Wednesday, November 16, 2016

रजस्वला भ्रम र यथार्थ

Posted by: Naya Patrika May 30, 2016

के हो महिनावारी ?
महिलामा कुनै निश्चित उमेरपछि डिम्ब बन्ने प्रक्रिया सुरु हुन्छ । सो डिम्ब गर्भाधान हुन पाएन भने पाठेघरको तह खुइलिन्छ र रगत बग्छ । सो रगत योनिमार्ग हुँदै बाहिर जाने प्रक्रियालाई नै रजस्वला (महिनावारी) भनिन्छ । पहिलोपटक रजस्वला भएको २१ देखि ३९औँ दिनसम्ममा पुन: यो क्रम दोहोरिने हुन्छ । यसलाई बीचको समय ३० दिन अर्थात् एक महिना हुने हुँदा त्यसैलाई आधार मानी महिनावारी भनिएको हो । महिनावारी भएको १२ देखि २० दिनको अवधिमा पाठेघरमा पुन: डिम्ब बन्ने प्रक्रिया हुन्छ । त्यो अवस्थामा पुरुषको शुक्रकीटसँग सेचन भएन भने गर्भाधान हुँदैन । गर्भाधान नहुन्जेलसम्म महिनावारी नियमित चलिरहन्छ ।
महिनावारीसम्बन्धी जान्नैपर्ने कुरा
  • महिनावारीका विषयमा रहेका नकारात्मक कुराहरू सबै अन्धविश्वास मात्र हुन् । यो एउटा प्राकृतिक प्रक्रिया
    मात्र हो ।
  • महिलाको महिनावारी नियमित छ भने उनको पाठेघर ठीक छ भन्ने बुझ्नुपर्छ ।
  • प्रत्येक दिन विश्वमा १५ देखि ४९ वर्षका ८० करोड महिलामा महिनावारी हुने गर्दछ ।
  • यो समयलाई महिला बिरामी भएको समयको रूपमा हेरिन्छ । महिला स्वास्थ्य र सरसफाइसम्बन्धी काम गर्ने डब्लुडीका अनुसार भारतका १० प्रतिशत र इरानका ५० प्रतिशत किशोरी महिनावारी बिरामी हो भन्ने सम्झन्छन् ।
  • नेपालमा मात्र नभएर विश्वका विकसित देशहरूमा पनि महिलाका लागि सार्वजनिक स्थलमा छुट्टै शौचालय छैनन् ।
  • जसले गर्दा उनीहरूले महिनावारीका समयमा झनै समस्या व्यहोर्दै आएका छन् । विश्वमा एक अर्ब २५ करोड युवती छुट्टै शौचालयको सुविधा नहुँदा विद्यालय छोड्न बाध्य भएका छन् । शौचालय जान नपाएपछि विद्यालय जान
    मन पराउँदैनन् ।
  • एकजना महिलाको जीवनभरिमा करिब २२ सय दिनसम्म महिनावारी समस्या व्यहोर्नुपर्ने हुन्छ ।
  • अझै पनि विकासोन्मुख देशका महिलाहरू आफूलाई महिनावारी भएको कुरा खुलेर भन्न सक्दैनन् । यो समयमा महिला आफैँ परिवारबाट अलग हुन खोज्छन् । हाम्रै देशका विभिन्न स्थानमा यो समयमा घरभित्र पस्न नहुने मान्यता छ ।
  • महिलाहरू महिनावारीका वेलामा लगाएको कपडामा गल्तीले दाग लाग्यो भने ठूलो पाप बोकेजस्तो भान गर्छन् । अरूका अगाडि शिर निहुर्‍याएर हिँड्छन् । तर, यो एउटा सामान्य प्रक्रिया हो भनेर जवाफ दिन सक्दैनन् ।
महिनावारीमा गडबडी
महिनावारी भएको २१ देखि ३९ दिनसम्ममा पुन: रजस्वला भएमा त्यसलाई सामान्य मानिन्छ । तर, कहिलेकाहीँ यो समय तलमाथि पनि हुन्छ । यसरी महिनावारी नियमित नहुनुमा विभिन्न कारणले हुने हर्मोनको गडबडीले हो ।
कहिले थाइराइड हर्मोनको कमी या बेसीले पनि यस्तो समस्या हुन्छ भने कहिलेकाहीँ प्रोल्याक्टिनको कमी–बढीले पनि डिम्ब उत्पादनमा असर गर्छ । धेरै तनाव लिने महिला, धेरै पातलो या धेरै मोटो महिलामा पनि डिम्ब बन्ने प्रक्रियामा समस्या हुन सक्छ । यस्तो अवस्थामा महिनावारीमा गडबडी भए चिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्ने हुन्छ । कोही–कोही महिलाको पाठेघर नै सानो हुने या ट्युबर क्लोसिस (क्षयरोग) छ भने पनि डिम्ब बन्ने प्रक्रिया रोकिएर महिनावारी गडबडी हुने या हुँदै नहुने पनि हुन सक्छ ।
महिनावारी भएका वेला
  • धेरै महिला यो नियमित प्रक्रिया हो भनेर खासै वास्ता गर्दैनन् । तर, महिनावारी भएका वेलामा सरसफाइमा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
  • महिनावारी भएको वेलामा नियमित नुहाइधुवाइ गर्ने ।
  • नियमित प्याड फेर्ने ।
  • यस्तो वेलामा सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका संक्रमण भई घाउ–खटिरा हुने गर्दछ ।
  • लामो समयसम्म घाउ–खटिरा निको नभए भित्री अंगमा पनि संक्रमण हुन गई प्रजनन प्रक्रिया र स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।
पहिलोपटक महिनावारी हुँदा
  • पहिले–पहिले १५ वर्ष पुगेपछि मात्र महिनावारी सुरु हुन्छ भन्ने मान्यता थियो । तर, अहिले त्यो मान्यताले काम गर्दैन । कतिपयमा अहिले ११ वर्षको उमेरमा नै महिनावारी सुरु भएको पाइन्छ ।
  • चाँडो महिनावारी हुनुमा खानपानमा आएको परिवर्तन प्रमुख कारण हो ।
  • वातावरणमा भएको परिवर्तन अर्को कारण हो ।
    सानै उमेरमा महिनावारी सुरु हुँदा बालिकामा मानसिक परिपक्वता आइसकेको हुँदैन । त्यसकारण अभिभावकले
  • उनीहरूको राम्रो विचार पुर्‍याउनुपर्ने हुन्छ ।
  • अभिभावकले उनीहरूलाई यो नियमित प्रक्रिया हो भनेर सम्झाउने माया–ममता दिने गर्नुपर्छ ।
  • यस्तो वेलामा उनीहरूलाई एक्लै बस्न दिनुभन्दा पनि परिवार र समूहमा घुलमिल हुने वातावरण मिलाउनुपर्छ ।
    तागतिलो खानेकुरा खुवाउनुपर्छ ।
प्रस्तुति : भिषा काफ्ले

No comments:

Post a Comment