Monday, January 9, 2017

१० वर्ष पहिल्यै पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने थाहा हुन्छ

नेपालका महिलामा सबैभन्दा बढी देखिने क्यान्सर हो, पाठेघरको क्यान्सर । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को संक्रमणले यो क्यान्सर लाग्छ । पहिलो यौनसम्पर्क भएदेखि नै यो क्यान्सरको सम्भावना रहन्छ । उचित सरसफाइको अभावलगायत विभिन्न कारण एचपिभीले पाठेघरको मुखमा आक्रमण गर्छ र कालान्तरमा क्यान्सरको रूप लिन्छ । क्यान्सर हुनुभन्दा दश वर्ष पहिल्यै संक्रमण भएको थाहा पाउन सकिने यो क्यान्सरबारे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विमलकुमार थापासँग नयाँ पत्रिकाका भवानीश्वर गौतमले कुरा गरेका छन् :

नेपाली महिलामा पाठेघरको रोग ठूलो समस्या बन्ने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सर एउटा गम्भीर समस्या हो । तर, पाठेघरको मुखमा हुने क्यान्सर पाठेघरभित्रको क्यान्सरभन्दा केही मानेमा फरक छ । पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्छ र उपचार गर्न सकिन्छ । नियमित चेकजाँच गर्‍यो भने यो क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । तर, क्यान्सर फैलिएर अप्रेसन नै गर्न नसकिने, सेकेर पनि नहुने, औषधिले पनि नछुने अवस्था भएपछि मात्रै महिलाहरू अस्पताल धाउनाले समस्या जटिल बन्ने गरेको छ ।
पाठेघरको मुखको पानी जँचाएर क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । वेला–वेला पाठेघर चेक गराउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो चलन नेपाली महिलाहरूमा कमै छ । रोगले गालेपछि मात्रै अस्पताल आउने गर्छन् । पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने पहिल्यै थाहा पाउन पनि सकिन्छ । क्यान्सर हुँदै छ भन्ने कुरा १० वर्षअघि नै थाहा पाउन सकिन्छ । वेलैमा जाँच गराउँदा सामान्य रूपमै पाठेघरको मुखको क्यान्सर ठीक पार्न सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर जाँच गर्ने सजिलो तरिका नेपालमै छ । भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड)बाट पाठेघरको मुखको जाँच गर्न सकिन्छ । यो विधिबाट चेकजाँच गर्नका लागि विशेषज्ञ डाक्टरकै आवश्यकता पनि पर्दैन । सिएमए, अनमी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स सबैले जाँच गर्न सक्छन् । तर, एउटा निश्चित तालिम भने लिएको हुनुपर्छ । कुनै अप्रेसनविना केवल ५–७ मिनेटको जाँचमै पत्ता लाग्छ । शंका लागेमा गाइनोलोजिस्टले थप परीक्षण गरेर रोग निक्र्योल गर्छन् ।
विकसित देशमा युवा अवस्थामै पाठेघर परीक्षण गर्ने चलन छ । इंग्ल्यान्डमा २१ वर्ष पुग्नुभन्दा ६ महिनाअघि नै जाँच गर्ने व्यवस्था छ । आयरल्यान्डमा १८ वर्ष उमेरदखि नै जाँच गर्छन् । पाठेघरको मुखको क्यान्सर फैलिएर उपचार नै गर्न नसकिने अवस्था नहोस् भनेर पहिले नै सचेत छन्, विकसित राज्य ।
सामान्य सचेत हुँदा सजिलै निको पार्न सकिने र बेवास्ता गर्दा महिलाको ज्यानै जाने खतरनाक रोग हो, पाठेघरको क्यान्सर । ३५ वर्षमाथि उमेरका महिलाले नियमति रूपमा आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । ग्रामीण महिलालाई यो कुरा थाहा छैन । चेतनाको अभाव छ ।
हेल्थपोस्ट र सब–हेल्थपोस्टका स्वास्थ्यकर्मीलाई तालिम दिएर ग्रामीण क्षेत्रमा चेतना फैलाउन सकियो भने नेपाली महिलाले अकालमै पाठेघरको मुखको क्यान्सरका कारण ज्यान फाल्नुपर्ने अवस्था आउने थिएन । प्रिभेन्सका लागि पनि सरकारले केही जिल्लामा भ्याक्सिन दिने कार्यक्रम ल्याएको छ ।

Posted by: nayapatrika February 2, 2016
डा. विमलकुमार थापा

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

No comments:

Post a Comment