Monday, January 9, 2017

मालिस चिकित्साको उपयोगी गुण


आमाले बच्चालाई रोएको वेला थुम्थुम्याएर सुताउँछिन् । यस्तो माया प्राणीहरूमा पनि देख्न सकिन्छ । जीव र जीवनलाई स्वस्थ रहनका लागि शारीरिक हेरचाहको आवश्यकता पर्छ । शरीरलाई स्वस्थ राख्ने विभिन्न उपायमध्ये मालिस चिकित्सा पनि एक हो । इस्वी संवत्को ४६० वर्ष पहिले हिपोक्रेटिजले पनि आफ्नो चिकित्सा विद्यामा मालिसका केही विधिलाई जोडेको तथ्य प्राचीन ग्रन्थहरूमा समेत उल्लेख छ ।
वैज्ञानिक तथा लेखक प्यारासेल्सले आफ्नो पुस्तक ‘दि मेडिसन एजम्सन् १५९१’ मा मालिसका अनेक विधिबारे उल्लेख गरेका छन् । म्युनिख विश्वविद्यालयका प्लास्टिक सर्जन डा. केलरले मालिस र सर्जरी उस्तै हुन् भनेका छन् । ‘जसरी सर्जरीले शरीरको भित्री भागको विकार फाल्छ, त्यसरी नै मालिसले पनि शरीरको विकार रगतद्वारा फाल्नुका साथै शरीरलाई बलियो बनाएर बाहिर निकाल्छ,’ उनले भनेका छन् ।
मालिस चिकित्सा पद्धतिबाट शरीरलाई स्वस्थ राख्नुका साथै शारीरिक क्षमता पनि बढाउन सकिन्छ । शरीरको रोग निवारण गर्ने रोगप्रतिकारी शक्तिलाई बढाउनका लागि मालिस चिकित्सा अति नै उपयोगी मानिन्छ । मालिस आफूले आफैँलाई वा एकले अर्कालाई गरी दुई प्रकारले गरिने चलन छ । एकले अर्कोलाई गरिने मालिस बढी प्रचलनमा छ ।
मालिसका चिकित्सकीय विधिहरूमा तालसहित मोल्नु, थुम्थुम्याउनु, दुई औँलाले रगड्नु, दुई हातले चुरा आकारमा बटार्नु, कुइना वा हत्केलाले दबाउनु, हलुका हातले मांसपेशीलाई हल्लाउनुजस्ता विभिन्न विधिहरू प्रयोग गरिन्छ ।
त्यस्तै, अंगलाई चलायमान बनाउन ठाडो थपडी हान्नु, औँलाले ठोक्नु, ताली बजाएको जस्तो आवाज निकालेर थप्थपाउनु, अञ्जुलीले हान्नु तथा कम्पन दिनुजस्ता विभिन्न प्रकारका हातको कला उपयोग गरी रोगमुक्तिको उपाय अपनाइन्छ ।
मालिसका विभिन्न विधि : 
चिसो मालिस, तातो मालिस, चिसो–तातो मालिस, सुक्खा मालिस, पाउडर मालिस, तेल मालिस, माटो मालिस तथा बिजुली मालिस आदिको उपयोग गरी रोगको अवस्था र प्रकृति हेरेर उपचार गरिन्छ । मालिसबाट अनिद्रा, दम, पागलपन, उच्च रक्तचाप, मधुमेह, पक्षघात, साइटिका, बाथ, मोटोपन, पातलोपन, छालाको रोग, नसा रोग र मानसिक रोगजस्ता शारीरिक तथा मानसिक दुवै प्रकारका समस्यामा लाभकारी हुन्छ ।
हुन त हिजोआज मालिसको नाउँमा यौनजन्य गतिविधि भएको सुन्न पाइन्छ । तर, पनि वैज्ञानिक चिकित्साअन्तर्गत हुने मालिसले नितान्त उपचारात्मक प्रक्रियाबाट विज्ञको निगरानीमा विधिवत् उपचार गराउँछ । यसअन्तर्गत मालिस गर्ने थेरापिस्ट र उपचार लिनेले ईश्वरको संकल्प गरेर उपचार गर्नुपर्छ भनिएको छ । यो सूत्र मालिस चिकित्सामा संलग्न विज्ञ थेरापिस्टले आत्मसात् गरेकै हुुनुपर्छ ।
प्राकृतिक मालिस 
प्राकृतिक रूपमा बोटबिरूवाले हावाको सहाराले झुल्दै लच्कँदै एकअर्कालाई स्पर्श गर्दै परागसेचन हुने विधि हो । चराचुरुंगी चुच्चा र प्वाँखले स्पर्श गरेर इत्रिने तरिका, पशुहरूले जिब्रोले चाट्ने कला, सुँघ्ने र स्पर्श गर्ने सबै तौरतरिका मालिसका प्राकृतिक रूपहरू हुन् । जसरी शरीर रक्षाका लागि खानाको आवश्यकता हुन्छ, त्यसरी नै लामो समयसम्म स्वस्थ रहनका लागि मालिसको आवश्यकता हुन्छ । मालिस जहाँ–त्यहाँ, जहिले–तैले र जोसुकैले जथाभावी लिनु तथा दिनु हुँदैन । यसको फाइदा हुँदाहुँदै पनि बेफाइदाहरू पनि छन् । त्यसैले मालिस चिकित्साको लाभ लिनका लागि उपचार सही ठाउँमा सही समयमा तालिमप्राप्त विज्ञबाट गर्नुपर्छ । शारीरिक अथवा मानसिक समस्याको सम्बन्धमा जानकारी गराएर विधिवत् रूपले लिँदा सबैलाई फाइदा पुग्छ ।

डा. डीबी सुनुवार
होलिस्टिक हेल्थ अभियन्ता
Posted by: nayapatrika February 11, 2016


No comments:

Post a Comment