Tuesday, November 15, 2016

आयुर्वेदिक जीवनपद्धति

आयुर्वेदिक जीवनपद्धति

नेपाली समाजमा आयुर्वेद चिकित्सा पद्धति प्राथमिक स्वास्थ्य उपचारको मुख्य आधार बनेको छ । अझ पछिल्लो समय यो चिकित्सा पद्धतिप्रति नेपाली जनताको आस्था र विश्वास बढ्दो छ । नसर्ने रोगहरूको प्रकोप बढ्दै जाादा हाम्रो समाज मात्र नभएर पश्चिमाहरू पनि यो पद्धतिमा आकर्षित भएका हुन् । क्यान्सर, मधुमेह, मुटुरोग, मानसिक रोग तथा पक्षघातजस्ता रोगको रोकथाममा आयुर्वेदिक चिकित्सा पद्धतिले मुख्य भूमिका खेलेको छ । यस्ता रोग लागिसकेपछि सामाजिक तथा आर्थिक रूपमा बोझ बढी हुने हुादा पनि रोकथाम गर्न यो पद्धतिप्रति विश्वास बढेको हो । लामो समयसम्म रासायनिक औषधि (एलोप्याथिक)को प्रयोग गर्दा हुने यसको पाश्र्वप्रभावले गर्दा पनि आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा विधिप्रति मानिसको रुचि बढेको हो । पूर्वीय आयुर्वेद दर्शनका संयमित जीवनशैली, उचित आहार–विहार र योग प्राणायामजस्ता स्वास्थ्य रक्षाका विधि र तनाव व्यवस्थापन तथा शाकाहारी खानामा जोड दिइएको छ । तसर्थ, स्वास्थ्य प्रवद्र्धन र रोगको रोकथाम गर्न आयुर्वेद चिकित्साको भूमिका के हुनसक्छ ? सबै चिकित्सा विज्ञान एकआपसमा कसरी परिपूरक हुन सक्छन् भन्ने विषयमा गम्भीर छलफल हुनु जरुरी छ ।
एलोपेथिक चिकित्सा
यो पद्धति विशेषगरी सरुवा तथा संक्रमणजन्य रोग, शल्यक्रिया तथा आकस्मिक स्वास्थ्य सेवामा प्रभावकारी छ । विश्वमा यही प्रणालीलाई मुख्य स्वास्थ्य उपचार प्रणाली मानिएको छ । तर, यो अत्यन्तै प्रविधिकेन्द्रित, महँगो र गरिब जनताको पहुँचबाहिरको प्रणाली पनि हो ।
अक्युपंचर
नसासम्बन्धी रोगमा चिनियाँ अक्युपंचर पद्धति प्रभावकारी मानिन्छ । क्यान्सरको केमोथेरापी, बिरामीको दुखाइ र नसासम्बन्धी रोग– जस्तै, पक्षघात, कानको समस्या, माइग्रेन र मुख बांगो हुनेजस्ता समस्यामा यो पद्धतिद्वारा उपचार गरिँदै आएको छ ।
योगासन र प्रणायाम
आरोग्य, आत्मविकास र बौद्धिक मनोबल वृद्धि तथा चित्तशुद्धि गर्न यो विधि उपयोगी छ । त्यसैले यी चिकित्सा प्रणालीलाई पूरक रूपमा पनि लिइन्छ । खासगरी तनाव, रिस, डर, लोभ, आशक्ति, चिन्ताबाट उन्मुक्ति दिई मानसिक स्वास्थ्यका लागि यो विधि उपयोगी मानिन्छ ।
आयुर्वेद
उच्च रक्तचाप, हृदयघात, मधुमेह, बाथ, मिर्गौलाको स्याहार, दम, पिनास, माइग्रेन, पक्षघात, डन्डिफोर, पिनासलगायत स्वस्थ व्यक्तिमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक जडीबुटीका साथै आयुर्वेदमा पञ्चकर्म पद्धतिको उपचार विधि विश्वसनीय मानिन्छ । विशेषज्ञ चिकित्सकको निगरानीमा गरिने शारीरिक शुद्धीकरणलाई पञ्चकर्म भनिन्छ । यो पद्धति व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग हुँदै आएको छ । पञ्चकर्ममा (क) बमन (औषधि प्रयोग गरी उल्टी गराउने) (ख) विरेचन (औषधि प्रयोग गरी झाडा लगाउने) (ग) बस्तीकर्म (औषधि प्रयोग गरी तल्लो भागबाट विकार हटाउने) घ) नश्यकर्म (घाँटीभन्दा माथिका सबै समस्यामा सेकेर औषधि वा सोसँग सम्बन्धित वाष्प नाकबाट तान्ने कार्य) (ङ) रक्तमोक्षण (शरीरमा विकारलाई हटाई शुद्ध गर्ने क्रिया) हुन्छ ।
(क) जडीबुटी
स्थानीय रूपमा सर्वसुलभ, सर्वसाधारणले प्रयोग गर्नसक्ने र आधुनिक चिकित्सा पद्धति सुलभ नभएको ठाउँमा स्थानीय जडीबुटी प्रयोग गर्न सकिन्छ । यसमा आफ्नै स्रोत र साधन भएकाले अन्य बाहिरी मुलुकको भर पर्न पर्दैन । आयुर्वेद चिकित्सामा ‘स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रसमनम्’ भन्ने सिद्धान्तलाई जोड दिइएको छ । यसको अर्थ स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचार गर्ने हो । हर्रो, अमला, गुर्जो, कुरिलो, पुदिना, बेसार, टिमुरलगायत स्थानीय जडीबुटी उपयोगी हुन्छन् ।
