Wednesday, November 16, 2016

पूर्ण निको हुन्छ छारेरोग chhare rog

Posted by: Naya Patrika  May 12, 2016

डा. सुनील कोइराला स्नायुरोग विशेषज्ञ, वीर अस्पताल

नेपाली समाजमा छारेरोग लागेका बिरामीलाई फरक दृष्टिकोणबाट हेर्ने चलन छ । तर, कुनै पनि प्रकारको बिरामीलाई भेदभाव तथा फरक दृष्टिकोणले हेर्न हुँदैन । अर्को, हामीले बुझ्नुपर्छ कि छारेरोग उपचारपछि पूर्ण रूपमा निको हुन्छ । तर, उपचार अवधि भने केही लामो हुन्छ । छारेरोग एउटै मात्र कारणले हुन्छ भन्ने हुँदैन । यसका कारणका आधारमा उपचार गरी पूर्ण रूपमा निको पार्न सकिन्छ । यो सरुवारोग पनि होइन । बिरामीसँग बस्दैमा, अँगालो मार्दैमा, सँगै सुत्दैमा यो रोग सर्दैन । स्नायुसम्बन्धी यो रोग एक प्रकारको बेहोस हुने समस्या हो । हामीले के पनि बुझ्नु आवश्यक छ भने बेहोस हुने सबै रोग छारेरोग होइन । जब मानिसको मस्तिष्कमा भएका न्युरो ट्रान्समिटर असन्तुलित हुन्छन् तब मानिसमा छारेरोग देखिन थाल्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठ्यारो छ भने पनि छारेरोग देखिन सक्छ ।
बालबालिका
विद्यालय उमेरका बालबालिकामा पनि छारेरोग भएको पाइन्छ । त्यस्ता बालबालिकामा बाहिरबाट हेर्दा केही देखिँदैन । उनीहरूमा विद्यालयमा शिक्षकले पढाएका वेला सुनिरहेको जस्तो देखिने, तर केही समय के गर्दै छु भन्ने थाहा नपाउने हुन्छ । त्यस्तै, हिँडिरहेको अवस्थामा पनि केही समय कहाँ हिँडिरहेको, कोसँग हिँडिरहेको थाहा नपाउने हुन्छ । नगन्य संख्यामा वंशाणुगत कारण यस्तो देखिन्छ । धेरै बालबालिकामा देखिने यस्तो समस्या के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुँदैन । यस्ता समस्या भएका बालबालिकामा पढाइमा कमजोर हुँदै जाने, एकोहोरो हुनेजस्ता लक्षण देखिने गर्दछ । यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्दछ ।
युवा
युवाहरूमा छोरेरोग विभिन्न कारणले हुनसक्छ । धेरै रक्सी सेवन गर्ने, लागुऔषधको प्रयोग गर्नेहरूमा पनि यो रोग भएको पाइन्छ । युवाहरूमा बढीमा फित्ते जुकाका कारण पनि छारेरोग हुने गरेको पाइन्छ । फित्ते जुकाको फुल पानी या खानाका माध्यमले शरीरमा प्रवेश गरी मस्तिष्कमा समस्या उत्पन्न गराएर छारेरोग लाग्न सक्छ । विभिन्न अध्ययनअनुसार युवामा देखिने छारेरोगमध्ये ७२ प्रतिशत कारण न्युरो सिस्टिसर्कोसिसको कारणले हुन्छ । जसको कारण फित्ते जुकाको फुल मस्तिष्कमा पुगी असर गर्नु हो ।
उपचार विधि
छारेरोग निश्चित यही कारणले हुने भन्ने नभएको हुँदा पहिले कारण पत्ता लगाएर उपचार गरिन्छ । तर, जुनसुकै कारण भए पनि अधिकांंश रोग पूर्ण रूपमा निको हुन्छ । यसको औषधि सेवन भने लामो समयसम्म गर्नुपर्ने हुन्छ । एकपटक पूर्ण रूपमा निको भइसकेपछि पुन: दोहोरिने सम्भावना कमैमा मात्र हुन्छ ।
लागुऔषध र रक्सी सेवन गर्नेहरूमा उपचारपछि पुन: सेवन गरेमा दोहोरिने गरेको पाइएको छ । कुनैकुनै अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने अवस्था हुन्छ । छारेरोगको अवस्था हेरी एकदेखि पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । छारेरोगको लक्षण देखिएमा चिकित्सकको सल्लाहअनुसार उपचार गरे निको हुन्छ ।
छारे रोग र उमेर
छारेरोग धेरै प्रकारका हुन्छन् । उमेरअनुसार कारण पनि फरक हुन्छ । बिरामीले बेहोसी अवस्थामा जिब्रो टोक्ने, आँखा पल्टाउने गर्छ भने त्यो कडा खालको छारेरोग हो । बालबालिकामा हुने छारेरोगको कतिपय अवस्थामा कारण नै थाहा पाउन सकिँदैन । युवा अवस्थामा हुने छारेरोग प्राय: फित्ते जुकाको कारण हुने गरेको देखिएको छ । प्रौढ या वृद्धावस्थामा मस्तिष्कमा हुने ट्युमर, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस भयो भने पनि छारेरोग देखिन्छ । तर, यही उमेरमा यही कारणले भन्ने हुँदैन ।
लक्षण
छारेरोग मस्तिष्कमा असर पर्दा लाग्ने हुँदा अचानक आँखा तिर्मिराउने हुन्छ ।
एक्कासि बेहोस भएर ढल्न पुग्छ ।
उत्तानो परिसकेपछि हातखुट्टा छटपटाउने हुन्छ ।
मुखबाट र्‍याल आउने हुन्छ ।
केही समयसम्म रोगी बेहोस हुन्छ ।
बेहोस हुँदा यी कुरामा विचार पुर्‍याऔँ
बिरामीलाई सजिलो ठाउँमा कोल्टे पारी सुताउने ।
मुख बाँधेको अवस्थामा जबर्जस्ती खोल्न कोसिस नगर्ने ।
बल प्रयोग गरेर कम्पन रोक्न प्रयास नगर्ने ।
मुखमा पानी वा खानेकुरा नराखिदिने, यस्ता कुरा मुखमा राखिदिँदा सास फेर्ने नलीतिर गएर बिरामीको श्वासप्रश्वास रोकिन सक्छ ।
काम्न छोडेपछि कोल्टे पारेर सुताउने ।
हाम्रो गाउँघरमा यस्ता बिरामीलाई जुत्ता सँुघाउने वा साँचो हातमा राखिदिने चलन छ, त्यो गर्न हुँदैन ।
जतिसक्दो चाँडो नजिकै अस्पताल या स्वास्थ्य केन्द्र छ भने पुर्‍याउनुपर्छ ।
प्रौढ तथा वृद्धावस्था
केही मानिसलाई प्रौढ या वृद्धावस्थामा पनि छारेरोग देखिन्छ । सो समयमा देखिने छारेरोग दिमागमा रगत बहँदा, ट्युमर हुँदा पनि देखिन्छ । युवामा देखिने छारेरोगभन्दा वृद्धावस्थामा देखिने समस्या जटिल हुन्छ ।
प्रस्तुति : भिषा काफ्ले

2 comments:

  1. Sir I want to know from u is that,fist of severe headache,then twisting hand ,leg,closing palam,bbreathing blocking,shouting in Nepali they it is evil spirit.and from doctor how can we treat this.

    ReplyDelete
  2. Dear sir, same problem is also seen in my brother,at 14 years old this type problem (chhare rog) have been seen still it happen but can't be cured. My brother age is now 26 years old. How we can cure this type of problem.

    ReplyDelete