Wednesday, November 16, 2016

क्यान्सरका डाक्टर : जसको परिवारका ४९ जनालाई लाग्यो क्यान्सर

प्रा. डा. राजेन्द्र बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

Posted by: Naya Patrika  May 4, 2016

नेपालमा अझै पनि क्यान्सर विशेषज्ञको संख्या अत्यन्त कम छ । तीमध्येका एक हुन्, प्रा. डा. राजेन्द्र बराल । क्यान्सरविरुद्ध अनेक प्रयास गरिरहेका बरालको जीवनमा एउटा नमिठो संयोग छ । क्यान्सर रोगविरुद्ध अहोरात्र खटिएका बरालको परिवारमा बुबाआमालाई मात्र होइन, ४९ जना सदस्यलाई क्यान्सरले सताएको छ । आफ्नो परिवार क्यान्सरसँग कसरी जुधिरहेको छ भन्नेबारे बरालले नयाँ पत्रिकाका भिषा काफ्लेसँग कुराकानी गरेका छन्:

क्यान्सरका प्रकार
सबैले बुझ्नुपर्छ, क्यान्सर दुई तरिकाले हुन्छ । एउटा वंशानुगत कारणले त अर्को अन्य कारणले । महिलाको नितम्ब क्यान्सर र पाठेघरको मुखको क्यान्सर आमाको पुस्ताबाट सर्ने पाँच प्रतिशत सम्भावना हुन्छ । तर, अरू प्रकारका क्यान्सर सरुवा वा हेरेडिटी हुँदैन । जस्तो कि मेरो परिवारको कुरा गर्ने हो भने हाम्रो नातागोतामा देखिएको क्यान्सर वंशाणुगत होइन ।

मलाई सबैले सोध्छन्, ‘तपाईंको घरमा वंशाणुगत क्यान्सर लागेको रहेछ है ।’ तर त्यो होइन । फुपू, भिनाजु, बुबा–आमा, दाजु–भाउजू फरक–फरक मानिसलाई फरक–फरक किसिमको क्यान्सर लागेको छ । कसैलाई पाठेघरको मुखको क्यान्सर छ, कसैलाई फोक्सोको । कसैलाई रगतको क्यान्सर छ । कसैलाई छालाको क्यान्सर छ । यस्ता विभिन्न खालका क्यान्सर मोटामोटी हाम्रो परिवारमा ४९ जनालाई भयो । पहिले ४७ जनालाई थियो, अहिले दुईजनालाई थपियो ।
बुबाले क्यान्सर जित्नुभयो
मेरो बुबालाई छालाको क्यान्सर थियो । उहाँलाई क्यान्सर भएको २० वर्षजति भयो । उहाँ सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । अहिले ८४ वर्षको हुनुभयो । अहिले पनि राम्ररी काम गर्दै हुनुहुन्छ । बुबालाई सुगर पनि छ । त्यसको औषधि खानुहुन्छ । तर, क्यान्सर पूरै निको भइसक्यो । क्यान्सरबाट मुक्त हुनुभयो । ६४ वर्षको उमेरमा देखिएको समस्या निको भएपछि अहिले तन्दुरुस्त हुनुभएको छ ।
बुबाको छालामा चेन्ज आएपछि म आफैँले चेक गरेँ । त्यतिवेला म क्यान्सर रोग विशेषज्ञ भइसकेको थिएँ । अनि, पत्ता लाग्यो । अहिले उहाँलाई पूर्ण रूपमा ठीक भइसकेको छ । तर, सुगरको औषधि खाइरहनुहुन्छ ।
आमा ब्लड क्यान्सरले बित्नुभयो

३५ वर्षअघिको एक दिन मेरा लागि जीवनको सबैभन्दा दु:खी दिन हो । त्यो दिन आमा बित्नुभयो । उहाँलाई ब्लड क्यान्सर भएको रहेछ । त्यतिवेला नोपालमा क्यान्सरको उपचार थिएन । त्यही भएर उहाँमाथि गलत औषधि चलाइएछ । गलत उपचारले उहाँको ज्यान लियो ।

