Monday, November 7, 2016

अल्कोहलिकको कलेजो बिग्रने सम्भावना ८० प्रतिशत

अल्कोहलिकको कलेजो बिग्रने सम्भावना ८० प्रतिशत

नयाँ पत्रिका
काठमाडौं, ३१ जेठ ।
रक्सीले कलेजोलाई मात्र हैन, शरीरका सबै अंगलाई खराबी गर्छ । नसा, मस्तिष्क सबैलाई बिगार्ने अल्कोहल बिस्तारैबिस्तारै खान सुरु गरेको मानिस पछि अम्मली नै बन्छ । रक्सीले गर्दा नै खतरनाक दुर्घटना पनि हुँदै आएका छन् । पछिल्लो पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने होड चल्न थालेको छ । रक्सी खान सिकेका युवा बिस्तारै नशा सेवनतर्फ पनि तानिन थालेका उदाहरण धेरै छन् । सुरुमा रक्सीका साथ चुरोट हुँदै इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् । त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राणघातक रोग सर्ने गरेको पाइएको छ । हेपाटाइटिस बी, सीजस्तो कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनका माध्यमबाट सर्ने गरेको पाइएको छ । अस्पतालमा उपचार गर्न आउनेहरूको तथ्यांकअनुसार दुवै किसिमका हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने रहेको पाइएको छ ।
कलेजोमा पार्ने असर
नेपालमा कलेजोको सबैभन्दा ठूलो समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने यसको रङ नै फेरिन्छ । अन्तत: ९० प्रतिशतमा फ्याटी लिभर बढ्दै जान्छ । त्यसपछि पनि निरन्तर रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्छौँ । यसको ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो । यसपछि लिभर फेलियर अवस्था हो ।
रक्सी छोडे राम्रो
कलेजो बिग्रन थालेको बिरामीले पनि समयमा नै उपचार गरी रक्सी खान छाडेमा सामान्य अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछोडे (फ्याबरिक) धागोको रेसाजस्तो कडा हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ । केही समय त्यही रोकथाम गर्न सकिन्छ । तर, रक्सी नछोडे कलेजोले काम गर्न छोड्छ र प्रत्यारोपणको विकल्प हुँदैन, जुन नेपालमा हालसम्म व्यवस्था छैन ।
कलेजोसम्बन्धी रोगका लक्षण
-शरीर पहेँलो हुँदै जाने ।
-आँखा पहेँलो हुँदै जाने ।
-बान्ता हुने ।
-अस्वाभाविक तौल घट्ने ।
-हातखुट्टा सुन्निने ।
-माथिल्लो पेटमा समस्या हुने ।
-पेट ढुस्स हुने ।
-कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हुँदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ ।
के गर्ने ?
-मदिरापान छोड्ने ।
-पोषणयुक्त खानेकुरा खान प्रोत्साहित गर्ने ।
-रोगलाई जटिल अवस्थामा पुग्न नदिने ।
– समय–समयमा रगत जाँच गराउने ।
-कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने ।
-युवालाई मादक पदार्थको साटो दूध, दही, मही सेवन गर्न प्रेरित गर्ने ।
-अरूले प्रयोग गरेका सिरिन्ज प्रयोग नगर्ने ।
-सैलुनमा जाँदा राम्ररी निर्मलीकरण गरेका सामग्री मात्र प्रयोग गर्ने ।
प्रा.डा. अनिल मिश्र
कलेजोरोग विशेषज्ञ

No comments:

Post a Comment