Posted by: nayapatrika February 15, 2016
चुरोट, बिाडी, सिगार, हुक्का, खैनी आदि सबैको सेवन धूमपान हो । यिनीहरूलाई जुनसुकै तरिकाले प्रयोग गरिए पनि स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुपर्छ । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण निर्णय गर्नु भनेकै धूमपान सेवन बन्द गर्नु हो ।
कति मानिसले सेवन गर्छन् ?
- विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्ने गर्छन् ।
- तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मर्ने गरेका छन् ।
- विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या एक करोड पुग्ने अनुमान गरेको छ ।
- मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोटसेवनले मात्र गर्छ ।
- ३० देखि ५० वर्ष उमेर भएका चुरोटसेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँचगुणा बढी हुन्छ ।
- अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको पाइएको छ ।
- नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्तीसेवनका कारण मृत्यु हुने गरेको छ ।
हृदयाघात
- धुम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।
- यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ ।
- मुटुको रक्तनली साँघुरो बनाउँछ ।
- सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
- चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
- चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ ।
- यी सबै कारणले रक्तसञ्चारमा बाधा पुर्याई हृदयघात गराउँछ ।
फोक्सोको क्यान्सर
- चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
अन्य असर
- सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ ।
- सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।
- महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ ।
- हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ ।
चुरोट छोड्दा हुने फाइदा
- चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयाघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
- केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको छ ।
- केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
- बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
- रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
- स्वाद र सुँघ्ने क्षमतामा सुधार भई खाना बढी रुचाउँछ ।
- शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
- चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
(डा. अनिल ‘म पनि डाक्टर’ पुस्तकका लेखक हुन्)
No comments:
Post a Comment