त्यसवेला थाहा भएन, उपचार पद्धति गलत भयो भनेर पछि थाहा भयो । क्यान्सर भनेर कसैले पनि थप उपचारका लागि रिफर गरेनन् । सायद त्यतिवेला डाक्टरहरू पनि द्विविधामा हुनुहुन्थ्यो होला । पछि मैले बम्बई गएर क्यान्सरबारे पढ्दा मात्र थाहा भयो, मेरी आमालाई ब्लड क्यान्सर भएको रहेछ । चिकित्सकले शंकाका भरमा त्यतिखेर क्यान्सरको उपचार भन्दा पनि हाई डोज किमोको उपचारले गर्दा आमाको मृत्यु भएको रहेछ । त्यो पनि अध्ययन गर्दा नै मैले थाहा पाएँ । त्यतिवेला समयमा नेपालमा किमो पाउने अवस्था पनि थिएन । हामीले बैंककबाट औषधि ल्याउँथ्यौँ । सो औषधि त्यसवेलाका वरिष्ठ डाक्टरहरूले चलाउनुभएको थियो । तर, औषधि यति हाई डोजमा चलाउनुभएछ कि ८० मिलिग्राममा दिइयो भने मुटु फुट्छ । उहाँहरूले नौ सय मिलिग्रामसम्म दिनुभएको रहेछ । त्यो पनि नौ दिन लगातार । आज नौ सय, भोलि नौ सय ग्राम गरेर ।

आमाको इच्छामा क्यान्सर चिकित्सक मृत्यु हुनुअगाडि मलाई आमाले क्यान्सरको डाक्टर बन् भन्नुभयो । किन त्यसो भन्नुभयो भन्ने पनि मलाई थाहा छैन । ०४० साल साउन २० गतेको कुरा हो । आमाले मलाई बोलाउनुभयो । अनि भन्नुभयो, ‘तैँले मेरो एउटा इच्छा पूरा गर ।’

