Friday, November 11, 2016

यसकारण आउँछ ज्वरो

यसकारण आउँछ ज्वरो

यसकारण आउँछ ज्वरो
डा. केदारप्रसाद सेन्चुरी जनरल फिजिसियन वीर अस्पताल
के हो ज्वरो ?
मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ । ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री
फरेनहाइटबीचको तापक्रमलाई हाम्रो शरीरको सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई ज्वरो भनिन्छ । ज्वरो आउनु शरीर अस्वस्थ भएको जनाउ हो ।
समय, स्थान र वातावरणअनुसार शरीरको तापक्रम पनि फरक हुन्छ । दिनमा तापक्रम बढी हुनसक्छ भने बिहान र राति केही कम हुन्छ । व्यायाम गरेको समयमा पनि शरीरको तापक्रम बढी हुन्छ । त्यस्तै, महिलाको महिनावारीको समयमा तापक्रम बढी हुनसक्छ । तर, जेजस्तो भए पनि स्वस्थ मानिसमा औसतभन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।
भाइरल ज्वरो
भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान (स्वाइन फ्लु), हेपाटाइटिस, बर्डफ्लु, जिका, डेंगु, इबोलालगायत सबै खालका फ्लुहरूमा ज्वरो आउने हुन्छ । यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । भाइरसका कारण पखाला लाग्दा पनि ज्वरो आउने सम्भावना हुन्छ ।
ब्याक्टेरिया
ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरोको दर उच्च छ । टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ । शरीरका भित्री अंगहरू जस्तै– आउँ, टाइफाइडको ज्वरो, ठूलो आन्द्रा एवं मलाशय सुन्निने या घाउ हुँदा, एपेन्डिसाइटिस हुँदा, मुत्रथैलीको संक्रमण, मुत्रमार्गको संक्रमण, मिर्गौलाको संक्रमणमा पनि ज्वरो आउँछ ।
फंगल्स संक्रमण
कतिपय अंगमा हुने फंगल्स संक्रमणका कारण मानिसमा ज्वरो आइरहेको हुन्छ । जस्तै– फोक्सो या महिलाको पाठेघरमा हुने फंगल्स संक्रमणले ज्वरो आउँछ ।
प्रोटोजोअल संक्रमण
प्रोटोजोअल संक्रमणका कारण मलेरिया, कालाजार भएर ज्वरो आउने गर्छ ।
दीर्घरोगीमा खतरा
दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स, प्रोटोजोआ सक्रिय हुन्छन् । यिनको सक्रियतासँगै ज्वरो आउने सम्भावना बढी हुन्छ ।
ज्वरो आउँदा
झोल पदार्थ धेरै पिउने, पानीपट्टी बाँध्ने, बिरामी रहने कोठा न्यानो तर हावा सहज आवत–जावत हुने हुनुपर्छ । ज्वरो बढ्दै गए पारासिटामोल खुवाउनुपर्छ । ज्वरो १०२ डिग्री फरेनहाइट वा योभन्दा बढी भए तत्काल स्वास्थ्य संस्था या अस्पताल लैजानुपर्छ । ज्वरो आएसँगै बेहोस हुने, गम्भीर टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने, पिसाब पोल्नेजस्ता समस्या देखिएमा पनि तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । गर्भवती महिलालाई ज्वरो आए चिकित्सकसँग सल्लाह लिनुपर्छ । निरन्तर लामो ज्वरो आए पनि परीक्षण गराउनुपर्छ ।
एन्टिबायोटिक खानेलाई
कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ । कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन सक्छ । ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रै उपचार गर्नु बुद्धिमानी हुन्छ ।
प्रस्तुति : भिषा काफ्ले

No comments:

Post a Comment