Friday, November 11, 2016

पहिलो बच्चा जन्मिएको कति समयपछि अर्को गर्भ रहन सक्छ ?

पहिलो बच्चा जन्मिएको कति समयपछि अर्को गर्भ रहन सक्छ ?

डा. ज्योति अग्रवाल
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
अघिल्लो बच्चा जन्मिएको १५ महिनापछि कतिपय घरमा अर्को बच्चाको आगमन भइसकेको हुन्छ । अधिकांश घरमा यो घटना आमाबाबुको रहरभन्दा पनि झुक्किएर निम्तिने गरेको पाइन्छ । यस्तो अवस्थामा दुईवटा लालाबाला दुईतिर काखमा बोकेर हिँड्न र हुर्काउन सकसपूर्ण हुने गरेको पाइन्छ । अघिल्लो बच्चा जन्मिएपछिको समय केही भ्रमपूर्ण हुने भएकाले पनि धेरै जोडी अनिच्छामै बच्चा जन्माउन बाध्य भएको पाइन्छ।
४५ दिनपछि सम्भावना
बच्चा जन्मेको ४५ दिनभित्र अर्को गर्भ बस्ने सम्भावना हँुदैन । यो समयमा शारीरिक र स्वास्थ्यका हिसाबले बच्चाकी आमा सक्षम भइसकेकी छन् भने गर्भनिरोधक साधनविना नै यौनसम्बन्ध राख्दा पनि गर्भ रहँदैन । तर, ४५ दिनपछि भने जुनकुनै वेला गर्भ रहने खतरा रहन्छ ।
महिनावारीले भ्रम
अधिकांश जोडी यो अवधिमा महिनावारीमा हुने गडबडीका कारण यौनबारे भ्रममा पर्ने गरेका छन् । कतिपय आमालाई बच्चा जन्मिएको ४५ दिनमा महिनावारी भइदिन्छ । तर, कसैको भने दुई वर्षसम्म पनि नहुन सक्छ । कसैको ४५ दिनमा भएर पनि लामो समय फेरि नहुन सक्छ । बच्चालाई राम्रोसँग दूध नचुसाउने आमाको छिटो महिनावारी हुन्छ भने प्रशस्त दूध चुसाउने महिलाको महिनावारी ढिलो हुन सक्छ । यो अवस्थामा महिनावारीको कुनै ठेगान नै हुँदैन । यो कुनै समस्याले हुने पनि होइन । धेरैले ठान्छन्– महिनावारी नभएको यो अवस्थामा गर्भ रहने खतरा हुँदैन । तर, अनुमान गलत हुन सक्छ ।
गर्भबारे भ्रम
अघिल्लो बच्चा जन्माएपछिको छोटो अवधिमै गर्भ रहनेबारे बुझ्न पनि समस्या हुन्छ । गर्भ रहँदा सुरुवाती समयमा महिलाले देखाउने संकेत यस्तो अवस्थामा कमै आउन सक्छन् ।
त्यसो त वाक्वाकी लाग्ने, कमजोरी महसुस हुनेजस्ता लक्षण सबै महिलामा देखिन्छ नै भन्ने पनि हुँदैन । लक्षण केही नदेखिएपछि गर्भ रहेको भन्ने आँकलन गर्नै सक्दैनन् र ढुक्क हुन्छन् । त्यसैले गर्भ बसेपछि लक्षण देखिइहाल्छ नि भनेर भर पर्न मिल्दैन ।
गर्भनिरोधक साधन
बच्चा जन्मिएको ४५ दिनपछि चिकित्सकसँग परामर्श गरेर जोडीले इच्छाअनुसार गर्भनिरोधक साधन प्रयोग गर्नु नै असुरक्षित गर्भधारण रोक्ने उत्तम उपाय हो ।

No comments:

Post a Comment