Wednesday, November 16, 2016

रातो च्याउमा अचुक औषधीय गुण rato chyau

Posted by: Naya Patrika May 8, 2016
नेपालका विभिन्न क्षेत्रका किसानले रातो च्याउको व्यावसायिक खेती गर्दै आएका छन् । अन्य च्याउभन्दा महँगो पर्ने रातो च्याउको उपयोगिता पनि अमूल्य छ । रातो च्याउलाई जडीबुटीहरूको राजा भनेर चिनिन्छ । गानोडर्मा नामले विश्वमा प्रख्यात रातो च्याउमा अचुक औषधिको गुण लुकेको वैज्ञानिकहरूले पनि पत्ता लगाइसकेका छन् । विश्वमा मानव शरीरलाई खतरनाक मानिएका रोगहरूमा विना साइड इफेक्ट रातो च्याउले औषधिको काम गर्ने वैज्ञानिकहरूले बताउदै आएका छन् । रातो च्याउको महत्वबारे होलिस्टिक अभियन्ता डा. डिबी सुनुवार थप भन्छन् :

डा. डिबी सुनुवार होलिस्टिक अभियन्ता

रातो च्याउबाट गरिने उपचार पद्धतिलाई गानो चिकित्सा भनिन्छ । यसको वैज्ञानिक नाम ‘गानोडर्मा लुसिडम’ हो । पाँच हजार वर्षदेखि मानव सभ्यतामा चमत्कारी जडीबुटीहरूको राजाको नामबाट गानोदर्मालाई चिनिन्छ । जापान तथा चीनजस्तो मुलुकमा सञ्जीवनी बुटी तथा अजम्बरी बुटीका रूपमा अझै रातो च्याउ प्रयोग हुन्छ । गानोको अर्थ चम्किलो तथा दर्माको अर्थ छाला अर्थात् चम्किलो छाला भएको रातो च्याउ जापानमा रेशी, चीनमा लिंझी, अंग्रेजीमा रेड मसरुमको नामबाट परिचित छ । नेपालमा पनि यस्ता जडीबुटीजन्य च्याउहरूको व्यावसायिक उत्पादन गरेर अनुसन्धान गर्नेहरू पछिल्लो समय निक्कै बढेका छन् ।
नेपालमा मुटुसम्बन्धी रोगले पीडित मात्रै ४० लाखको संख्यामा रहेको र अवस्था झन् विकराल हँुदै गएको विज्ञहरूको ठहर छ । करिब ३३ प्रतिशत मानिसमा मानसिक समस्या रहेको तथ्यांक पनि छ । यस्ता रोगी नेपालीहरूको भविष्यको प्रत्यक्ष सरोकार हामीले कल्पना गरिरहेको नयाँ नेपालको भविष्यसँग पनि जोडिएको छ ।
हाम्रो गलत जीवनशैलीका कारणले निम्त्याएका रोगहरूको निराकरण गर्न सरोकारवाला पक्ष सबै मिल्नु आवश्यक छ । अहिले नै हामी सचेत नहुने हो भने आउँदा दिनहरूमा पछुताउनुबाहेक केही बाँकी रहने छैन । हामीले सन्तुलित भोजनको कुरा मात्र गरेर पुग्दैन । स्वास्थ्यको दृष्टिले १० वर्षयता नेपालको स्थितिले भयावह रूप लिएको छ । जीवनशैलीजन्य मधुमेह, रक्तचाप, बाथजस्ता रोगहरू सामान्य टाउको वा पेट दुखाइजस्तो भइसकेको छ । पहिले ४० वर्षपछिका उमेरकाहरूलाई लाग्ने भनेर मानिएका रोगहरू अहिले १६–१७ वर्षकाहरूलाई देखापर्न थालेको छ ।
