Wednesday, January 4, 2017

पत्थरी भएपछि बुझेँ पानीको महत्त्व pathari

कोल्ड ड्रिंक्स धेरै पिएर गल्ती गरेँ

डा. भोला रिजाल
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल आफ्नो पेसामा सफल र चर्चित चिकित्सक मानिन्छन् । बिहान सबेरैदेखि बेलुका अबेरसम्म बिरामीसँग समय बिताउने डा. भोला, व्यक्तिगत जीवन जिउने समय कम भएको अनुभव सुनाउँछन् । तर, आफ्नो स्वास्थ्यप्रति पनि निकै ‘कन्सस’ भएको बताउँछन् उनी । डा. भोला रिजाल आफ्नो स्वास्थ्य र सौन्दर्य ‘मेन्टेन’का लागि हरेक दिन के गर्छन् ? नयाँ पत्रिकाका प्रवीण देवकोटासँग उनले नियमित रुटिन सार्वजनिक गरेका छन् ।
दाह्री नकाटे‘अनइजी फिल’
बिहान ५ बजेतिर उठिसकेको हुन्छु । उठेलगत्तै एक गिलास चिसो पानी पिउँछु । त्यसपछि नित्यकर्मतिर लाग्छु । ट्वाइलेटको काम सकेपछि हरेक दिन दाह्री खौरिन्छु । बिहान सधैँ नुहाउनैपर्ने बानी परेको छ । ननुहाएको र दाह्री नकाटेको दिन असाध्यै ‘अनइजी’ महसुस हुन्छ । त्यसैले यी दुई काम कहिल्यै छुटाउँदिनँ ।
मन स्वस्थ राख्न धर्म र परोपकार
६ बजेसम्म यी काम सकेर पूजाकोठामा छिर्छु । हरेक दिन भगवान्को दर्शन गरेकै हुन्छु । धर्म र परोपकारले मनमा शान्ति प्राप्ति हुन्छ भन्ने मेरो अनुभव छ र यस्ता कर्ममा विश्वास गर्छु । मन स्वस्थ हुनका लागि शान्त हुनु जरुरी छ । शान्त मनले सकारात्मक विचार जगाउँछ । पूजाकोठाबाट निस्किएपछि परेवालाई अन्न खुवाउँछु । हरेक दिन दुई बटुका अन्न (घरमा उपलब्ध) परेवालाई दिन्छु । तिनको खुसी देख्दा मन स्वस्थ भएको महसुस हुन्छ । यही समयमा घरमै रहेका तुलसी, पारिजात, अमला, रुद्राक्षलगायतका बोटमा पानी सेचन गर्छु । साथसाथ चिउरा, रोटी, पाउरोटी जे छ, दूधमा मिलाएर कुकुरलाई नियमित खान दिन्छु ।
ब्रेकफास्टमा दूध र कर्न फ्लेक्स
भगवान्को दर्शन, परेवा र कुकुरलाई आहार तथा बिरुवालाई पानी सेचन गरिसक्दा साढे ६ बजिसकेको हुन्छ । अब, आफ्ना लागि हल्का ब्रेकफास्ट लिन्छु । हरेक दिन एक कप दूध सेवन गर्छु । दूधमा कर्न फ्लेक्स मिसाएर खाने गर्छु ।
अस्पतालमा उठ्ने र हिाडिरहने
७ बजेसम्म अस्पताल पुगिसकेको हुन्छु । बिरामीको सेवामा सक्रिय हुँदा बस्ने कम, उठ्ने र हिँड्ने बढी गर्छु । अप्रेसन, ओपिडी र राउन्ड सबै काममा रहँदा उठ्ने र हिँड्ने नै गर्नुपर्छ । यसो गर्दा शरीरलाई राम्रो कसरत पनि हुन्छ । मेरो चाहना पनि हुन्छ, सकेसम्म बस्नु नपरोस् ।
हरेक दिन खाना घरबाटै बोक्छु
बिहानको खाना १०–११ बजेभित्र लिन्छु, अप्रेसन सकेपछि । खाना चिल्लो कम भएको सादा नै हुन्छ । बाहिरको खाना खाने गर्दिनँ । घरबाटै बोकेको हुन्छु । बिहानको खानामा प्राय: दाल, भात र तरकारी नै हुन्छ ।
फलफूल र चिया खाजाका आइटम
दिउँसो ३ बजेपछि खाजा खाइन्छ । खाजा निकै हल्का लिने गर्छु । प्राय: फलफूल नै खाने गर्छु । सिजनअनुसारका फलफूल हुन्छन् । फलफूल पनि घरबाटै लगेको हुन्छु । चिनी कम राखेको कालो चिया एक कप पिउने गर्छु ।
पानी कम भए भोलिपल्ट बिरामी
