Tuesday, November 15, 2016

गर्मीमा आँखालाई

 Posted by: Naya Patrika June 1, 2016 

संसारको स्वरूप देखाउने आँखाको महत्त्व बाहिरी सौन्दर्यका लागि पनि उत्तिकै छ । यस्तो अमूल्य आँखालाई जाडोभन्दा गर्मीमा बढी खतरा छ । गर्मी मौसममा आँखा चिलाउने, बिझाउने समस्या बढी देखिन्छ । हाम्रो शरीरबाटै उत्पन्न हुने प्रतिक्रियाका कारण यस्तो हुने र मेडिकल भाषामा यसलाई ‘एलर्जी कन्जुम्टिभाइटिस’ भनिने त्रिपुरेश्वर आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन् ।
सूर्यको विकिरण र वातावरण प्रदूषणका कारण गर्मीमा आँखालाई बढी खतरा हुन्छ । प्रदूषित प्राकृतिक तातो हावाले आँखामा समस्या पारिदिन्छ । कचौरा बनोटको काठमाडौंमा तातो हावा तलै खेलिरहने समस्याले हावाको कण ‘पी १० माइक्रोन’भन्दा सानो हुने र आँखामा असर पार्ने डा. ढुंगेल बताउँछन् । गर्मीका कारण आँखामा मेलानोमा या लायमोफोमाजस्ता रोग निम्तिने खतरा रहन्छ ।
अनुहारको छालाको सुरक्षा गर्न सनब्लक क्रिम प्रयोग गर्ने धेरै हुन्छन्, तर आँखा जोगाउने सवालमा अधिकांशले बेमतलव गरिरहेका हुन्छन् । चिकित्सक तथा अप्टोमेट्रिस्टहरूको सुझाब स्विकार्ने हो भने गर्मीमा आँखाको सुरक्षाका लागि कम्तीमा तीन मन्त्र लागू गर्नैपर्छ :
१.  सनग्लास
सनग्लासले घामबाट आउने खतरनाक अल्ट्राभाइलेट ‘ए’ र अल्ट्राभाइलेट ‘बी’ किरण रोक्छ । छायामा बस्दासमेत सनग्लास प्रयोग गर्नुपर्छ । छायामा पनि अल्ट्राभाइलेट हुन्छ, सीधा घाममा भन्दा केही डिग्री कम मात्रै हो । आँखामा धुवाँ–धुलो सीधा पर्न पनि सनग्लासले दिँदैन ।
२.  ह्याट
गर्मीमा ह्याट सकेसम्म नछुटाएको राम्रो हुन्छ । अल्ट्राभाइलेट किरणको सीधा असर घाममा पर्नबाट ह्याटले रोकिदिन्छ ।
३.  हाइड्रेसन
आँखा स्वास्थ्य राख्न शुद्ध पानी निकै जरुरी हुन्छ । हरेक दिन कम्तीमा दुई लिटर पानी अनिवार्य पिउनुपर्छ, ताकि आँखामा डिहाइड्रेसन (पानीको कमी) नहोस् । डिहाइड्रेसनले आँखामा चिप्लोपना कम आउन सक्छ र आँखा सुक्खा भएर लाग्ने रोग निम्तिन सक्छ । पर्याप्त पानी पिउँदा आँखाको गतिविधिले गर्मीको प्रभाव सन्तुलित बनाउँछ ।

No comments:

Post a Comment