मुटु रोग झन् आमाको गर्भबाट बाहिर निस्कँदा नै देखापर्न थालेको पाइन्छ । गत वर्षको नेपालको स्वास्थ्यस्थितिअनुसार बजारमा बस्ने २० प्रतिशत नेपालीलाई मधुमेहको समस्या देखाएको छ । यस्तो समस्या समाधान गर्न जीवनशैलीमा सुधार ल्याउनु नै पर्छ । डा. लिम सियउ जिन भन्नुहुन्छ– हाम्रो शरीरमा अनावश्यक विकार वस्तु खाना, पानी, हावाको माध्यमबाट भित्रने गर्छन् । हामीले दैनिक सेवन गर्ने खाना पूर्ण रूपले प्राकृतिक वा सन्तुलित नभएको, हानिकारक रसायन र मिसावट भएको उहाँ बताउनुहुन्छ । यसमा मानिसले विशेष सजगता अपनाउनुपर्छ ।
जब–जब शरीरमा विजातीय वस्तुको बाहुल्यता हुँदै जान्छ, तब रोगले विकासको रूप लिन्छ । दोस्रो, हाम्रो शरीरको संरचनाको आधार भनेको कोष हो । कोष–कोषको समूह मिलेर तन्तु बन्छ, तन्तु–तन्तुको समूह मिलेर अंग बन्छ भने अंग–अंगको समूह मिलेर प्रणाली बन्छ । प्रणाली–प्रणालीको पूर्ण रूप नै सिंगो शरीर हो । अब हामी आफैँ सोचौँ कि कोष स्वस्थ रहे तन्तु पनि स्वस्थ रहन्छ । तन्तुको समूह स्वस्थ रहे शरीर स्वस्थ रहन्छ । कोष रोगी हुनु भनेको शरीर रोगी हुनु हो ।
विभिन्न अध्ययन र अनुसन्धानको आधारमा संसारमा ३८ हजार प्रजातिका च्याउहरू रहेको अनुमान छ । जसमध्ये दुई हजार प्रजातिका च्याउ खानयोग्य मानिन्छन् । दुई सय प्रजातिका च्याउहरूको औषधीय महत्त्व रहेको छ । ६ प्रकारका रातो च्याउ मानव स्वास्थ्यलाई सर्वोत्तम मानिन्छन् । ६ प्रकारका रातो च्याउलाई टेस्युकल्चरको माध्यमबाट बनाएको एक च्याउलाई गानोडर्मा भनिन्छ । गानोडर्माबाट मानव जातिले निरोगी, जवानी र लामो आयु दिलाउने पौस्टिक पदार्थ पाउँछन् । यसले शरीरमा कुनै साइड इफेक्ट नगरी शरीरमा भएका सम्पूर्ण समस्या र खराबीलाई दिसा, पिसाब, थुक, पसिना, सिँगानजस्ता माध्यमबाट बाहिर निकाल्छ । गानोडर्मामा दुई सय ५० भन्दा बढी प्रकारका प्राकृतिक औषधियुक्त तत्त्व र स्वस्थ रक्षा गर्ने पौस्टिक गुण रहेको तथ्य विकसित देशका हजारौँ वैज्ञानिक र डाक्टरले अनुसन्धानबाट पत्ता लगाइसकेका छन् । गानोडर्मामा पाइने तत्त्वले मानव शरीरको रगतमा प्रशस्त अक्सिजन र मेटाबेलिजम बढाउँछ, शरीरमा नराम्रो तन्तुलाई फैलन दिँदैन ।

प्राकृतिक रूपले मानिसहरूलाई रोग दुई कारणले लाग्ने हुन्छ । त्यसमा पहिलो कारण विजातीय वस्तु हो भने दोस्रो कारण प्रणालीको असन्तुलन हो । पहिलो कारणअनुसार हाम्रो शरीरमा अनावश्यक विभिन्न विकार वस्तुहरू प्रवेश हुने हुँदा शरीरका अंगप्रत्यंगहरूलाई असन्तुलन बनाउँछ । जसले गर्दा अस्वाभाविक प्रभावको रूपमा रोगको विकास हुन्छ । खाना, पानी, हावा र बानी यी चार माध्यमबाट शरीरमा विजातीय वस्तु भित्रने गर्छ । हामीले खाने खाना कति शुद्ध छ विचारणीय भएको छ ? यो विचार पुर्‍याउनु जरुरी छ ।

1 comment:

  1. यो च्याउ बनमा पाइन्छ कि नाइ?

    ReplyDelete