हरेक दिन कम्तीमा तीन लिटर पानी पिएकै हुन्छु । पानी फिल्टरपछि उमालेको पिउने गरेको छु । अस्पतालका लागि पनि घरबाटै पानी बोक्ने गर्छु । अस्पतालमा पटक–पटक पानी पिइरहेको हुन्छु । शनिबार रुटिन केही फरक हुने भएकाले पानी कम भइरहेको हुन्छ । शनिबार पानी कम भएको असर आइतबार देखिन्छ । बिरामी होलाजस्तो हुन्छ ।
बेलुकाको खानामा ‘ननभेज आइटम’
मिटिङलगायत विशेष काम परेन भने बेलुका ७ बजेसम्म नियमित घर फर्किसकेको हुन्छु । ८ बजेतिर बेलुकाको खाना खाइन्छ । बेलुकाको खानामा ‘ननभेज आइटम’ भएकै हुन्छ । श्रीमतीसँग बसेर बिहानको खाना खान नपाउने भएकाले बेलुका केही विशेष बनाउने भन्ने नै हुन्छ । मटन, चिकेन, माछामध्ये एक आइटम हुन्छ । योसँग रोटी, चाउमिन या भात खाइन्छ । कहिलेकाहीँ चिउरा पनि खाइन्छ । साग र दही बेलुकाको खानामा हरेक दिन भएकै हुन्छ । विशेष अध्ययन र लेख्नुपर्ने काम परेन भने १० बजेसम्म बेडमा पुगिसकेको हुन्छु । सुत्नुअघि चिनी कम भएको कालो चिया पिउने गर्छु ।
पत्थरी भएपछि पानीको महत्त्व बुझेँ
०२९ सालमा दाहिने मिर्गौलामा पत्थरी देखियो । त्यो समस्या घरायसी औषधि र अत्यधिक पानी पेलेरै ठीक भयो । जतिसक्दो पानी पिउनुपर्ने पाठ त्यतिवेला थप बुझेँ । त्यसैले शरीरलाई आवश्यक पानीमा कहिल्यै सम्झौता गर्दिनँ । पानी पिएर ठीक भएको पत्थरीको समस्या अहिले पूर्ण रूपमा ठीक छ ।
ढाड र मुटुमा समस्या नियमित औषधि सेवन
मुटुमा दुईवटा स्टेन्ट राखिएको छ । चार वर्षअघि जचाउँदा मुटुमा समस्या देखियो । त्यसपछि नियमित औषधि सेवन गर्ने गरेको छु । बिहान र बेलुका दुई–दुईवटा औषधि लिने गरेको छु । बिहान ब्लडप्रेसरको औषधि सेवन गर्नुपर्छ । ०३५ सालदेखि ढाडको पनि समस्या छ । निहुरिएर केही सामान टिप्न खोज्दा त्यतिखेर समस्या निम्तिएको थियो । ढाडको समस्याकै कारण कुनै कसरत गर्न मिल्दैन । अस्पतालमा रहँदा ढाडलाई सपोर्ट दिन बेल्ट प्रयोग गर्ने गरेको छु ।
धेरै कोल्ड ड्रिंक्सले स्वास्थ्य बिग्रियो
०२५ देखि ०४४ सालसम्म ७२ किलो वेट थियो । तर, ०४४ सालमा एकै महिनाको अन्तरमा ७८ किलो पुग्यो । धेरै कोल्ड ड्रिंक्स पिउँदा एक्कासि मोटोपन बढेको थियो । त्यतिखेर एमबिबिएसको इन्ट्रान्सलाई फेयर बनाउने भनेर हामीहरू १२–१५ दिनसम्म त्रिवि शिक्षण अस्पतालभित्रै रहेर काम गर्‍यौँ । प्रश्नपत्र निकाल्दादेखि रिजल्ट आउट नगर्दासम्म बाहिर निस्किएनौँ । त्यतिवेला मैले पानीको सट्टा कोल्ड ड्रिंक्स लिएँ । तरल पदार्थ धेरै पिउनुपर्ने म बाहिरको पानी पिउँदिनथेँ । घरबाट ल्याउन सम्भव हुने कुरै भएन । पानीको प्यास कोल्ड ड्रिंक्सले मेट्दा शरीरको तौल ह्वात्तै बढ्यो । स्वस्थ्यप्रति कन्सस हुँदाहुँदै पनि ०४४ सालमा गरेको यो काम सबैभन्दा ठूलो गल्ती भयो । ढाडको कमजोरीका कारण तौल घटाउन पनि सक्ने अवस्था रहेन ।
बिग्रियो भने कोरिहाल्छु कपाल
हरेक दिन दाह्री खौरिएपछि आफ्टर सेभ लोसन लगाउँछु । फेसियल क्रिम पनि लगाउँछु । घाममा निस्किनुपर्दा सनस्क्रिन क्रिम लगाउन भुल्दिनँ । हरेक दिन नुहाउँदा कपालमा स्याम्पु प्रयोग गर्छु । काइँयो जहाँ जाँदा पनि ब्रिफकेसमै हुन्छ । कपाल बिग्रियो भने कोरिहाल्छु ।

 Naya Patrika March 24, 2016

डा. भोला रिजाल


No comments:

Post a Comment