Wednesday, January 11, 2017

आफूखुसी योग स्वास्थ्यलाई घातक yoga

Posted by: nayapatrika January 16, 2016

प्रवीण देवकोटा –

ऋषिमुनिले हिमालयको काखमा अध्ययन, अनुसन्धान गरेर योग प्रतिपादन गरेको विश्वास गरिन्छ । तर, एक कालखण्डमा नेपालमै योग लुप्न हुन पुग्यो । आधुनिक नेपालमा योगको ‘ट्रेन्ड’ धेरै पुरानो छैन । योगगुरु डा. योगी विकासानन्द ३५ वर्षअगाडि फर्किएर सम्झिन्छन्, ‘त्यतिखेर मलाई योग गर्ने चाहना भएपछि बुझ्दै जाँदा काठमाडौंको गौशालामा आरोग्य आश्रममा मात्रै भेटेँ । आरोग्य आश्रममा डा. काशीराज उपाध्यायले चलाउने योग त्यतिखेर काठमाडौंमै एक मात्र थियो ।’
केही अन्तरालपछि काठमाडौंमा बिस्तारै योग सेन्टर खुल्दै गए । अहिले त धेरै भइसकेका छन् । अरुण स्वामीबाट सञ्चालित ओसो तपोवन, डा. विकासानन्दको मनोक्रान्ति, भारतीय बाबा रामदेवको पतञ्जलि योग नेपालमा योग सिकाउने कार्यमा बढी सक्रिय देखिन्छन् । विकासानन्दले ०४३ सालमा आनन्द योग केन्द्र सुरु गर्दासम्म पनि अहिलेजस्तो व्यापक थिएन । अहिले त सामान्य नेपालीमा पनि योग ट्रेन्ड स्थापित भइरहेको छ ।
के हो योग ?
अधिकांश शारीरिक रोग र सम्पूर्ण मानसिक समस्या एवं दु:खबाट मुक्ति दिलाउने दर्शन एवं विस्तृत प्रक्रिया योग हो । योगी विकासानन्दको बुझाइमा विज्ञान र राजनीतिले मान्छेलाई सुविधा मात्र दिन्छ भने योगले सुखी बनाइदिन्छ । यसकारण, विज्ञान र राजनीतिसँगै मानव जीवनको पाटोमा योगलाई जोड्नुपर्ने उनको जोड छ । विज्ञान र राजनीतिले भौतिक सुविधा दिएपछि भित्री शान्ति र आनन्दका लागि योगको विकल्प नभएको तर्क योगगुरु गर्छन् ।
सामान्य मान्छेले योगलाई शारीरिक व्यायामका रूपमा बुझ्ने गरेका छन् । धेरै नेपालीमा पनि यही नै बुझाइ स्थापित छ । तर, योगबारे यति मात्रै ज्ञान काफी होइन । शारीरिक स्वास्थ्यका लागि त योगलाई यतिमै सीमित राख्दा फरक पर्दैन, तर मानसिक रूपमा पूर्ण शान्ति र सुख प्राप्त गर्न योगमा प्राणायाम र ध्यानको स्टेप पार गर्दै कुण्डलिनी योगको कोर्स पूरा गर्नुपर्छ । ‘योगासन केवल शारीरिक व्यायाम हो, श्वासप्रश्वासको व्यायामका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गर्नुपर्छ । यी आसन पार गर्दै कुण्डलिनी योग पूरा गरेपछि मात्रै मान्छेले पूर्ण शान्ति प्राप्त गर्छ,’ योगी विकासानन्द भन्छन्, ‘कुण्डलिनी योगले ‘लकअप’ भएको मान्छेभित्रको ऊर्जालाई पूरै खोलिदिन्छ, यो योग प्रतिभाको क्रान्ति पनि हो ।’
सामान्य १८ आसन
