Tuesday, November 15, 2016

एपेन्डिक्स फुटे खतरा

एपेन्डिक्स फुटे खतरा

जनरल फिजिसियन,
वीर अस्पताल
एपेन्डिक्स सानो आन्द्रा र ठूलो आन्द्राको बीचमा हुने एउटा छुट्टै अंग हो । यो अंग मानिसको तल्लो पेटको दाहिनेतिर हुन्छ । देखिने गरी प्रत्यक्ष कार्य नहुने हुँदा यसलाई त्यति महत्त्वपूर्ण अंग मानिदैन । तर, प्राकृतिक रूपमा नै निर्माण भएकाले केही मात्रामा भए पनि रोगप्रतिरोधात्मक कार्यमा यसले भूमिका खेल्छ । मानिसको एपेन्डिक्स कहिलेकाहीँ सुन्निन सक्छ । धेरै मानिसमा सुन्निनुको कारण थाहा नहुन पनि सक्छ । यो प्रक्रिया कसैकसैमा आफैँ ठीक पनि हुन्छ । तर, धेरैमा आफैँ ठीक हुँदैन र शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
किन हुन्छ एपेन्डिसाइटिस ?
मानिसले खाएको खाना विभिन्न किसिमका अवरोध भएर कहिलेकाहीँ एपेन्डिक्समा अड्किन सक्छ । जस्तै– कब्जियत भएमा या साह्रो दिसा भएमा नपचेका खानेकुरा एपेन्डिक्समा अड्किन सक्छ । अड्किएको खानाको संक्रमणसँगै बन्ने ब्याक्टेरियाले सो अंगमा संक्रमण गराउन सहज बनाइदिन्छ । संक्रमण सुरु भएको या केही अड्किएको छोटो अवधिमा नै एपेन्डिक्स सुन्निने प्रक्रिया बिस्तारै बढ्दै जान्छ । त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । सुन्निने प्रक्रिया बढेपछि पेटमा सहनै नसकिने गरी दुखाइ बढ्दै जान्छ । त्यसपछि सुन्निएको भागमा बिस्तारै पिप जम्न थाल्दछ । सुन्निने र पिप बन्ने प्रक्रिया यति चाँडो हुन्छ कि २४ घन्टाभित्र उपचार नभए यो फुट्छ या बाँधिएर गाँठो बन्न जान्छ । यदि फुट्यो भने शरीरका अन्य भागमा पनि संक्रमण हुन गई बिरामी जटिल अवस्थामा पुग्न सक्छ । त्यसैले यो प्रक्रिया सुरु भएपछि जतिसक्दो चाँडो उपचार सुरु गर्‍यो, त्यति नै चाँडो ठीक हुन्छ ।
एपेन्डिक्स फुटेमा
पेटका अन्य भागमा समेत तीव्र पीडाको अनुभव हुन्छ ।
थोरै चल्दा पनि पीडा बढ्छ ।
फुटेर पिप लागेका अन्य अंग (आन्द्रा)मा प्वाल पर्ने हुन सक्छ ।
रक्तचाप कम हुँदै जान्छ ।
बिस्तारै हल्लिँदा या खोक्दा पनि धेरै
दुख्ने हुन्छ ।
बिरामी बेहोस हुने हुन्छ ।
लक्षणहरू 
एपेन्डिसाइटिस हुँदा सुरुमा पेटको मध्यभागमा दुख्छ ।
बिस्तारै पेटको तल्लो दायाँतर्फ दुखाइ सर्छ ।
यो प्रक्रिया नियमित हुन्छ र बढ्दै जान्छ ।
नियमित दुखाइमा हातले थिच्दा दुखाइ केही कम भएको महसुस हुन्छ भने छोड्दा अत्यधिक दुखाइ भएर बिरामीले अस्वाभाविक प्रतिक्रिया देखाउँछ ।
बिरामीलाई वाकवाकी लाग्ने र बान्ता हुन थाल्छ ।
बिस्तारै पेट फुल्न थाल्छ ।
ज्वरो आउन सक्छ ।
पेट फुले पनि जम्मा भएको ग्यासलाई फाल्न सक्दैन ।
कब्जियत हुन वा पखाला चल्न सक्छ ।
लगातार पिसाब लाग्छ ।
रोकथाम
सन्तुलित भोजन गर्ने ।
कब्जियतको समस्या भएकाले कडा खालका बिउ भएका फलफूल खाँदा विचार गर्ने (जस्तै– अम्बा) ।
चाँडो पच्न सक्ने खाना मात्र खाने ।
कब्जियतको समस्या छ भने चिकित्सकसँग सल्लाह लिई उपचार गर्ने ।
एपेन्डिसाइटिस भएको २४ घन्टाभित्र अस्पताल गएर शल्यक्रिया गरिसक्ने ।
निदान
चिकित्सकले लक्षणका आधारमा एपेन्डिसाइटिस भएको निक्र्योल गर्न सक्छन् ।
रक्त परीक्षण गर्दा ह्वाइट ब्लड सेलको मात्रा बढेको हुन्छ ।
अल्ट्रासाउन्डका माध्यमबाट पनि यो बढेको थाहा हुन्छ ।
उपचार
यसको दीर्घकालीन उपचार भनेको शल्यक्रिया गरी एपेन्डिक्सलाई फाल्नु नै हो ।
सुन्निन सुरु भएको अवस्थामा नै छ भने औषधि सेवनबाट पनि ठीक हुन्छ । तर, औषधि सेवन गरी निको भएको एपेन्डिक्स पुन: दोहोरिने सम्भावना बढी हुन्छ । त्यसैले एकपटक सुन्निएपछि त्यसलाई शल्यक्रिया गरी फाल्नु नै राम्रो हुन्छ ।
२४ घन्टाभित्रमा शल्यक्रिया गर्न नसक्दा कहिलेकाहीँ एपेन्डिक्स गाँठो भइसकेको पनि हुन सक्छ । त्यस्तो अवस्थामा भने तत्काल शल्यक्रिया गर्न हुँदैन ।
यदि गाँठो छ भने ६ हप्तासम्म औषधि सेवन गरी सो गाँठो सामान्य भएपछि शल्यक्रिया गर्नुपर्छ ।
एपेन्डिक्स फुटिसकेको छ भने त्यो अत्यन्त जोखिमपूर्ण हुन्छ । त्यस्तो वेलामा जतिसक्दो चाँडो फुटेर संक्रमण भएको अन्य अंग पनि सफा गर्नुपर्ने हुन्छ । एपेन्डिक्सलाई तत्काल शल्यक्रिया गरी फाल्नुपर्छ ।

No comments:

Post a Comment