Wednesday, November 16, 2016

बालबालिकामा बढी देखिन्छ ठेउला theula

Posted by: Naya Patrika May 7, 2016



डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
क्लिनिकल रिसर्च संयोजक,
टेकु अस्पताल
गर्मी सुरु भएसागै ठेउलाको प्रकोप बढ्ने गरेको छ । काठमाडौंलगायत नेपालका अन्य जिल्लामा पनि यसको प्रकोप बढ्दै जाने गरेको छ । यो वैशाख, जेठमा बढी देखापर्ने गरेको छ । ठेउला खासगरी प्राथमिक तहमा पढ्ने बालबालिकामा बढी देखिन्छ । यद्यपि, यो बालबालिकालगायत वयस्कमा पनि देखा परे उत्तिकै जोखिमयुक्त हुने गर्दछ । यसको संक्रमण बढी भएमा बिरामीको मृत्युसमेत हुने गर्दछ।
जोखिम समूह
ठेउलाको जोखिम एक वर्षमुनिका बालबालिका तथा पहिला कहिल्यै पनि संक्रमण नभएका वयस्कहरूलाई उच्च हुने गर्दछ । त्यस्तै, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई पनि जोखिम बढी हुने गर्दछ । बालबालिकामा संक्रमणको सम्भावना बढी हुने गर्दछ । संक्रमण भएका नवजात शिशुमा ३० प्रतिशत मृत्युदर देखिएको छ । छालामा ब्याक्टेरियाको फैलावट तथा अति जलवियोजन ठेउलाका प्रमुख कारण हुन् ।
ठेउलाबाट बालबालिका मात्र जोखिममा नभई वयस्कहरू पनि उत्तिकै जोखिममा हुने गर्दछन् । यो एकपटक संक्रमण भएको व्यक्तिको शरीरमा सुस्त अवस्थामा रहेको हुन्छ । जब कुनै कारणवश यसको सक्रियता बढ्छ, तब यसका लक्षण देखापर्दछन् । यसमा शरीरको पानीफोका चिप्लो तथा असाध्यै दुख्ने खालको बिबिरा देखापर्ने हुन्छ । यसलाई नेपालीमा जनै खटिरा पनि भन्ने गरिन्छ ।
यसको निदान
यसको पहिचान समान्यतया बिरामीको लक्षण तथा शरीरमा देखिएको बिबिराको प्रकृतिका आधारमा गर्ने गरिन्छ । यद्यपि, प्रयोगशाला निदान पनि गर्न सकिन्छ । ठेउला निदान गर्न एलिजा तथा पिसिआर विधिहरू प्रयोग गर्न सकिन्छ । यद्यपि, नेपालमा यी दुवै प्रयोगशाला विधि प्रयोग गर्ने गरेको पाइँदैन ।
के गर्ने ?
ठेउलाका लागि विशेष औषधि प्रयोग गर्ने गरिँदैन । साधारणतया घरमै अन्य व्यक्तिको सीधा संसर्ग नहुने गरी राख्नुपर्छ । त्यो अवस्थामा झोलीय पदार्थ सेवन गरी लक्षणका आधारमा औषधि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चिकित्सकको सल्लाहबमोजिम ठेउलाबाट हुने जोखिम न्यूनीकरणका लागि एन्टिबायटिक प्रयोग गर्नुपर्छ । यस्ता जोखिमको समयमा नै निदान तथा उपचार नहुँदा बिरामीको ज्यानै जान सक्ने भएकाले खोप नै यसको उपयुक्त विकल्प हुनसक्छ ।
रोकथाम
विकसित देशहरूमा ठेउला निदानका लागि खोप अनिवार्य भएकाले मृत्युदर पनि धेरै कम भएको पाइन्छ । तर, नेपालमा ठेउला खोपका बारेमा सर्वसाधारणले चासो लिएको देखिँदैन भने स्वास्थ्यकर्मीले पनि लगाउनुपर्ने सल्लाह दिएको पाइँदैन । यो हाल नेपालको राष्ट्रिय खोप कार्यक्रममा अनिवार्य गरिएको छैन ।