भगवान् शंकरले योगका ८४ लाख आसनको कुरा गरे पनि मान्छेले गर्न सकिनेचाहिँ ८४ आसन छन् । सामान्य मान्छे शारीरिक रूपले स्वस्थ रहनका लागि गरिने योगासन भने १८ वटा छन् । उठेर गरिने ६ वटा, बसेर गरिने ६ वटा र पल्टेर गरिने ६ वटा छन् । नियमित योग गर्ने मान्छेले यी १८ वटा आसन पूरा गर्नैपर्छ । एउटा आसनका लागि १५ सेकेन्डदेखि ३ मिनेटसम्म मात्रै समय लाग्छ ।
घातक हुन सक्छ 
बिमार र रोगअनुसार मान्छेले गर्न हुने र नहुने फरक–फरक योगासन हुन्छन् । सुन्दर फैलावटसँगै नेपालमा योगलाई कतिपयले फेसनका रूपमा पनि लिने गरेको देखिन्छ । कसैले योग गरेको देखेकै आधारमा हचुवामा योगा सुरु गर्ने धेरै छन् । स्वस्थ भइने नाममा विनाज्ञान योग गर्दा स्वास्थ्य झनै बर्बाद हुने योगगुरुहरू सुझाब दिन्छन् । दक्ष योग गुरुसँग राम्रो सिकेर मात्रै नियमित योग गर्दा स्वस्थ जीवन जिउन सकिन्छ । सिक्न चाहनेका लागि सम्बन्धित संस्थाले योगको तालिम पनि दिइरहेका हुन्छन् । ‘टेलिभिजनमा सिकाएको या अरू कसैले गरेको देखेका भरमा योग थाल्दा घातक परिणाम आएका धेरै उदाहरण छन्,’ विकासानन्द भन्छन्, ‘श्वास कति वेला फाल्ने–लिने थाहा नभएर उल्टो प्रक्रियामा गइयो भने खतरनाक हुन्छ।’
एलोपेथिक चिकित्सकको नजरमा योग 
सुभाष घिमिरे 
ओरल म्याग्जिलोफेसियल सर्जन
आयुर्वेदिक या एलोपेथिक उपचारको पूर्णत: वैकल्पिक पद्धतिका रूपमा योगलाई लिनेको एउटा जमात पनि छ । तर, योगलाई राम्रोसँग बुझेकाहरू यो तर्कको आलोचना गर्छन् । नेपालका धेरै एलोपेथिक डाक्टर नियमित योग गर्छन् । ओरल म्याग्जिलोफेसियल सर्जन डा. सुभाष घिमिरे पनि नियमित योग गर्ने एलोपेथिक चिकित्सक हुन् । ‘म एलोपेथिक डाक्टर भए पनि नियमित योगा गर्छु,’ उनी भन्छन्, ‘योगले शरीर, मन र मस्तिष्कलाई समायोजन गर्छ ।’ स्वास्थ्यका लागि पहिलो प्रयास योग र त्यसपछि मात्रै एलोपेथिक उपचारमा जानुपर्ने उनको सुझाब छ । ‘योगले ‘स्ट्ेरस म्यानेजमेन्ट’ गर्छ, ५० प्रतिशत रोग योगले नै ठीक पार्छ,’ डा. घिमिरे भन्छन्, ‘एलोपेथिक उपचारमा जान नपरोस् भनेर नै योग अभ्यास गरिन्छ।’
योग गरे…
डा. योगी विकासानन्द, योगगुरू
योग गर्दा शरीरमा ऊर्जा बढ्छ, मनमा ताजकी आउाछ । शारीरिक ऊर्जा भए आाट आउछ । यौन दुर्बलताका कारण वैवाहिक जीवनमा आउने समस्यालाई योगले समाधान गर्छ । योग गरे शरीर आकर्षक बन्छ, न मोटो, न पातलो । छालाको रङमा चमक आउाछ, ब्युटिपार्लर धाउनुपर्दैन । स्मरणशक्ति बढाउछ ।

No comments:

Post a Comment