Wednesday, November 16, 2016

सुर्तीसेवनबाट दैनिक १६ हजार चार सयको मृत्यु

Posted by: Naya Patrika May 31, 2016

सन्दर्भ : धुम्रपानविरुद्धको दिवस
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्ने गरेका छन् । सुर्तीसेवन गर्नेमध्ये ८० प्रतिशत विकासोन्मुख देशका बासिन्दा रहेका छन् । संगठनका अनुसार धुम्रपानकै कारण प्रत्येक वर्ष विश्वमा ६० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । जसमध्ये ५० लाखभन्दा बढी मानिस प्रत्यक्ष आफैँ सुर्ती सेवनका कारण मृत्युवरण गर्छन् भने अन्य मानिस अप्रत्यक्ष रूपमा गरिएको (अरूले सेवन गरेको) धुम्रपानको असरबाट ज्यान गुमाउँछन् । नेपालमा ताजा तथ्यांक नभए तापनि १० वर्षअघि गरिएको एक सर्वेक्षणले ५६ दशमलव ५ प्रतिशत पुरुषले सुर्तीसेवन गर्ने गरेको पाइएको थियो । त्यस्तै, १९ दशमलव ५ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको पाइएको थियो । नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्तीसेवनका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सुर्तीसेवनको यो विकराल अवस्थालाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले यस वर्षको धुम्रपानविरुद्धको दिवसमा ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाऊ’ भन्ने नारा तय गरेको छ । नेपालमा हाल सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्नुपर्ने नियम छ । तर, सो नियम कार्यान्वयनमा आउन सकेको छैन ।
चार हजार प्रकारका रसायन
सुर्तीजन्य पदार्थमा चार हजार प्रकारका रासायन हुने गर्दछन् । सोमध्ये दुई सय ५० प्रकारका रसायन अत्यन्त हानिकारक हुन्छन् भने ५० भन्दा बढी प्रकारका रसायनले प्राणघातक क्यान्सर गराउन प्रत्यक्ष भूमिका खेल्ने गर्दछन् । नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सरका बिरामी रहेका छन् । फोक्सोको क्यान्सर गराउने प्रमुख कारण धुम्रपान नै हो । मानिसमा धुम्रपानले फोक्सोको क्यान्सर मात्र नभएर टाउकोदेखि खुट्टासम्म लाग्ने जुनसुकै क्यान्सर गराउन सक्ने वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् । ‘मानिसमा धुम्रपानले फोक्सोको क्यान्सर मात्र लाग्छ भन्ने छ, तर यसले टाउकोदेखि खुट्टासम्म क्यान्सर गराउन सक्छ,’ उनी भन्छन् । एक अध्ययनअनुसार ८७ प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानका कारण हुने गर्दछ । धुम्रपानले क्यान्सर गराउने मात्र नभएर अन्य विभिन्न रोग निम्त्याउने उनको भनाइ छ ।
त्यसैगरी, मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र हुने गरेको मुटुरोग विशेषज्ञ ओममुर्ति अनिल बताउँछन् । उनका अनुसार ३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँच गुणा बढी हुने गर्दछ । सुर्तीजन्य पदार्थ सेवनले गर्भवती महिलामा पनि प्रत्यक्ष असर पुर्‍याउँछ । यो अवस्थामा सुर्तीसेवनले समय नपुगी बच्चा जन्मने, गर्भपतन हुने, बच्चा सुस्त मनस्थितिको जन्मने सम्भावना बढी हुने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतम बताउँछन् ।
चुरोट छोड्दा हुने फाइदा
  • चुरोट सेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ ।
  • क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
  • केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको छ ।
  • केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
  • बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
  • रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
  • स्वाद र सुँघ्ने क्षमतामा सुधार भई खाना बढी रुचाउँछ ।
  • शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
  • चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्‍याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
सुर्तीजन्य पदार्थ सेवनका असर
  • हृदयघातको जोखिम
  • धुम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।
  • यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ ।
  • मुटुको रक्तनली साँघुरो बनाउँछ ।
  • सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
  • चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
  • चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।
  • यी सबै कारणले रक्तसञ्चारमा बाधा पुर्‍याई हृदयघात गराउँछ ।
  • क्यान्सरको जोखिम
  • चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
  • गर्भवती महिलामा जोखिम
  • गर्भवती महिलाले धुम्रपान गरेमा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।
  • बच्चा समय नै नपुगी जन्मन सक्छ ।
  • बच्चा जन्मदा नै सुस्त मनस्थिति हुने या विकलांग जन्मन सक्छ ।
  • सुर्तीसेवन गर्ने महिलामा बाँझोपनको समस्या हुन सक्छ ।
  • अन्य असर
  • सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।
  • दमको रोग लागी मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।
  • मस्तिष्कघातको सम्भावना बढाइदिन्छ ।
  • मिर्गौलालाई काम गर्न नसक्ने बनाइदिन्छ ।
  • मधुमेह हुने जोखिम उच्च रहन्छ ।
  • लामो समय धुम्रपान गरेका मानिसमा खान मन नलाग्ने तथा पाचन प्रक्रियामा गडबडी हुने हुन्छ ।
  • ग्यास्ट्राइटिस बढाइदिन्छ ।
  • युवा अवस्थामा नै कपाल झर्ने समस्या हुन्छ ।
  • उमेरभन्दा पाको अनुहार देखिन्छ ।
  • कान कम सुन्ने र आँखा कमजोर गराउन सक्छ ।

No comments:

Post a Comment