तर, यसको अवश्यकता बर्सेनि देखिने ठेउलाको प्रकोपले पनि देखाउँछ । यसको खोप दुईपटक दिने गरिन्छ । पहिलो खोप १२ देखि १५ महिनासम्म दिने गरिन्छ भने अर्को स्कुल जाने उमेर अर्थात् चारदेखि ६ वर्षको उमेरमा दिने गरिन्छ । खोप लगाउँदा ठेउला कहिल्यै नआउने भन्ने नभए तापनि दोस्रोपटक संक्रमण भएमा यसले कडा रूप लिन पाउँदैन । तसर्थ, यसलाई पनि राष्ट्रिय खोप कार्यक्रममा
अनिवार्य राखिनुपर्छ ।
अनुसन्धान आवश्यक
एक तथ्यांकअनुसार अमेरिकामा तीनजनामध्ये एकजनालाई जीवनमा एकपटक आउने गरेको देखिन्छ । तर, नेपालमा यसबारे अनुसन्धान गरिएको छैन । नेपालका कतिपय स्थानमा यसलाई जनै खटिरा भन्ने गरिन्छ । यद्यपि, अस्पतालमा यस्ता जनै खटिराका बिरामीको संख्या कम नभएको अनुमान भने गर्न सकिन्छ । त्यसका साथै एचआइभी संक्रमण भएकामध्ये धेरैमा यस्तो समस्या देखिने गरेको पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा यो देखिने गर्दछ । यसले वयस्कहरूमा खासगरी आँखाको ज्योति गुम्ने हुन्छ भने नसालाई पनि असर पारेको देखिन्छ ।
साथै, दिमागमा जटिलता ल्याइदिन सक्छ । यस्तो अवस्थामा एन्टिभाइरल औषधि तथा आवश्यकताअनुसार एन्टिबायटिकको प्रयोग गर्नुपर्ने हुन्छ । र, यसका लागि पनि खोपको प्रयोग गर्नु नै उचित देखिन्छ । खासगरी, दुई डोज चार हप्ताको फरकमा दिनु उपयुक्त हुन्छ ।
ठेउलाबाट हुने मृत्युदर अरू रोगको तुलनामा कम भए तापनि यसबाट बर्सेनि हजारौँ बालबालिका प्रभावित हुने गरेको देखिन्छ । यसबाट हुनसक्ने अंगभंगलाई ध्यान दिई यसबारे जनचेतना जगाउन जरुरी हुन्छ । स्वास्थ्यकर्मी पनि यसको नियन्त्रणमा लाग्नुपर्ने हुन्छ । सरकारले नियमित खोप कार्यक्रममा यसको खोप पनि दिन सुरु गर्नुपर्छ ।
के हो ठेउला ?
ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुका कारण हुने गर्दछ । यो बिरामीले खोक्दा, बोल्दा तथा बिरामीको पानीफोका छुँदा पहिले कहिल्यै पनि ठेउला नआएको व्यक्तिलाई सरेर लक्षणहरू देखापर्न सक्छ । ठेउला शरीरमा बिबिरा देखिएको एकदेखि दुई दिनअगाडिदेखि संसर्गमा भएका व्यक्तिहरूमा पनि सर्न सक्दछ । साथै, पानी फुटेर सुकुन्जेलसम्मको अवस्थामा पनि सर्ने सम्भावना उच्च रहन्छ । यो संक्रमणपछि बिबिरा बिरामीको अनुहारदेखि घाँटी हुँदै छाती तथा शरीरका सबै अंगमा देखापर्दै जान्छ । ज्वरो आउनु, थकान महसुस हुनु, टाउको दुख्नु यसका प्रमुख लक्षण हुन् । बिबिरा आउने–जाने क्रम झन्डै १० देखि २१ दिनभित्रमा देखापर्ने गर्दछ ।

No comments:

Post a Comment