Wednesday, January 11, 2017

क्यान्सरबाट जोगिने १० उपाय

Posted by: nayapatrika October 3, 2015


डा. राजेन्द्र बराल
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर हस्पिटलमा कार्यरत छन्
खानपान, आहारविहार र जीवनशैलीमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सर रोग निको हुन्छ । तर, हामीले ध्यान नदिँदा निको हुन सक्ने क्यान्सरबाट अनाहकमा ज्यान फालिरहेका छौँ । के–केमा ध्यान पुर्‍याउने त ? 
१. सुर्तीजन्य पदार्थ सेवन नगर्ने : क्यान्सर रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउँछ भन्ने गरेको सुनेको छु । तर, त्यो गलत हो । सुर्तीजन्य पदार्थमा भएका चार हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शिरदेखि पाउसम्मका सबै क्यान्सर बनाउने रसायन हुन्छ । त्यसैले यसको सेवन गर्नुहुँदैन ।
२. बासी, सडेगलेका खाना नखाने : कतिपयले बासी तथा सडेगलेका खानेकुरा तताएर वा ढुसी फालेर खाने गरेको देखिन्छ, तर त्यही खाना क्यान्सर रोगको कारक बन्न सक्छ । यस्ता खानामा क्यान्सर गराउने तत्त्व ‘एफ्लाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सर उत्पति गराउँछ । त्यसैले यस्तो खाना खानुहुँदैन ।
३. मदिरापान नगर्ने : मदिरापानको अत्यधिक सेवनले पनि क्यान्सर हुन सक्छ । अत्यधिक मदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन, गुदद्वारलगायतमा क्यान्सर हुने गर्छ ।
४. मौसमअनुसार फलफूल खाने : मौसमअनुसारको ताजा हरियो सागपात, बन्दाकोबी, फर्सी, ब्रोकाउली र फलफूलहरू नियमित खाने । तर, बेमौसमी तरकारी तथा फलफूलमा रासायनिक पदार्थ बढी प्रयोग हुने भएकाले सकेसम्म नखाने गर्नु राम्रो ।
५.  रातो मासु कम गर्ने : रातो मासु क्यान्सर रोगका लागि अनुकूल बन्न जान्छ । त्यसैले, रातो मासु सकेसम्म नखाने । खानैपरे बोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठीक हुन्छ । अब चाडपर्व लाग्यो, मासुको सेकुवा बनाएर खाने चलन छ । त्यसरी पोलेको मासुले क्यान्सर रोगका लागि अनुकूल अवस्था बनाउँछ ।
६. दैनिक ४५ मिनेट व्यायाम : क्यान्सरलाई मात्रै होइन, व्यायाम शरीरमा लाग्न सक्ने सबै खाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायाम गरी पसिना निकाल्ने । व्यायामले तौल घट्दा मोटोपनाबाट देखिन सक्ने क्यान्सरसहितका अन्य नसर्ने
रोगहरू भाग्छन् ।
७. धुलोधुवााबाट जोगिने : क्यान्सर लाग्ने कारणमध्ये धुलोधुवाँ र प्रदूषित वातावरण पनि हो । यस्तो वातावरणमा बेन्जाइन, आर्सेनिक, क्याडमिउमजस्ता हानिकारक तत्त्वहरू भेटिन्छन् । जसबाट यसले फोक्सो, घाँटी तथा अन्य महत्त्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।
८. चर्को घाममा नबस्ने : लामो समय चर्को घाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले, लामो समय चर्को घाममा बस्नुहुँदैन । यदि बस्नैपरे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नुपर्छ । यसले विकिरण सीधै छालामा प्रवेश
गर्न सक्दैन ।
९. पाठेघरको जाँच गर्ने : विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकाले विवाहित महिलाले प्रत्येक दुई–दुई वर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । यस परीक्षणबाट क्यान्सर लाग्नुभन्दा पूर्वको अवस्था थाहा पाएर उपचार गरेमा क्यान्सर हुन पाउँदैन ।
१०. खानपानमा ध्यान पुर्‍याउने : खाद्यपदार्थमा मिसाएका कीटनाशक औषधि र रासायनिक मल, विषादी हालिएका तरकारी, फलफूल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमाशय, अन्न नली आदिको क्यान्सर लाग्न मद्दत गर्छ । पालिस लगाएका चामल, औषधि हालेर पकाएका फलफूलको सेवन पनि क्यान्सर रोगका कारक बन्न सक्छन् ।

No comments:

Post a Comment