने कार्य तीव्र रूपमा बढेको छ । जसले गर्दा जडीबुटीहरू लोपोन्मुख अवस्थामा पुगेका छन् ।
विश्वमा यसको प्रयोग 
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा बढी नेपाली प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा जडीबुटीद्वारा निर्मित औषधि प्रयोग गर्दछन् । खासगरी पश्चिमाहरूमा पनि जडीबुटीबाट निर्मित औषधिप्रतिको आकर्षण बढ्दै गइरहेको छ । संगठनले विश्वमा परम्परागत एवं वैकल्पिक चिकित्सा पद्धतिसँग सम्बन्धित जडीबुटी निर्मित औषधिको ६ सय अर्ब डलरबराबरको कारोबार भएको अनुमान गरेको छ । क्यानडा, फ्रान्सलगागतमा ५० प्रतिशतभन्दा बढी जनताले जडीबुटीद्वारा निर्मित औषधि प्रयोग गर्दछन् ।
स्थानीय रूपमा नै तुरुन्त प्राप्त गरी सर्वसाधारणले प्रयोग गर्न सक्ने र आधुनिक चिकित्सा पद्धति सुलभ नभएको ठाउँमा स्थानीय जडीबुटी प्रयोग गर्न सकिन्छ । एक तथ्यांकअनुसार नेपालमा चार हजारभन्दा बढी हस्तलिखित ग्रन्थहरू र चौध हजारभन्दा बढी परम्परागत औषधि निर्माण सूत्र छन् ।
४० हजारभन्दा बढी परम्परागत स्वास्थ्यकर्मी समुदायमा राम्रो विश्वास र प्रतिष्ठा कमाएका छन् । अधिकांश ग्रामीण भेगका मानिसले जस्तोसुकै खालका स्वास्थ्य समस्या देखिएमा पनि सबभन्दा पहिले यिनै परम्परागत स्वास्थ्यकर्मीको सेवा लिने गरेको पाइन्छ । उनीहरूलाई व्यवस्थित रूपमा ज्ञान र सीप दिन सकिएको छैन । उनीहरूको सेवाका कारण जनस्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्छ । अर्कातिर उनीहरूले गर्ने कार्यप्रति सक्रिय तथा समयानुकूल ज्ञान, सीप र प्रविधिलाई लिपिबद्ध गर्न पनि जरुरी छ ।
के छ स्वास्थ्य नीतिमा ?
स्वास्थ्य नीति—२०७१ मा पनि स्थानीय रूपमा उपलब्ध जडीबुटीहरूको संरक्षण र समुचित प्रयोगका लागि विशेष योजना तथा कार्यक्रमसहित निजी तथा सरकारी आयुर्वेदिक औषधि उत्पादकहरूको उत्पादनको गुणस्तरीयताको सुनिश्चित गर्दै उत्पादन वृद्धि र व्यवसायीकरणमा जोड दिइनेछ भनिएको छ । आयुर्वेद तथा जडीबुटीका नाममा हुने अनुचित गतिविधिलाई नियमन गरी आयुर्वेद स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा विशेष ध्यान दिइने उल्लेख गरिएको छ । स्वास्थ्य नीति २०७१ ले जडीबुटीको उचित प्रयोग तथा गुणस्तरीय आयुर्वेद औषधि उत्पादन र जडीबुटीका नाममा हुने अनुचित गतिविधिलाई नियमन गर्ने विषयलाई जोड दिएको छ ।
अब के गर्ने ?
जडीबुटीनिर्मित औषधिको निर्माणदेखि उपभोक्ताले प्रयोग गर्ने अवस्थासम्म गुणस्तरीयतालाई ख्याल गर्न जरुरी छ । औषधि व्यवस्था विभागले गुणस्तरीय औषधि उत्पादनका लागि पनि कुशल औषधि निर्माण (जिएमपी)मा जाने सोच बनाएको छ ।
सिंहदरबारबाट वैद्यखानाजस्तो अर्धसरकारी उत्पादक संस्थाबाट योजनाबद्ध रूपमा औषधिको गुणस्तरीय उत्पादनका लागि जिएमपीमा लैजानुपर्ने जरुरी छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन, विकास र अनुसन्धानमा राज्यको लगानी अपर्याप्त हुने हुँदा निजी तथा वैदेशिक लगानीको सम्भाव्यता अध्ययन गरी सहकार्य र साझेदारी बढाउनु जरुरी देखिन्छ । जडीबुटीको समुचित प्रयोग तथा गुणस्तरीय बनाउन र जडीबुटीको नाममा हुने अनुचित गतिविधिलाई रोक्न आयुर्वेद विभाग, औषधि व्यवस्था विभाग र वनस्पति विभागलगायत अन्य सम्बन्धित सरोकार निकाय, नागरिक समाज एवं निजी क्षेत्र योजनाबद्ध ढंगले लाग्नुपर्ने जरुरी छ ।
अयुर्वेद किन ?
विश्व स्वास्थ्य संगठनले विकासशील राष्ट्रहरूमा परम्परागत चिकित्सा पद्धतिमा आधारित जडीबुटीबाट गरिब जनताको स्वास्थ्य सेवाको पहुँच बढाउने कुरामा जोड दिएको छ । यसलाई विश्वसनीय, प्रभावकारी एवं गुणस्तरीय बनाउने विषयमा पनि जोड दिएको छ । नेपालमा आवश्यक संयन्त्र र प्रभावकारी रूपमा अनुगमन नहुँदा जडीबुटी एवं आयुर्वेदिक औषधिको नाममा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने खतरा देखिएको छ ।
यी कुरा बुझिराखौ
  • आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन ।
  • उत्पादन तथा मिति नभएका, औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन ।
  • कतिपय आयुर्वेदिक औषधिहरू विशाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि सेवन गर्नुपर्छ ।
  • सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ ।
  • कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ । तर, हर्बल प्रयोग गर्दा एलोपेथिक औषधि छोडेको पाइन्छ । त्यस्तो गर्न हुँदैन । छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ ।
  • कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्दछ । त्यसकारण कुन औषधि सेवन गर्ने या नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।

No comments:

Post a Comment