आमाले आफूलाई क्यान्सर भएको आशंका गर्नुभएको रहेछ । उहाँले मलाई क्यान्सरको डाक्टर बन् बन्नुभएको थियो । तर, हामीलाई आमालाई क्यान्सर लागेको होला भन्ने नै लागेन । मैले केही भएको छैन आमा, नआत्तिनुस् भनेँ । ब्लड प्रेसर र सुगरले गर्दा तपाईं कमजोर हुनुभएको हो भनेको थिएँ । तर, उहाँले मान्नुभएन । भन्नुभयो, ‘मलाई पक्कै पनि क्यान्सर नै भएको हो । तैँले क्यान्सरको डाक्टर बनेर मेरो इच्छा पूरा गर्नुपर्छ ।’
सात वर्ष पढिना आमाको मृत्यु हुँदा एसएलसी सकेर बसेको धेरै भएको थियो । आमाको हेरचाह गर्न नै मैले पढाइ छाडेको थिएँ । मेरो मनमा सधैँ हुन्थ्यो, आमा ठूलो कि पढाइ ? अनि मनले आमालाई रोज्थ्यो । मैले ३४ सालमा एसएलसी दिएँ । आमा त्यतिवेला बिरामी पर्नुभयो । अनि मैले पढाइ छाडेँ । भाइबहिनीलाई पढाउन थालेँ ।
आमा बितेपछि मैले पनि पढ्न थालेँ । मैले एसएलसी दिँदा भाइ ५/६ कक्षामा पढ्थ्यो । पछि म पनि भाइबहिनीसँगै कलेज जान थालेँ । आइएस्सीमा भर्ना भएँ । तैपनि, दु:खका दिन थिए । आमा नभएपछि घरको काम सबै आफैँ गर्नुपथ्र्यो । भुसको चुलोमा पकाउने मात्र होइन, जुठा भाँडा पनि माझ्नुपथ्र्यो । त्यतिवेला दु:ख गरेर पढेको काम लाग्यो । अहिले पनि त्यो पढाइले धेरै सहयोग भएको छ । दु:खै गरेर पढेको भए पनि मैले आइएस्सीमा नेपाल टप गरँे । म एमबिबिएस सुरु गर्दा २५ वर्ष पुगेको थिएँ । अहिले मेरो छोरा २३ वर्षमा एमबिबिएस सक्दै छ ।
एमबिबिएस सकेपछि मैले आमाले भनेका शब्द सम्झिएँ । म उहाँको इच्छा पूरा गर्न चाहन्थँे । उहाँकै इच्छा पूरा गरेर म क्यान्सरको डाक्टर बन्छु भन्ने मनमा थियो । अनि, मैले टाटा अस्पतालमा जाँच दिने सोच बनाएँ । संयोग, त्यहाँ पनि नाम निस्कियो । त्यसपछि मैले आमाको इच्छा पूरा गर्ने भएँ भन्ने भयो । त्यतिवेला नै मलाई आमाको रोगबारे पनि थाहा भयो । आमाको रोगबारे थाहा पाएपछि मनमा झन् दृढता पलायो– आमाको इच्छा त मैले पूरा गर्नैपर्छ ।
क्यान्सरपीडित जोडीको विवाह
अध्ययन सकेपछि मैले यही विषयमा थप अनुसन्धान गर्न थालेँ । अहिले त आफैँ पनि औषधि बनाइरहेको छु । धेरैलाई यस विषयमा सिकाएको पनि छु ।
२० वर्षअगाडिको एउटा घटना भने म कहिल्यै बिर्सिन्नँ । दुईजना युवायुवती उपचार गर्न आएका थिए । दुवैलाई ब्लड क्यान्सर भएको थियो । उपचार गर्न आउने सिलसिलामा नै उनीहरूबीच प्रेम बसेछ । मैले नै उनीहरूलाई सोधेँ, ‘विवाह गर्ने हो त ?’ नभन्दै उनीहरूको विवाह भयो । सुखद संयोग, दुवैलाई ठीक पनि भयो । अहिले उनीहरूको परिवार राम्रो छ, सुखी छ । बालबच्चा पनि भएका छन् । त्यस्तै बुटवलबाट सानैमा ब्लड क्यान्सर भएका दुई–तीनजना बालबालिका पनि आएका थिए । उनीहरू पनि उपचारपछि ठीक भइसकेका छन् । एक–दुईजना त डाक्टर पनि भइसक्नुभएको छ । यी सबै उदाहरण सम्झिँदा मलाई आमाले सही औषधि पाउनुभएको भए बाँच्नुहुने रहेछ भन्ने लाग्छ ।
अझै पछुतो लाग्छ
परिवारमा काकी, फुपूहरू, दाजु, भाउजू, ठूलीआमा, ठूलोबुबा, आमा, भतिजाहरू, आमाका फुपू, फुपाजु, भतिजाहरू गरी ४९ जनालाई क्यान्सर लागेको छ । जसको ढिलो पत्ता लाग्यो, उहाँहरूको निधन पनि भइसक्यो । जसको समयमा नै पत्ता लाग्यो, उहाँहरूको ठीक पनि भइसक्यो । अधिकांशको नेपालमा नै उपचार गरेका छौँ । भारतमा पढेकाले मलाई थाहा छ, त्यहाँ हुने र यहाँ हुने उपचारमा कुनै भिन्नता छैन । तर, आमालाई उपचार गर्न भारत नै लैजान पाएको भए पनि हुने रहेछ भन्ने लाग्छ । उहाँलाई बाहिर लैजान पाएको भए अलिक लामो समय बाँच्नुहुन्थ्यो कि भन्ने लाग्छ ।

No comments:

Post a Comment