Tuesday, November 1, 2016

नेपालमा हात्तीपाइले जोखिम कति ?

नेपालमा हात्तीपाइले जोखिम कति ?
 0  0  0  0  0
भिषा काफ्ले –
सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने सरकारी लक्ष्य छ । तर, औषधि सेवनमा कम आकर्षण भएको तथ्यांक हेर्दा लक्ष्य प्राप्त गर्न कठिन छ । काठमाडौं उपत्यकामै पनि हात्तीपाइलेको औषधि सेवन गर्ने नागरिक ५० प्रतिशत नाघेका छैनन् । पछिल्लो सर्वेक्षणले काठमाडौं र भक्तपुरमा हात्तीपाइले परजीवी संक्रमणको अनुपात भने कम देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ललितपुरका ग्रामीण क्षेत्र भने निवारणको अवस्थाभन्दा धेरै माथि छन् । देशका तराईका जिल्लामा त संक्रणको दर निकै उच्च छ । पश्चिम तराई जिल्ला बर्दियामा हात्तीपाइले संक्रमणको प्रकोप ४० प्रतिशत देखिएको छ । देशभरमै परजीवी संक्रमण सरदरमा १३ प्रतिशत रहेको पाइएको छ ।
हात्तीपाइलेबाट प्रभावित ६१ जिल्लामा हरेक वर्ष औषधि खुवाउने विशेष अभियान चलाइँदै आएको छ । २५ जिल्लामा ६ पटकसम्म औषधि पुर्‍याइएको छ । यी जिल्लामा यो वर्ष भने औषधि वितरणको कार्यक्रम राखिएको छैन । अन्य ३५ जिल्लामा भने आज (फागुन २९ गते शनिबार)देखि तीन दिनका लागि अभियान सुरु भएको छ । कपिलवस्तुमा भने कार्यक्रम पछि धकेलिएको छ । ६ पटकसम्म औषधि पुर्‍याइसकिएका जिल्लामा सर्वेक्षण गर्दा संक्रमणदर कम भएको हात्तीपाइले कार्यक्रमका फोकल पर्सन तुलसीराम अधिकारी दाबी गर्छन् । ती जिल्लामा नियमित निगरानी चलाइएको उनले बताए । विश्व स्वास्थ्य संगठनका नेग्लेटेड ट्रपिजज विषय विज्ञ डा. केशवकुमार योगी पनि अधिकारीकै जस्तो दाबी गर्छन् । तर, तराईका जिल्लामा भने हात्तीपाइले निवारणको चुनौती रहेको उनको बुझाइ छ । ‘पछिल्लो सर्वेक्षण हेर्दा पहाडी जिल्ला निवारणको अवस्थामा आउन लागिरहेका छन्,’ उनले भने ‘तराईका कुनै जिल्लामा भने अझै ४० प्रतिशतसम्म संक्रमणको अवस्था छ ।’
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका मेडिकल अधिकृत डा. उत्तम घिमिरेका अनुसार ललितपुर उपमहानगरपालिकामा हात्तीपाइलेको परजीवी संक्रमण दर २ प्रतिशतभन्दा कम देखिएको छ । ग्रामीण क्षेत्रमा भने उच्च छ । ग्रामीण क्षेत्रमा यो वर्ष पनि अभियान सञ्चालन हुने घिमिरे बताउँछन् ।
के हो हात्तीपाइले ?
हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको उच्चेरेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोफ्टी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ । हात्तीपाइले रोग बाहिर नदेखिँदै औषधि खाएमा यो पूर्ण निको हुन्छ भने लक्षण बाहिर देखिइसकेपछि उपचार नै सम्भव नहुने डा. योगी बताउँछन् ।
जोखिममा को ?
यो रोग जुनसुकै उमेरका जोसुकैलाई पनि हुनसक्छ । लामखुट्टेको टोकाइबाट रोग सर्ने भएकाले केटाकेटी नै बढी जोखिममा हुन्छन् । तर, केटाकेटीमा संक्रमण भएको रोगको लक्षण भने जवान (वयस्क) भएपछि मात्र देखिन सक्छ।
लक्षण
तत्काल देखिने
जाडो महसुस हुनु, ज्वरो आउनु र शरीर कम्पन हुनु ।
लिम्फ नली सुन्निनु, रातो भएर दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु,
गीर्खा बढ्नु, दुख्नु ।
पुरुषको अण्डकोषवरपरका नसा फुल्नु–दुख्नु ।
उपचार नभएपछि
संक्रमणबारे थाहा नभएर वेलैमा उपचार नहुँदा अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र अण्डकोषवरिपरि पानी भरिनु ।
महिलामा यौनांग अथवा स्तन सुन्निनु–दुख्नु ।
गोडा सुन्निएर हात्तीको पाइलाजस्तो हुनु ।
हात सुन्निनु, पिसाब सेतो वा रातो आउनु ।
सुक्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु ।
रोगी अशक्त हुँदै जानु, दीर्घकालमा अपांगसमेत हुने खतरा ।
कस्तो हुन्छ औषधि ?
हात्तीपाइलेविरुद्ध दुई प्रकारका औषधि खुवाइन्छ ।
डिइसी चक्की
डिइसी (डाइइथाइलकार्बामाजिन) चक्की विश्वमा ६० वर्षअघिदेखि हात्तीपाइले रोगको उपचारार्थ प्रयोगमा आइरहेको औषधि हो ।
अलबेन्डाजोल चक्की
यो पनि २५ वर्षअघिदेखि पेट र आन्द्रामा हुने विभिन्न खालका जुकाका लागि प्रयोगमा आइरहेको औषधि हो ।
कसले नखाने
दुई वर्ष नपुगेका केटाकेटी ।
गर्भवती र ७ दिनसम्मका सुत्केरी ।
ओछ्यानमा थला परेका अशक्त ।
क्यान्सर, मुटु, कलेजो, मिर्गाैला, फोक्सोलगायतका दीर्घरोगी ।
कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिका ।
छारेरोगका बिरामी ।
यो पनि जानिराखौँ
हात्तीपाइलेको औषधि सेवनपछि कसैलाई सामान्य टाउको दुख्न सक्छ ।
पेट दुख्ने वा पखाला लाग्ने पनि हुन सक्छ ।
शरीरमा फाइलेरिया परजीवी भएकालाई औषधिले तिनको मृत्यु हुँदा ज्वरो आउन सक्छ ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट फुल्नेजस्ता लक्षण देखिन सक्छ ।
यस्ता असर एक–दुई दिनमा स्वत: ठीक हुन्छन् ।
यी असर देखिनुको अर्थ हुन्छ– शरीरमा परजीवी नष्ट हुँदै छ ।
धेरै नै असर निम्तिए चिकित्सकको सल्लाह लिनुपर्छ ।

No comments:

Post a Comment