(ख) दिनचर्या 
मानिस चाँडो सुत्ने, चाँडो उठ्ने, आँखा, मुख तथा छालाको हेरचाहलगायत दैनिक स्वस्थकर क्रियाकलाप– जस्तै, व्यक्तिगत सरसफाइ, व्यायाम, योग प्रणायाम, श्रम, आहार आदि दिनचर्याअन्तर्गत पर्दछन् । आयुर्वेदमा सात्विक भोजनलाई बढी जोड दिइएको छ । अचेल यसलाई एन्टिअक्सिडेन्ट खानाको रूप मानिएको छ ।
(ग) रात्रिचर्या
मैथुन र निद्राको विषयमा रात्रि नियम पालन गर्नुपर्छ । आयुर्वेदमा निद्रा, आहार र ब्रह्मचर्य पालन दीर्घायु र निरोगिताको महत्त्वपूर्ण पाटो मानिएको छ । निद्रा शारीरिक तथा मानसिक स्फूर्ति र नयाँ कोषको वृद्धिमा महत्त्वपूर्ण छ ।
(घ) ऋतुचर्या
ऋतुअनुसार पालन गर्नुपर्ने आहार–विहारलाई यसमा जोड दिइएको छ । जस्तै, प्राकृतिक रूपमा ऋतुअनुसारको सागसब्जी, फलफूल, तरकारी, अन्न आदि सेवन गर्ने । ६ ऋतुमा आहार–विहारलगायत क्रियाकलापबारे पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।
(ङ) बाजीकरण एवं रसायन
आयुर्वेद चिकित्सा ग्रन्थमा यौनक्षमता वृद्धि गर्न बाजीकरण (यौनक्षमता वृद्धि तथा यौनक्रियालाई आनन्दमय बनाउने चिकित्सा विधि) प्रयोग हुँदै आइरहेको छ । यौनलाई आनन्दमय, सुखमय र गुणवान् सन्तान जन्माउन विशेष आहार, औषधि (काउछो, अश्वगन्धा, मुसली, अमला) र पञ्चकर्म विधि अत्यन्तै उपयोगी छन् । निद्रा, आहार र ब्रह्मचर्य पालन दीर्घायु र निरोगिताको महत्त्वपूर्ण पाटो मानिएको छ ।
(च) आचरण स्वास्थ्य
मानसिक वा शारिरीक रुपमा स्वस्थ रहन सद्वृत्त (असल आचरण) महत्वपुर्ण हुन्छ । असल
आचरणले शारीरिक, मानसिक, वैयक्तिक, सामाजिक र चारित्रिक जीवन पूर्ण सफल हुनसक्छ । आचार रसायन पनि महत्त्वपूर्ण छ । हरेक युवामा तनाव, अनुचित आहार–विहार, शारीरिक कसरतको कमी, अल्छीपन, धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन आदि कारणले किशोरकिशोरीहरूलाई आचरण रसायन महत्त्वपूर्ण छ ।
(छ) व्यायाम
यसले शरीरका विभिन्न अंगमा रक्तसञ्चार क्रिया प्रवाह हुन्छ । यसले पाचन अग्नि (पचाउन सक्ने क्षमता) बढाउँछ । शरीरलाई फुर्तिलो बनाउँछ । व्यायामका वेला अक्सिजन प्रशस्त मात्रामा रगतबाट सञ्चार हुने भएकाले विकार वस्तु निष्काशन हुन्छ । मुटु, फोक्सो एवं अन्य महत्त्वपूर्ण अंगमा प्रशस्त मात्रामा रगत बग्ने भएकाले कोषहरूले प्रशस्त पोषण प्राप्त गर्छन् ।
(ज) महिला स्वास्थ्य प्रवद्र्धन
गर्भिणी परिचर्या (महिलाको पेटमा बच्चा रहेको अवस्था), सूतिका परिचर्या (सुत्केरी भएको अवस्थामा पालन गर्नुपर्ने नियम), रजनोवृत्तिचर्या (महिनावारी सुकेको अवस्थामा पालन गर्नुपर्ने नियमहरू) पालन गर्दा महिलाको प्रजनन स्वास्थ्यमा सुधार आउँछ । रसायनयुक्त जडीबुटी, खानपान र जीवनशैली शिक्षा, स्वास्थ्य प्रवद्र्धन कार्यक्रम आदि महिला स्वास्थ्य प्रवद्र्धनमा महत्त्वपूर्ण हुन सक्छन् ।
तर, यो पूरा गर्न राज्यको प्रतिबद्धता, गैरसरकारी संघसंस्थाहरूको नवीन प्रयोगको खोजी र यस क्षेत्रका व्यवसायीहरूमा इमानदारिता आवश्यक छ । अस्पताल, शैक्षिक संस्थाहरूमा अनुसन्धानात्मक कार्य थालनी हुनु जरुरी छ । नयाँ नेपाल निर्माणसँगै राज्यले देशको मौलिक चिकित्सा पद्धतिको विकास योजनासहितको प्रतिबद्धता आउनु जरुरी छ ।
डा. राजेन्द्रकुमार गिरी
प्रबन्ध निर्देशक
सिंहदरबार वैद्यखाना विकास समिति

No comments:

Post a Comment