Tuesday, November 15, 2016

नवजात शिशुले हरियो बान्ता गरे खतरा

Posted by: Naya Patrika June 6, 2016

डा. आरपी चौधरी
बाल–शल्यचिकित्सक,
कान्ति बाल अस्पताल
नवजात शिशु (जन्मिएको २८ दिनसम्मको) बच्चा हुर्काउन गाह्रो हुन्छ । चिसोका कारण निमोनिया हुने, जन्डिस, ज्वरो आदिको संक्रमण हुने सम्भावना बढी हुन्छ । साथै, बाह्य वातावरणका कारण विभिन्न किसिमका संक्रमण पनि हुनसक्छ । बच्चा जन्मिसकेपछि देखिने संक्रमण या समस्यासागै कतिपय नवजात शिशुमा जन्मजात केही यस्ता समस्या पनि हुन सक्छ, जसलाई तत्काल शल्यक्रिया नगर्दा बच्चाको ज्यानै जाने खतरा हुनसक्छ ।
आन्द्रासम्बन्धी
आन्द्राको प्वाल नभएको (एस्ट्रेजिया)कतिपय बच्चाको जन्मदा नै आन्द्रामा प्वाल नै हुँदैन । विशेषगरी, यस्तो समस्या सानो आन्द्रामा हुन्छ । यसलाई चिकित्सकीय भाषामा आइलियल एट्रेजिया भनिन्छ । यस्तो समस्या भएका बच्चाको प्वाल नभएको जति आन्द्राको भाग काटी प्वाल भएको नलीलाई जोड्नुपर्ने हुन्छ ।
खानानली र श्वासनली जोडिएको 
(इसोफेजल एट्रेजी)
नवजात शिशुको आन्द्रामा देखिने समस्यामध्ये यो दोस्रो नम्बरमा पर्दछ । गर्भावस्थामा कुनै कारणले बच्चाको श्वासनली र खानानली छुट्टिन सक्दैन र एकैठाउँमा जोडिन्छ । यस्तो अवस्थामा बच्चाले आमाको दूध चुसे तापनि तल जान पाउँदैन । बच्चाले तत्काल बमिट गरिदिन्छ भने श्वास फेर्न पनि गाह्रो हुन्छ ।
आन्द्रामा नसाको कमी (हर्सस्पङ डिजिज)
कतिपय बच्चा जन्मदा नै उसको आन्द्रामा नसाको कमी हुन्छ । यस्तो समस्या धेरैजसो ठूलो आन्द्रामा देखिन्छ भने अपवादको रूपमा सानो आन्द्रामा पनि देखिने गरेको छ । नसाको कमी भएका बच्चाले जन्मिएको लामो समयसम्म पनि दिसा गर्दैनन् । दिसा नगरेपछि आन्द्रामा संक्रमण हुने सम्भावना धेरै हुन्छ ।
बच्चा जन्मिएको २४ घन्टासम्म पनि दिसा नगरे, पेट फुल्ने र बान्ता गर्न सुरु गरेमा समयमा नै जाँच गरी उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्या भएका बच्चाको तत्काल ठूलो आन्द्राबाट दिसा गर्ने वैकल्पिक नली निकाल्नुपर्ने हुन्छ ।
आन्द्राको समस्या थाहा पाउने तरिका
  • आन्द्रासम्बन्धी समस्या भएको नवजात शिशुले हरियो बान्ता गर्छन् ।
  • स्तनपान गर्दा बारम्बार सर्किने हुन्छ ।
  •  पेट फुल्ने र ढाडिने हुन्छ ।
  •  जन्मिएको २४ घन्टाभित्र पनि दिसा नगरे यस्ता समस्या हुनसक्छ ।
  •  श्वास फेर्न गाह्रो हुन्छ ।
  •  बिस्तारै बच्चाको शरीरमा पानीको कमी हुन्छ ।
  •  विभिन्न किसिमका जीवाणुको संक्रमण हुन थाल्छ ।
अनिवार्य गर्भ जाँच
गर्भ बसेपछि नियमित जाँच गराइरहनुपर्छ । बच्चाले आमाको गर्भमा १२ देखि २० हप्ताभित्रमा आकार लिइसकेको हुन्छ । त्यही भएर १८ हप्ताको गर्भ रहँदा अल्ट्रासाउन्ड (भिडियो एक्सरे)द्वारा बच्चाको अवस्था जाँच गर्नुपर्ने हुन्छ । यो एकदमै राम्रो समय मानिन्छ । यस अवधिमा नै बच्चाका अंगहरू निर्माण हुने गर्दछ । त्यही अवस्थामा बच्चाका अंगहरू कस्ता छन्, थाहा हुन्छ । बच्चाको कुनै अंगमा समस्या देखिए तत्काल चिकित्सकसँग सल्लाह लिएर अगाडि बढ्न अभिभावकलाई सहज पनि हुन्छ ।
मलद्वारमा प्वाल नभएको/दिसा–पिसाब एकैठाउँबाट जाने
सामान्य रूपमा विकास हुने प्रक्रियामा गर्भावस्थामा नै कुनै कारणले बाधा व्यवधान भएमा बच्चामा यस्तो समस्या देखिन्छ । समय नै नपुगी जन्मिएको बालक, कम तौल जन्मिएको बालक या अघिल्लो गर्भमा केही त्यस्ता संकेत भएका बच्चामा यस्तो समस्या हुनसक्छ ।
लिंगमा विकृति
बच्चा जन्मादा कहिलेकाहीँ पिसाब फेर्ने प्वाल ठीक ठाउँमा नभएको हुनसक्छ, कतिपयको भने लिंग बांगो पनि हुन्छ । यस्तो बच्चाको पनि शल्यक्रिया गरी उपचार हुन्छ ।
किड्नी–पिसाब नलीमा समस्या
बच्चा जन्मादा नै किड्नी सुन्निने या पानी जम्ने समस्या पनि हुन्छ । यस्तोलाई हाइड्रो नेफ्रोसिस भनिन्छ । कहिलेकाहीँ बच्चा जन्मदा नै पिसाब बग्ने बाटोमा पर्दा लाग्न सक्छ । जसका कारण पिसाब फेर्न समस्या हुने या कम पिसाब फेर्ने हुन्छ । लामो समय पिसाब फेर्न नसक्दा किड्नीमा समस्या हुनसक्छ । त्यसकारण यस्ता समस्या थाहा हुनासाथ तत्काल शल्यक्रिया गरी पर्दा हटाउनुपर्छ ।
पिसाबमा संक्रमण
बच्चामा बारम्बार पिसाबमा संक्रमण देखिनु पनि उसको अंगमा भएको खराबीले हुनसक्छ । फोहोर तथा धमिलो पिसाब छिनछिनमा फेर्ने, ज्वरो आउने, बान्ता गर्ने, पिसाब चुहिने, पिसाब टाढा फाल्न नसक्ने समस्या भए अंगको खराबी पनि हुनसक्छ ।
अन्य समस्या
ट्युमर : नवजात शिशुमा पिठ्युँमा ट्युमर (टेराटोमा) भए पनि उच्च जोखिम हुन्छ । यस्तो शिशुको तीन महिनाभित्र शल्यक्रिया गर्नुपर्छ । नत्र क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
ओठको खुाडे : कतिपय बच्चा ओठ तथा तालु खुँडे पनि जन्मन्छन् । उनीहरूलाई भने अलि ठूलो भएपछि शल्यक्रिया गरी उपचार गर्नुपर्ने हुन्छ ।
प्रस्तुति : भिषा काफ्ले

No comments:

Post a Comment