Thursday, November 17, 2016

युवामा हुन सक्छ बाइपोलर इल्नेस

Posted by: nayapatrika February 20, 2016 

dr suman
डा. सुमन अर्याल मनोचिकित्सक, मानसिक अस्पताल, लगनखेल
बाइपोलर इल्नेस एक किसिमको कडा मानसिक रोग हो । नकारात्मक सोचाइ, दैनिक गतिविधि, निद्रामा गडबडी भई मन असन्तुलित हुनु यो रोगको लक्षण हो । कहिले धेरै उदासीपन तथा कहिले असामान्य रूपमा मन रमाउने पनि हुन्छ ।  जीवनभरिमा यो रोग लाग्न सक्ने सम्भावना ०.३५ देखि १.५५ प्रतिशतसम्म हुन्छ । बाइपोलर इल्नेस पनि बाइपोलर–१ र बाइपोलर–२ गरी दुई प्रकारका छन् । यो रोग लाग्न सक्ने औसत उमेर  २०/२१ वर्षमा हो । यो रोग महिला वा पुरुष दुवैलाई समान रूपमा लाग्न सक्छ ।
रोगको कारण
यो रोग लाग्ने कारणका बारेमा वैज्ञानिक तथा चिकित्सकहरूले अनुसन्धान गरिरहेका छन् । जैविक, सामाजिक, मनोवैज्ञानिक असरका कारणले यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । जैविकअन्तर्गत वंशानुगत, मस्तिष्कका विभिन्न भागमा रासायनिक पदार्थको मात्रामा आएको असन्तुलन, मस्तिष्कको संरचनामा असन्तुलन वा गडबडी आदि पर्दछ ।  सामाजिक कारणअन्तर्गत बेरोजगारी, असन्तुलित सम्बन्धहरू, बिग्रँदो पारिवारिक तथा साथीभाइसँगको सम्बन्ध आदि पर्छन । त्यस्तै, मनोवैज्ञानिक कारणअन्तर्गत आत्मसम्मानमा ठेस पुग्नु, व्यक्तित्वमा बिचलन, अन्तर्मनको द्वन्द्व आदि पर्दछन् ।
रोगका लक्षण
रोगको चरणअनुसार बिरामीमा विभिन्न किसिमका लक्षण  देखापर्न सक्छन्
पहिलो चरणमा देखापर्ने लक्षण
  • अस्वाभाविक रूपमा मन रमाउनु वा अत्यधिक खुसी हुनु
  • अनावश्यक रूपमा धेरै रिसाउने वा अत्यधिक चिडचिड हुने
  • निद्रा धेरै कम लाग्ने तथा कम समय सुते पनि चुस्त स्फूर्त नै देखिनु
  • सामान्यभन्दा अत्यधिक बोलिरहने तथा जोसँग पनि कुरा गर्न खोज्ने
  • अत्यधिक सोचाइ आउने तथा मन धेरै अस्थिर तथा चञ्चल हुने
  • सामाजिक रूपमा अपाच्य हुने किसिमका गतिविधि गर्ने
  • अत्यधिक रूपमा यौन चाहना बढ्ने वा विपरीत लिंगीप्रति असामान्य रूपमा आकर्षण बढ्ने
    डिप्रेसिभ चरणमा देखिने लक्षण
  • धेरै उदासीन भइरहने
  • अनावश्यक रूपमा शरीर सिथिल हुने
  • पहिलेजस्तो जाँगर वा चाहना कुनै काममा नहुने
  • काममा ध्यान केन्द्रित नहुने तथा अनावश्यक रूपमा स्मरण शक्ति कमजोर हुने
  • अनावश्यक रूपमा हीनताबोध हुने
  • निराशावादी सोचाइ आइरहने तथा भविष्य अन्धकार देख्ने
  • निद्रा नलाग्ने, खान अरुचि हुने तथा यौन चाहना घट्दै जाने
  • आत्मविश्वास घट्दै जाने
  • बाँच्ने चाहना नहुने तथा आत्महत्याका सोचाइ आउने
रोगको उपचार
मानसिक तथा शारीरिक स्वास्थ अवस्थाको परीक्षण गर्ने । शारीरिक आवरण, मनको अवस्था, सोचाइमा देखिएको असन्तुलन तथा अरू लक्षणका बारेमा जानकारी लिएर रोगको निदान गर्ने गरिन्छ्र । अन्य शारीरिक रोग तथा नशालु पदार्थको सेवनबाट पनि यो रोगका लक्षण देखिन सक्ने हुनाले बाइपोलर इल्नेसको परीक्षण गर्नुपर्ने हुन्छ ।
बाइपोलर इल्नेसको उपचार रोगको चरणसँग सम्बन्धित छ । अन्य पक्षहरू जस्तै रोगको गहनता, मादक पदार्थको सेवन, रोगबाट प्रभावित व्यक्तिको व्यक्तित्व आदिले पनि उपचार प्रक्रियालाई प्रभावित पार्ने गर्छ ।
मुख्यतया औषधिको प्रयोग तथा मनोवैज्ञानिक पद्धतिद्वारा यो रोगको उपचार गरिन्छ ।  मनलाई सन्तुलनमा राख्ने औषधिमा  लिथियम, सोडियम इयोन, कारबम जेपिन तथा ओलनपाइन, रिस्पेरिडोन जस्ता एन्टिसाइकोसिस्ट र कहिलेकाहीँ एन्टिडिप्रेसन्स औषधि पनि प्रयोग गरिन्छ । मनोवैज्ञानिक पद्धतिअन्तर्गत कोग्निटिभ बिहेभिएर थेरापी, इन्टपर्सनल रिदम थेरापी, फ्यामिली थेरापीजस्ता पद्धति प्रयोग गरिन्छ । कहिलेकाहीँ इलेक्ट्रोकन्भुल्सिभ थेरापी पनि प्रयोग गर्ने गरिन्छ । परिवारका कुनै सदस्यमा यो रोग हुनु, व्यक्तित्वको असन्तुलित अवस्था, कम उमेरमा यो रोगबाट ग्रसित हुनु, धेरै उन्मादका लक्षणहरू देखा पर्नु, नशालु पदार्थको सेवन आदिले यो रोगको उपचारमा प्रतिकूल प्रभाव पर्छ ।

No comments:

Post a Comment