Tuesday, November 15, 2016

बाइकमा पेट्रोल जोगाउन यसो गरौँ

Posted by: Naya Patrika June 12, 2016 

-सामान्यतया दुई हजारदेखि २५ सय किलोमिटर गुडेपछि आफ्नो बाइकको सर्भिसिङ गर्नुपर्छ । नयाँ बाइकको हकमा भने कम्पनीले उपलब्ध गराएको म्यानुअलअनुसार सर्भिसिङ गर्नुपर्छ ।
– बाइक सर्भिसिङ गर्दा सधैँ कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा मात्र गर्नुपर्छ । सो सर्भिस सेन्टरमा कम्पनीका तालिमप्राप्त दक्ष प्राविधिक हुन्छन् ।
– बाइकमा इन्धन सधैँ पेट्रोल पम्पबाट मात्र भर्नुपर्छ । बोटल वा अन्य भाँडामा भण्डार गरेको इन्धनमा मिसावट हुनसक्छ । त्यस्तो इन्धनले माइलेज कम गराउनुका साथै इन्जिनसमेत बिगार्न सक्छ ।
– बाइक सर्भिसिङ गर्दा टायरको हावाको प्रेसरलाई पनि ध्यान दिनुपर्छ । टायरमा हावा कम या बढी भएमा पनि माइलेज कम दिन्छ । बाइकअनुसार अगाडिको टायरमा ३० र पछाडिको टायरमा ३५ पिएसआई हावा भएमा उपयुक्त हुन्छ ।
– बाइकमा प्रयोग गर्ने लुब्रिकेन्ट ब्रान्डभन्दा पनि डेन्सिटीलाई ध्यान दिनुपर्छ । लुब्रिकेन्ट बाइकको इन्जिनले पचाउनसक्ने हुनुपर्छ । त्यसैले सकेसम्म बाइक कम्पनीकै लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ । कम्पनीकै लुब्रिकेन्ट नभए सल्लाहअनुसारको ग्रेड मिल्ने लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ ।
बाइकको स्पिड स्लो र फास्ट गर्दा पनि माइलेज बढ्दैन । त्यसैले सधैँ एभरेज स्पिडमा बाइक चलाउँदा माइलेज पनि बढी दिन्छ । बाइकअनुसार सामान्यतया एभरेज स्पिड प्रतिघन्टा ३० देखि ५० किलोमिटर प्रतिघन्टा हुन्छ ।
– बाइकअनुसार लुब्रिकेन्ट फरक–फरक परिमाण प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले सधैँ आधिकारिक सर्भिस सेन्टरका दक्ष प्राविधिकलाई मात्र लुब्रिकेन्ट भर्न लगाउनुपर्छ ।
– बाइकमा इन्धन किफायती गर्न कम्पनीकै गुणस्तरीय पार्टस् प्रयोग गर्नुपर्छ । कम गुणस्तरको पार्टस्ले इन्धन खपतदर बढाउनुका साथै दुर्घटना पनि निम्त्याउन सक्छ ।
– अहिले बाइकमा साउन्ड मोडिफिकेसन गर्ने पनि प्रचलन छ । यसले पनि माइलेज घटाउनुका साथै ध्वनि प्रदूषण गर्छ ।
– अनावश्यक मोडिफिकेसनले माइलेज घटाउनुका साथै दुर्घटना पनि बढाउँछ । नयाँ पार्टस्हरू थप गर्दा बाइकको सेन्टर अफ ग्राभिटी चेन्ज हुन्छ । जसले गर्दा इन्धन खपतदर बढ्नुका साथै चालकलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ र दुर्घटना निम्तिन सक्छ ।
– बाइकको गुणस्तरीय पार्टस् आधिकारिक डिलर वा सर्भिस सेन्टरमा मात्र पाइन्छ । अन्य स्थानमा पाइने पार्टस् उस्तै देखिए पनि नक्कली पर्ने सम्भावना बढी हुन्छ । यस्तो पार्टस्को प्रयोगले इन्धन खपतदर बढाउँछ ।
– सडकमा बाइक चलाउँदा ट्राफिक जाम भएका वेला सधैँ इन्जिन अफ गर्नुपर्छ ।
– बाइक चढ्नुभन्दा पहिला कम्पनीले दिएको युजर म्यान्युअल अध्ययन गर्नुपर्छ । यसले बाइक र चालक दुवैको सुरक्षा गर्छ ।
नसिब कायस्थ 
अध्यक्ष, कायस्थ मोटर्स प्रालि 
चरिकोट, दोलखा

No comments:

Post a Comment