Monday, November 7, 2016

चिसोमा हुन्छ बढी हृदयाघात

Posted by: nayapatrika January 22, 2016

डा. विकास दली 
वरिष्ठ मुटुरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल
शिशिर ऋतुमा अत्यधिक चिसो हुने हुनाले हृदयाघात हुने सम्भावना र जोखिम निकै बढी हुन्छ । जाडो याममा चिसो तापक्रम तथा बाह्य वातावरणका कारण मुटुका बिरामीहरूमा चाँडै हाइपोथर्मियाको सम्भावना हुन्छ । ‘हाइपोथर्मिया’ एक किसिमको अवस्था हो, जुन समयमा शरीरको तापक्रम सामान्यभन्दा अझ तल झर्छ, अर्थात् ९५ डिग्रीभन्दा कम हुनु हो । जसको कारण आफ्नो शरीरले चाहिने ऊर्जा पर्याप्त मात्रामा उत्पादन गर्दैन । त्यसले हृदयाघातको सम्भावना बढाउँछ ।
वैज्ञानिकहरूका अनुसार २ डिग्री बाह्य तापक्रम झर्दा लगभग दुई सयभन्दा बढी मान्छेलाई हृदयाघात हुने सम्भावना हुन्छ । अमेरिकन रेजिस्ट्री अफ मायोकार्डियल इन्फार्कसनले गरेको अध्ययनले गर्मी यामभन्दा जाडो याममा ५३ प्रतिशतभन्दा बढी हृदयाघात हुने देखाएको छ । हाइपोथर्मियाका लक्षणमा काम्ने, अनिद्रा, हिँडाइको असन्तुलन, अस्पष्ट बाह्य संसारको चेतना, मानसिक असन्तुलन  आदि पर्छ ।
हृदयाघातका लक्षणमा छातीमा भारीपन, कहिले थिचे वा निमोठेजस्तो हुनु, चिटचिट पसिना आउनु, शरीर चिसो हुनु, श्वासप्रश्वासमा गाह्रो या छिटोछिटो हुनु, वाकवाकी लाग्नु, पेट दुख्नु, चक्कर लाग्नु अथवा बेहोस हुनु, कहिलेकाहीँ ग्यास्ट्राइटिसजस्तो पेट पोल्नु, जलन हुनु वा दुख्नु र छातीका मांशपेसी तन्किएजस्तो आभास गरिन्छ्र । साथै, बंगारामा, कुम्भमा, पिठ्युँमा, हात र औँलाहरूमा पनि दुखाइको अनुभूति हुन्छ । दुखाइको प्रकृति केही मिनेटदेखि घन्टौँसम्म र केही हदसम्म तल–माथि हुन सक्छ । यी सबैजसो लक्षण मधुमेहका बिरामीहरूले अरूको दाँजोमा कम अनुभूति गर्छन् वा चाल पाउँदैनन्, जसले गर्दा यी वर्गका बिरामीलाई हृदयाघात हुने अझ बढी र जोखिमपूर्ण हुन्छ ।
अति चिसो मौसम 
चिसो मौसममा धमनीहरू खुम्चिन्छन्, जसले गर्दा मुटुमा पर्याप्त मात्रामा अक्सिजन तथा रक्त प्रवाहको कमी हुन जान्छ । शरीरको तापक्रम सन्तुलन राख्न मुटुले अझ बढी काम गर्न आवश्यक हुन्छ । सञ्चितभन्दा बढी अक्सिजन र पोषक तत्त्वहरू ऊर्जाका रूपमा खर्च हुन्छ । यही मौकामा खुम्चिएका धमनीहरू वा रगतका वा बोसोका चोइटाद्वारा साँघुरिएका धमनीले पर्याप्त मात्रामा मुटुमा अक्सिजन तथा पोषक तत्त्वहरू पुर्‍याउनमा अवरोध गर्दा हृदयाघात हुन्छ ।
कम उज्यालोपन
जाडो मौसममा उज्यालोपन अधिक कम हुन्छ, जसले गर्दा शरीरमा हुने हर्मोन तथा यसका चक्रको सन्तुलन अझ बढी गडबड हुन्छ्र । महत्त्वपूर्ण हर्मोन कोर्तिसोलको असन्तुलनका कारण हृदयाघातको खतरा र सम्भावना बढ्छ्र ।
भोजभतेर
यसका साथै, भोजभतेरको समयमा चाहिनेभन्दा बढी चिल्लो, नुनिलो, रक्सी, चुरोट खाइन्छ/पिइन्छ । जसले गर्दा हृदयाघातको थप सम्भावना बढाउँछ । यही कारण हो, बिहानीपख धेरैजसो हृदयाघात र मस्तिष्कघात हुनुको पनि ।
अनावश्यक तनाव र व्यायाम
अनावश्यक तनाव र व्यायामले पनि हृदयाघातको सम्भावना बढाउँछ । हामीले के बुझ्नु र सिक्नु जरुरी छ भने अनावश्यक तनाव, जटिल कामहरू तथा चाहिनेभन्दा बढी व्यायाम कसरतबाट टाढै रहनु हृदयाघातबाट बच्ने मुख्य उपाय हो ।
रुघाखोकी
रुघाखोकीले क्ष्लाबिmmबतष्यल गराउँछ । जसले रक्तनलीमा भएको बोसो तथा रगतका चोक्टालाई कम सन्तुलन गराउँछ । यसले रक्तनलीहरू साँघुरो वा बन्द गराइदिन्छ र हृदयाघातको जोखिम बढ्छ । बेलायतमा गरिएको एक अनुसन्धानले रुघाविरुद्धको खोप लगाएका व्यक्तिहरूमा हृदयाघात हुने सम्भावना २० प्रतिशतले कमी आएको देखाएको छ । यसबाट के प्रमाणित भएको छ भने जो बिरामी उच्च रक्तचाप, मधुमेह वा ६० वर्ष नाघेका तथा हृदयाघात हुने जोखिम वर्गमा पर्छन्, तिनीहरूले रुघाविरुद्धको खोप लिन नितान्त जरुरी छ ।
यसरी बच्न सकिन्छ
  • हृदयाघातबाट बच्न शरीरको स्वास्थ्य अवस्था र रोगबारे सचेत हुनुपर्छ ।
  • जाडोमा दैनिक गर्ने व्यायामको तालिका, तह वा समयावधि घटाउनुहोस् ।
  • व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ, तर जुन व्यायाम शरीरले धान्ने अवस्था छैन, त्यो हानिकारक हुन्छ।
  • आफूले खानेकुरामा ध्यान दिनुपर्छ ।
  • चिसो मौसममा धेरै खाना रुच्ने हुँदा त्यसले वजन बढाउन सक्छ, त्यसतर्फ सचेत हुनुपर्छ ।
  • समय–समयमा जाँच गरी ब्लडप्रेसर नियन्त्रणमा राख्नुपर्छ ।
  • मासु–माछा बोसो नभएका, नुन कम, फलफूल, गेडागुडी, हरियो सागसब्जी, जौ, गहुँजस्ता खानेकुरा खानुपर्छ ।
    अहिले बिहे/पार्टीको समय हुँदा भोजभतेरको माहोल हुन्छ । चाहिनेभन्दा बढी चिल्लो, नुनिलो हुने हुँदा सावधानीअपनाउनुपर्छ । साथै, रक्सी, चुरोटबाट टाढै रहनुपर्छ ।
  • अनावश्यक तनाव लिनुहुँदैन ।

No comments:

Post a Comment