Monday, January 9, 2017

खानापछि खाने औषधि खाली पेटमा खाँदा के हुन्छ ?

चिकित्सकले उपचार गरेपछि रोगअनुसार औषधि लेखिदिदै भन्छन्– यो खानाअघि खानुहोस्, योचाहि खानापछि र अर्को खाली पेटमा । बिरामीहरू हस् भन्दै डाक्टरसँग बिदाइ हुन्छन् । घरमा फर्किएर कसैले डाक्टरको सुझाब अनुसरण गर्छन्, कसैले आफ्नै हिसाबमा औषधि सेवन गर्छन् । चिकित्सकले रोगअनुसार औषधि खाने समयावधि तोक्नुको खास अर्थ के हो ? र, तोकेको समयमै औषधि नखाए के हुन्छ ? वीर अस्पतालका वरिष्ठ जनरलिस्ट डाक्टर न्हुच्छेराम डंगोलको जवाफ :

खाली पेटमा खानुपर्ने खानापछि खाँदा
ग्यास्ट्राइटिसलगायत पेटका कतिपय रोगको औषधि खाली पेटमा सेवन गर्नुपर्ने हुन्छ । खानापछि खाएमा यस्ता औषधिको प्रभावकारिता नै हुँदैन । खाली पेटमा खानुपर्ने औषधि खाना खाएपछि सेवन गर्दा रोग निको नहुन सक्छ ।
खानापछि खाने औषधि खाली पेटमा खाँदा
धेरै रोगका औषधि खानापछि खाने खालका हुन्छन् । खानापछि खाने औषधि खाली पेटमा खायो भने शरीरमा एसिडिटी बढाइदिन्छ । यस्ता औषधि मनलाग्दी सेवन गर्दा दीर्घकालमा साइड इफेक्टको खतरा हुन्छ ।
खानासँगै खाने औषधि खाली पेटमा खाँदा
कतिपय रोगका औषधि खानासँगै खानुपर्ने हुन्छन् । प्राय: फ्याट सोलेवल औषधि खाना खाने क्रममा बीचैमा खानुपर्ने हुन्छ । यस्ता औषधि खाली पेटमा खायो भने शरीरमा एसिडिटी बढाउने तथा ग्लुकोजको मात्रा कम गराउँछन् । खानापछि प्रभावकारिता नहुने औषधिलाई खानासँगै खान सिफारिस गरिएको हुन्छ ।
बिहान खाने औषधि बेलुका खाँदा
कतिपय औषधि बिहानै खानुपर्ने किसिमका हुन्छन् । बिरामीको शारीरिक अवस्था र उनीहरूको समयलाई ध्यान दिएर यस्ता औषधि सिफारिस गरिएका हुन्छन् । पिसाब लगाइरहनुपर्ने औषधि बिहान सेवन गर्न सिफारिस गरिएको हुन्छ । यस्ता औषधि बेलुका सेवन गर्‍यो भने रातभर समस्या पर्न सक्छ । ट्वाइलेट गइराख्नुपर्ने झन्झट बिरामीलाई हुन्छ ।
एकभन्दा बढी औषधि एकैपटक खाँदा
कतिपय बिरामीलाई एकैपटक दुई या दुईभन्दा बढी औषधि सेवन चलाइएको हुन्छ । तर, कतिपय बिरामीले मतलब नै नगरी एकैचोटीमा सबै औषधि खाइदिने पनि गर्न सक्छन् । यो गलत तरिका हो । औषधि एकैपटक खाँदा एक–आपसमा रियाक्सन भएर काम नै गर्न नसक्ने हुन सक्छ । चिकित्सकले गरेको सिफारिसअनुसार समयको पावन्दीअनुसार सेवन गर्नुपर्छ ।
Posted by: nayapatrika March 13, 2016

No comments:

Post a Comment